बेलबारी/ स्थानीयतह सञ्चालनका लागि गाउँ तथा नगरमा विभिन्न कार्यविधीहरु कतिपय बनि सकेका छन् कतिपय बन्ने क्रममा छ । स्थानीय तहको शिक्षाको विकासका लागि शैक्षिक कार्यविधी पनि स्थानीयतहले नै बनाउछ । तर यसरी बनेका शैक्षिक कार्यविधीहरु अपांग तथा दृष्टिविहीन मैत्री शिक्षा प्रणाली हुन सकेको छैन ।

स्थानीय तहको शैक्षिक कार्यविधी तयार पार्दा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नभएको हुँदा पनि उक्त कार्यविधी अपांग तथा दृष्टि विहीन मैत्री कार्यविधी हुन नसकेको हो ।

अपांगता तथा दृष्टि विहीनको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधीको अनुपस्थितीमा बनेको कार्यविधीलाई संशोधन गर्न समेत दृष्टि विहीन संघले आवाज उठाउन थालेका छन् ।

दृष्टि विहीन मैत्री शैक्षिक कार्य विधी बनाउनका लागि गाउँ शिक्षा समिति तथा नगर शिक्षा समितिमा पनि अपांग तथा दृष्टि विहीनको प्रतिनिधित्व हुनु पर्ने माग राखेका छन् ।

विद्यालय श्रोत कक्षामा समेत दृष्टि विहीनहरुलाई प्रतिनिधित्व नभएको र समावेशी शिक्षा तथा विशेष शिक्षाको परिभाषामा अपांग तथा दृष्टिविहीनलाई नसमेटिएकोले उक्त कार्य विधीलाई सरोकारवाला संस्थाले अपांग मैत्री बनाउ माग गरेका छन् ।

नेत्रहिन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष कलाधर भण्डारीले विद्यालय भर्ना अभियानमा सरकारले विभिन्न कारणले विद्यालय जान वञ्चित विद्यार्थीमा अपांगता भएको व्यक्ति पनि समावेश गर्नु पर्ने माग राखेका छन् ।

बुधवार मोरङको बेलबारीमा आयोजित दृष्टि विहीन मैत्री शिक्षा प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै भण्डारीले ति मागहरु पेश गरेका हुन् ।

अपांग मैत्री नरहेका कार्यविधीलाई संशोधनको माग गर्दै अहिले देशव्यापाी रुपमा स्थानीय तहका शिक्षा अधिकृतहरु संग अन्तरक्रिया गरिएको भण्डारीले बताए ।

मोरङका स्थानीय तहका शिक्षा अधिकृत तथा श्रोत व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रममा कार्यविधीहरु अपांग मैत्री हुन नसकेको अधिकृतहरुले स्वीकार गरेका छन् ।

सहभागी अधिकांश अधिकृतहरुले कार्यविधी बनाउदा अपांगहरुको विषयमा ध्यान नपुगेकोले आफूहरु चाहि अहिले दृष्टि विहीन रहेको स्वीकार गरे । कतिपय शिक्षाअधिकृतहरुले दृष्टिविहीनहरुको कार्यक्रममै पहिलो चोटी बसेको समेत अनुभूति राखे ।

जदाहा गाउँपालिकाका शिक्षाअधिकृत विन्दुकुमार लावतीले आफू अहिले पचास वर्षको हुँदा मात्र दृष्टिविहीनहरुको कार्यक्रममा सहभागि भएको बताए ।

त्यसो त रंगेली नगरपालिकाका शिक्षाअधिकृत तुलशीप्रसाद अधिकारीले पनि ब्रेल लिपी बारे आफ्नो अनुभूति राख्दै दृष्टिविहीनहरुले ब्रेललिपीबाट लेखपढ गरेको करिब दुईदशकबाट मात्र थाहा पाएको बताए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका शिक्षाअधिकृत शिवप्रसाद घिमिरे, सुनवर्षी गाउँपालिकाका हरिहर घिमिरे, रतुवामाई नगरपालिकाका शिक्षाअधिकृत रविन्द्र पण्डीतले कार्यविधीको बारेमा बोलेका थिए ।

त्यसैगरी मिक्लाजुङ गाउँपालिकाका काशीनाथ खनाल,कानेपोखरी गाउँपालिकाका श्रोतव्यक्ति प्रेम काकी लगायतले आआफ्ना स्थानीय तहका कार्यविधीको प्रकृति र अवस्थाको बारेमा बोलेका थिए ।

स्थानीय तहका शिक्षा अधिकृतहरुले राखेको रिर्पोटको आधारलाई मान्ने हो भने स्थानीयतहको शैक्षिक कार्यविधी अपांगमैत्री नरहेको पुष्टी भएको छ ।