दमक/उमेरले २१ वर्ष पुगेका मुनेश प्रसाद गन्गाईले ६ मै पढाई नै छाडे । पढ्न मन नभएर हैन उनको उमेरका अन्य साथीभाइ कमाउन भन्दै लाहुर गएको देखे । दुई चार पैसा कमाएको पनि पाए । अनि यस अघि नै मलायामा लाहुर गरिरहेका दाजुलाई फोन गरे र उनी पनि लागे मलाया पल्टन तिर ।
तीन वर्ष मलाया लाहुरबाट आएका मुनेश घरको आर्थिक अवस्था कमजोर भएकै कारणले पढाई छोडेर परदेश भासिना परेको बताए । मलायाबाट कमाएर ल्याएको पैसाले उनले केहि जग्गा जोडेका छन् । मुनेश जस्तै राजकुमार सिहंले पनि ६ कक्षा पढेर पढाई छोडे ।
१८ वर्ष पुगेका उनी दुई वर्ष अघि घरमा बाबु बिरामी भएपछि पढाई छोडेर घरको काम गर्न थालेको बताउछन् । उमेर १९ पेगेका सिहं पनि अब राहदानी बनाएर मलायाको लाहुरे बन्ने योजनामा छन् ।
झापाको दक्षिणी सिमावर्ती क्षेत्रका नागरिकहरुको आर्थिक तथा शैक्षिक अवस्था कमजोर छ । उमेरले १५ नाघेपछि कमाउन भन्दै भारतका विभिन्न शहर जाने गरेका छन् । १८ वर्ष नाघेपछि राहदानी बनाएर खाडीका बिभिन्न मुलुक उनीहरुको गन्तब्य बन्ने गरेको छ ।

यहाँका किशोर किशोरीको यो अवस्था रहर हैन बाध्यता हो । नेपाल र भारत, दुई देश बीचको सीमामा बस्ने नागरिकको आर्थिक अवस्था कमजोर छ । आर्थिक अवस्था कमजोर भएकै कारण यस क्षेत्रका किशोर किशोरीहरुले बीचैमा पढाई छोड्न बाध्य छन् ।
विशेष गरि आदिवासी जनजातीको मुख्य बसोबास रहेको यो क्षेत्रमा कम उमेरमै विवाह गर्नु र आर्थीक अवस्था कमजोर हुनुले बिचैमा पढाई छोड्ने गरेको स्थानीय जनता बाल बिकास आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद भण्डारीको भनाई छ ।
यो क्षेत्रमा तराई आदिवासी राजवंशी, ताजपुरिया, गनगाई लगायतको समुदायको बसोबास रहेको छ । गौरिगन्ज गाउँपालिका वडा नं ५ फत्तेपुरमा स्थित यो सीमा नाकामा गन्गाई , राजबंशी र ताजपुरीयाको बसोबास रहेको छ ।
स्थानीय खेतबारीमा ज्याला मजदुरी गरेर उनीहरुले जीवन यापन गर्नु परेकोले पनि पढाईमा उचित ध्यान दिन नसकेको बताउने गरेका छन् । सानै उमेरमा परिवारमाथि थिचेको गरिबीले गर्दा अध्यान गर्न नसकेको उनीहरुको अनुभव छ ।
फत्तेपुरको एउटै गाउका ८० प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेका छन् । विद्यालय जाने कलिलो उमेरमा नै भारतका विभिन्न स्थानमा रोजगारका लागि जाने गरेका छन् । भने केही खाडी मुलुक जाने गरेका छन् ।
विद्यालय पनि नजिकै छ तर घरमा आमा, बुबा, दाजु, दिदी कोही पनि अध्यानलाई पुरा गरेका देख्न पाउदैनन् । त्यसकारण पनि सानै उमेरदेखि विद्यालय छोड्ने मनोवल बिकास भएको छ । सानो समयदेखि अध्यान छोडेर भारतमा रोजगारका लागि जाने गरेका छन् ।