दमक/ सामान्यतया विद्यालय वा कलेजमा अध्ययन गर्ने विद्यार्थीको काम कक्षामा बसेर शिक्षकले पढाएको सुन्ने, किताब पढ्ने, कक्षाकार्य गर्ने रूपमा मात्र लिइन्छ । तर झापाको एक विद्यालयमा विद्यार्थीहरूले फरक ढङ्गले अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा उनीहरूको हातमा किताब–कापीमात्र होइन फरुवा, कुटो, कोदालो पनि हुन्छ । विद्यालयको सुकिलो पोशाकमा रहेका विद्यार्थी कोही इञ्चीटेपले माटोको ड्याङ नाप्दै गरेका छन् भने कोही हातमा बिउ लिएर रोपिरहेका छन् । उनीहरू खेतमा नै गएर अध्ययन गर्ने गर्दछन् ।
झापाको कमल गाउँपालिका वडा–७ मा रहेको सरस्वती माध्यमिक विद्यालय रङ्गपुरमा सञ्चालन भएको टेक्निकल एजुकेशन इन् कम्युनिटी विद्यालयका विद्यार्थीले खेतमा नै अध्ययन गर्दै आएका छन् । विद्यालयमा २८ जिल्लाका १ सय ७२ जना विद्यार्थीहरू खेतबारीमा नै अध्ययन गरिरहेका छन् ।
त्यतिमात्र होइन विद्यालयमा अर्को फरक त के छ भने विद्यार्थीले अध्ययनमात्र गर्दैनन् । आफ्नै लगानीमा आय–आर्जनसमेत गर्दै आएका छन् । अध्ययनसँगै आर्जनका कार्यक्रमअन्र्तगत विद्यार्थीहरूको समूह गठन गरेर व्यवसायिक खेतीसमेत गरिरहेका छन् ।
विद्यालयमा बाली–विज्ञानअन्तर्गत कृषि जेटिए र डिप्लोमा इन् एग्रिकल्चर तीन वर्षे कोर्ष अध्ययन भइरहेको छ । १८ महिने जेटिए भेटेरेनरी अध्ययन भइरहेको छ । आर्थिक रूपमा विपन्न विद्यार्थीले खर्च अभावमा बीचैमा कक्षा छाड्ने सम्भावनालाई मध्यनजर गर्दै अध्ययनसँगै आर्जन कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल द’र्गा सेढाइ बताउँछन् ।
विद्यार्थीले अध्ययनसँगै आम्दानी समेत गर्ने लक्ष्यले विद्यालयको जग्गामा नै तरकारी खेती, च्याउ, माछा पालन, बङ्गुरपालन गर्दै आएका छन् । विद्यार्थीले गठन गरेको ६ भाइ च्याउ उद्योगका अध्यक्ष राजेश वस्तीले ३५ हजार लगानी गरेर विद्यालयमा नै च्याउ उद्योग सञ्चालन गरेको बताए ।
उद्योगलाई १५ हजार रुपैयाँ बिउ पुँजी लगानी गरिएको छ । अन्य विद्यार्थीले आफ्नो खाजा खर्चबाट बचाएर लगानी गरेका छन् । आफ्नो लगानी उठाएर अध्ययन खर्च जोहो गर्ने उद्देश्यले खेती गरिएको विद्यार्थीले बताएका छन् ।
यस्तै विद्यालयमा ७ वटा समूह गठन गरिएको छ । यसमा आवश्यकताअनुसार विद्यालयले बिउ पुँजी लगानी गरिदिने भएको छ । विद्यार्थीले बिउ पुँजी फिर्ता गर्नु पर्ने छ । नाफाले विद्यार्थीको खर्च सञ्चालन गर्ने छन् ।
विद्यार्थीको वित्तीय अवस्थालाई मजबुद बनाएर अध्ययन सहज बनाउन विद्यालयले नयाँ कार्यक्रम ल्याएपछि विद्यार्थीलाई सहज भएको अध्ययनरत छात्रा सुनसरीकी पिन्टु मेहता बताउँछिन् ।
विद्यार्थीहरूले कक्षामा कसरी उन्नत खेतीको विषयमा सैद्धान्तिक अध्ययनलाई प्रयोगात्मक विधिबाट खेतबारीमा नै गएर सिक्ने गरेका छन् । विद्यार्थीले अध्ययनसँगै आम्दानी गर्ने अवसर पाएका छन् । विद्यालयमा ६० देखि ७० प्रतिशतसम्म प्रयोगात्मक अध्ययन हुने गरेको छ ।
कक्षाकोठामा पुस्तकमा पढेको कुरा बाहिर बारीमा गएर अध्ययन गर्दा बुझ्न सहज हुने विद्यार्थीहरूको अनुभव छ । खेतीमा चाहिने आवश्यक प्राङ्गारिक मल समेत आफैं उत्पादन गरिरहेका छन् । विद्यालययले २०६७ सालदेखि प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान, डिप्लोमा इन एग्रिकल्चर, भेटेरेनरी जेटीएलगायतका प्राविधिक शिक्षा दिँदै आएको छ ।