विराटनगर/ राष्ट्रिय गौरवको बहुचर्चित सडक विराटनगर-किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

लामो समयदेखि चर्चा र बहसमा रहेको विराटनर-किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको हो । सडक योजनाका अनुसार अबको एक वर्षमा यो सडकको ट्रयाक खोलिने छ ।

खाँदबारीदेखि किमाथांकासम्मको १ सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । उक्त ट्रयाक पनि आगामि वैशाखसम्ममा ठेक्कामा लाग्ने र अर्को वर्षसम्ममा सकिने सडक योजनाको दाबी छ ।

०६५ सालमा स्थापना भएर सडकको टूयाक खोल्ने जिम्मा पाएको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारीका अनुसार शंखे भिरका कारण उक्त टूयाक खोल्न समस्या भएको हो ।

‘अत्यन्तै कडा चट्टानका कारण उक्त क्षेत्रमा सडक खोल्न समस्या पर्ने देखिन्छ । त्यसका लागि सडक विभागले नेपाली सेनाको सहयोगमा काम गर्ने कोशिस भइरहेको छ,’ सडक योजनाका इन्जिनियर अशोककुमार साहले भने, ‘विष्फोट गराएर चट्टान फोर्नुपर्ने बाध्यताका कारण केही ढिलाई हुन गएको छ ।’

आगामी वैशाखसम्ममा बंकर निर्माण सकिने र १ वर्षभित्रमा ट्रयाक खोल्न सकिने उत्तर दक्षिण कोशी सडक योजना खाँदबारीका इन्जिनियर साहको दाबी छ ।

१ सय ६२ किलोमिटरमध्ये १ सय ४८ किलोमिटर ट्रयाक खोली सकिएको छ । खाँदबारीबाट दोभानसम्म ग्राभेल भइसकेको छ । दोभानबाट बरुणसम्म ८० किलोमिटर ग्राभेल स्टिमेट स्वीकृतिको चरणमा रहेको सडक योजनाले जनाएको छ ।

ट्रयाक खोलिएसँगै नेपाल-भारत र चीन सडक सञ्जालबाट जोडिने भएको हो । अहिले खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किलोमिटर दुरीको सडकको टूयाक खोल्ने, ग्राभेल गर्ने काम गर्दै आएको छ ।

आयोजनाका प्रमुख साहका अनुसार टूयाक खोल्न बाँकी रहेको सडकका लागि नेपाली सेनासँग सहयोग लिईने भएको छ । विष्फोटक पदार्थ राख्न र नेपाली सेनालाई बसोबास गर्ने बंकर र संरचना निर्माणको काम थालिएको आयोजनाका प्रमुख साहले जानकारी दिए ।

सडकसँगै पुल निर्माणको कामलाई अगाडी बढाइएको आयोजना प्रमुख साहले जानकारी दिए । दोभानदेखि बरुण र बरुणदेखि किमाथाङकाबीचमा पर्ने खोलामा ९ वटा पुल निर्माणको प्रक्रिया र चारवटा पुल स्वीकृतको प्रक्रियामा रहेको साहले बताइ ।

राष्ट्रिय गौरवको बहुचर्चित सडक आयोजनाको काम २०६५ सालदेखि सुरु गरिएको थियो । हालसम्म अढाई अर्ब खर्च भईसकेको सडकको खाँदबारी-दोभान ५० किलोमिटर सडक कालोपत्रेको लागि स्वीकृत प्रक्रियामा रहेको बताइन्छ ।

त्रिदेशीय व्यापारिक मार्ग निर्माणसँगै चिनको सिकात्सेसँग सिधा व्यापारिक सम्बन्ध जोडिने आशा गरिएको छ । किमाथाङ्कादेखि नजिकै रहेको चीनको छेन्दुङसम्म रेल चिनिया रेलको सेवा विस्तार भईसकेको छ ।

चिनीयाँ टोलीसँगको छलफलमा भाग लिएर फर्किएका खाँदबारीका व्यवसायी सुमन श्रेष्ठले एलायनमेन्ट चेन्ज गर्नु आवश्यक रहेकोमा जोड दिए । उनले चिनिया पक्षमा जसरी भए पनि ट्रयाक छिटो खोलियोस् भन्ने पक्षमा रहेको बताए ।

किमाथांका नाका खुले नेपालले धेरै हिसावले फाइदा लिन सक्ने उनको भनाइ छ । किमाथांका नाका खुल्ने हो भने संखुवासभालाई मात्रै नभएर देशलाई नै आर्थिक हिसाबले चीनसँग जोडिन सहयोग पुग्ने सबैको विश्वास छ ।

तर सरकारले किन ढिलो गरिरहेको छ भन्ने विषयमा आफूहरू अनविज्ञ रहेको व्यवसायी बताउँछन् ।