ताप्लेजुङ / फुङलिङ नगरपालिका ३ का गोमबहादुर तामाङले थाहा पाउँदा घरै भन्दा माथीको भिरको फेदमा पानीको कुवा थियो । सो कुवामा बाह्रैमास पानी सुक्दैनथ्यो । त्यतिवेला पानी घर सम्म ल्याउनको लागि की भाँडो लिएर कुवासम्म जानुपथ्र्यो, की बाँसको डुँड बनाएर घरसम्म पानी ल्याउनुपथ्र्यो । तामाङको बुवाले पनि बाँसको डुँड वनाएर घरसम्म पानी ल्याएका थिए । त्यहि पानीको माध्यमवाट घरपरिवारलाई मनग्य पुग्थ्यो । सागसव्जी पनि लगाउँथे । तर केहि वर्ष अघिदेखि त्यो कुवामा पानी छैन् ।
२०७२ सालमा गएको भुकम्प पछि त्यो कुवा सुकेको तामाङ बताउँछन् । जिल्लाकै मिक्वाखोला गाउँपालिका वडा नं ३ का वीरवहादुर लिवाङको पनि खेतको विचमा पानीको मुहान थियो । मुहानको थोरै तलतिरवाट साँवा जाने सडक खनिएको छ । सडक खन्नुअघिसम्म त्यहाँवाट निस्कीएको पानीले खेति लगाउँथे । तर अहिल त्यो पानीको मुहान नै सुकेको छ । तामाङ र लिवाङ जस्तै आफ्नै जीवनकालमा पानीको मुहान सुकेको देख्ने स्थानीय निकै छन् । गाउँका वुडापाकाका अनुसार ग्रामीण क्षेत्रका पानीका केही मुहान पूर्ण रूपमा सुकेका छन् भने केही स्थानका पानीका मुहान बदलिएका छन् । स्थानीय तहले धमाधम जथाभावी सडक खन्न थालेपछि यो क्रम अझ बढेको स्थनीयको अनुभव छ ।
डोजर र एक्साभेटरको अन्धाधुन्ध प्रयोगले पानीका स्रोत सुक्न थालेको सावदेनका मिलन लिम्बूले वताए । जसका कारण धान फल्ने खेतसमेत बाँझिएका छन् । “पालिकाहरूले सडक बनाउँदा अपवादबाहेक वातावरणीय प्रभाव मूल्यांकन गराएका छैनन् । मनलाग्दी बाटो खनेका छन् । एउटा पालिकाले एकापट्टिबाट, अर्काले अर्को पट्टिबाट । त्यसबाट हुन सक्ने क्षतिको मूल्यांकन गरिएको छैन ।” शिक्षक समेत रहेका लिम्बूले भने “विकास गर्ने नाममा पानीको मुहान सुकिरहेका छन् । पानी अभावकै कारण कति त बसाई हिँड्ने अवस्था छ ।” “गुणस्तरीय जीवनका लागि बाटो चाहिन्छ । खन्नुअघि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । पानीको प्राकृतिक मार्ग बिगार्नु हुँदैन ।” लिम्बूले भने ।
“यो पानी सुक्नुमा जलवायु परिवर्तनको असर छ भन्छन् । पानी पनि कम पर्छ, परेका वेला आरी घोप्ट्याए जसरी पानी पर्छ ।” स्थानिय कृष्ण वरालले भने “यै त होला नी जलवायू परिवर्तनको असर ।” पानीको मूलको निरन्तरता जमिनको स्थिति, त्यसको प्रयोग र वर्षाको पानी कति अडिन्छ भन्नेमा भर पर्ने विज्ञहरु वताउँछन् । जथाभावी खनिएका बाटाले पानीको मार्ग सबै काट्छ । प्राकृतिक मार्ग बदलिएपछि पानी पहिले जसरी बग्न पाउँदैन ।
सडक र नालाबाट बग्दा जमिनले सोस्न पाउँदैन । प्राकृतिक मार्गका मुहान त्यसै सुक्छन् । जथाभावी सडक खन्दा पानीका मूलहरू भत्किन्छन् । जमिनमा कम्पन आउँछ । माटो, ढुंगा हल्लिन्छन् र पहिरो जान्छ अनि पानीका स्रोत बगाउँछ ।अध्ययन नगरी सडक खन्दा रूखबिरुवा बढी काटिने भएकाले पनि डाँडापाखा नाङ्गिने र त्यसका कारण परेको पानी जमिनमा अडिँदैन । परेको पानी त्यतिकै बगेर जाने भएपछि पानी ‘रिचार्ज’ हुन नपाउने भएकाले गर्दा पनि पछि छेउछाउका मूल सुक्ने विज्ञहरुको भनाई छ ।