उदयपुर/ उदयपुरको सङ्गम सामुदायिक पुस्तकालयले १४ औं साधारणसभासँगै नमुना पुस्तकालय तथा स्रोत केन्द्र विकासको घोषणा गरेको छ ।  ‘जीवनपर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज’ भन्ने मूल नाराका साथ साधारणसभासँगै नमुना पुस्तकालय घोषणा गरिएको थियो ।

साधारणसभाको वार्षिक प्रगति विवरणसहित आर्थिक आय–व्यय ०७४/७५ मा सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाबाट आर्थिक सहयोग, सदस्यता, कम्प्युटर शुल्क, हल भाडा, लगायतका शीर्षकमा १६ लाख ३३ हजार ७३ रुपैयाँ आम्दानी भएको तथ्याङ्क प्रस्तुत भएको छ ।

कुल रकमबाट १३ लाख ५३ हजार एक सय ४८ रुपैयाँ खर्च, पुस्तक खरिद, तलब, विद्युत तथा टेलिफोन शुल्क, कम्प्युटरमर्मत लगायतका शीर्षकमा भएको देखिएको छ । २ लाख ७९ हजार ९ सय २५ रुपैयाँ मौज्दात रकम भएको साधारणसभामा प्रस्तुत गरिएको थियो ।

समाजका गतिविधिलाई प्रत्यक्ष रूपमा नियाल्दै सहयोग गर्दै आएको पुस्तकालयले नयाँ पुस्ताका युवा युवतीले पुस्तकलाई त्यति ध्यान नदिएको भए पनि अत्याधुनिक सेवा सुविधा युक्त नमुना पुस्तकालय बनाउने उद्देश्य लिएको सङ्गम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए ।

सानो र थोरै जनसङ्ख्याबाट शुरुवात गरेको पुस्तकालयले ठूलै फड्को मारेको भए पनि सुविधा सम्पन्न बनाउनलाई जोड दिएको खड्काले बताए । सबैको साथ सहयोग रहेमा अबको २ वर्षमा नेपालकै नमूना पुस्तकालय बनाउने खड्काले बताए ।

पुस्तकालय ज्ञानको भण्डार भए पनि नव पिंढीहरूले विज्ञान र प्राविधिकको युगमा सामाजिक सञ्जालका कुराहरूले गर्दा पुस्तकालय ओझेलमा पर्दै गएकाले यसलाई सुविधा सम्पन्न बनाई राष्ट्रकै नमूना पुस्तकालयको घोषणा गर्ने खड्काले बताए । नमुना पुस्तकालयको निर्माणपछि अक्षय कोष समेत तयार गर्ने तयारी भइरहेको खड्काले बताए ।

सुविधा सम्पन्न नमूना पुस्तकालय तथा स्रोत केन्द्र विकासमा शारीरिक अपाङ्ग, बालबालिका, महिलाको लागि छुट्टाछुट्टै पुस्तकालय व्यवस्थापन गरी पुस्तक र ई– पुस्तकालयको पनि छुट्टाछुट्टै व्यवस्थापन गर्ने खड्काले बताए ।

सुविधा सम्पन्न पुस्तकालय बनाउनका लागि सबै पक्षको भरपूर सहयोग रहनु पर्ने खड्काले बताए । एक शक्तिशाली वस्तु जुन ज्ञानको भण्डारले भरिएको पुस्तक आजको युवा युवतीले कमै पढ्ने हुनाले पुस्तकालयहरू ओझेलमा पर्दै गएको त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए ।

आर्थिक वर्षमा ५ वटा वडामा पुस्तकालय निर्माण गरी करिब ३ वर्षमा सबै १६ वटै वडामा पुस्तकालय बनाउने चौधरीले बताए । पुस्तकालयमा रहेका विभिन्न ज्ञानको भण्डारको अध्ययनले व्यक्तिको विचारमा सकारात्मक सोच बनाउने हुनाले पुस्तकालयको जरुरी रहेको चौधरीले बताए ।