ताप्लेजुङ/ ताप्लेजुङ फक्तालुङ गाउँपालिका–६ लेलेपको सरस्वती च्यारिबुक माविकी छात्रा किपा शेर्पा साँघुरो छात्राबासमा बसेर पढ्न बाध्य छिन् ।  घरदेखि स्कुल आइपुग्न झण्डै तीन घण्टा लाग्छ ।

हिउँ पर्ने कारण हिड्न सहज हुँदैन । त्यही कारण किपाजस्ता छात्राहरूका लागि सरकारले बनाइदिएको छात्राबासमा विभिन्न अभावकाबीच पनि बस्न बाध्य भएका हुन् । स्कुल नजादा पढाइ छुट्ने, छात्राबासमा बस्दा अभावका बीच बस्नुपर्ने बाध्यता किपाजस्ता विद्यार्थीहरूलाई छ ।

सरकारले उच्च हिमाल क्षेत्रका विद्यार्थीहरू अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर छात्रवृति र छात्राबासको व्यवस्था गरिदिएको छ । तर, छात्राबासमा पर्याप्त कोठा अभाव हुँदा एउटै कोठामा क्षमताभन्दा बढी विद्यार्थीहरू बस्न बाध्य छन् ।

विद्यार्थी धेरै भएका कारण छात्रावासमा क्षमताभन्दा बढी विद्यार्थी भएको विद्यालय प्रशासन बताउँछ । विद्यार्थीको सङ्ख्या बढी भएपछि अध्ययन, खानाको व्यवस्था र दैनिकी चलाउन असहज बनेको छ ।

२० जना क्षमताको छात्राबासमा अहिले ३५ जना विद्यार्थीहरू पुगेका छन् । २० जनाको क्षमता रहेको छात्रावास भवनमा बस्न ९५ जनाको आवेदन परेको छ । यहाँ अध्ययन गर्ने ३५ जना छात्राहरूलाई सरकारले हिमाली छात्रावासको सुविधा दिएको छ ।

उनीहरूले मासिक चार हजार नगद पाउँछन् । विद्यार्थी सङ्ख्या बढी हुँदा छात्राहरूलाई बस्न समस्या भएको छ । अहिले एउटा साँघुरो कोठामा ५ देखि ७ जनासम्म बस्नुपर्ने बाध्यता रहेको कक्षा १० मा अध्ययरत किपा बताउँछिन् ।  उनका अनुसार भाडावर्तन सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ ।

पकाउने भाडावर्तन कम भएका कारण पालो गरेर पकाउने र खानुपर्ने समस्या भएको अर्का विद्यार्थी पेम्वा दिकी शेर्पाले बताइन् । जसले गर्दा पढाइ पनि छुट्ने समस्या रहेको छ । ‘घरबाट हिँडेर आउन सकिँदैन । साँघुरोमा बस्नु परेको छ’ दिकीले भनिन् ‘घरबाट आउने हो भने ३ घण्टा लाग्छ । बरु साँघुरै भए पनि बस्छौँ ।’ विद्यालयसँग अन्य भवन छैन ।

गाउँमा पनि विद्यार्थीहरूलाई एकै स्थानमा राख्न सक्ने गरिको भौतिक संरचनाको अभाव रहेको विद्यालय प्रशासन बताउँछ । अभिभावकले छात्रावास पाउने आसमा ल्याएकाले विद्यार्थी व्यवस्थापनमा विद्यालयलाई चुनौती थपिएको प्रधानाध्यापक राम तामाङ बताउँछन् । ‘भौतिक संरचना छैन, विद्यार्थी धेरै छन् ।’ प्रअ तामाङ भन्छन्, ‘नयाँ भवन निमार्णका लागि पनि पर्याप्त जग्गा छैन । गाउँमा पनि ठूलो भौतिक संरचना छैन ।’

फक्तालुङ गाउँपालिका–६ लेलेपको यो विद्यालयमा ओलाङ्चुङगोला, लेलेपको घुन्सा, फले, ग्याब्ला, तापेथोक, इखाबु, खेजेनिम, लिङ्खिमदेखिका विद्यार्थी पढ्नका लागि पुग्छन् । भौगोलिक हिसाबले जिल्लाकै ठूलो वडा फक्तालुङ–६, ७ र छिमेकी ५ नम्बर वडा तापेथोकमा पनि मावि नभएकाले यहाँ विद्यार्थीको चाप बढेको हो ।