दमक/ इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमलमा रहेको ३ कोठे सानो घर । यही घरमा बस्छन् अमरकुमार चेम्जोङ । शरीरको कम्मरदेखि तलको भाग चल्दैन । शौचालय जानदेखि खानसमेत ह्वीलचेयरको सहारा लिनु पर्छ । एक महिनादेखि दुवै खुट्टा सुन्निएका छन् । अस्वभाविक रूपमा स्वास्थ्यमा खराबी देखिएको छ । उपचार गर्ने पैसा छैन । विगत १३ वर्षदेखि ह्वीलचेयरको सहारामा भित्र–बाहिर गर्छन् । मासिक औषधि खरिद गर्ने पैसासमेत छैन ।

यतिमात्र होइन, नेपाल सरकारको तर्फबाट केही महिनाअघि वितरण गरिएको मानपदवी ग्रहण गर्नसमेत आवश्यक व्यवस्थापन गर्न नसक्दा जान सकेनन् उनी । यही योगदानको कदर गर्दै केही समयअघि नेपाल सरकारले सुप्रबल जनसेवा तृतीयद्वारा विभूषित गर्न राष्ट्रिय सम्मानका लागि ११६ नम्बरमा नाम समेत प्रकाशित गरेको थियो । तर आवश्यक कपडा र बाटो खर्च नहुँदा सम्मान ग्रहण गर्न काठमाडौं जान नसकेको उनी बताउँछन् ।

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली–१ मा बस्दै आएका पूर्वमाओवादी लडाकु ४४ वर्षीय चेम्जोङको जीवन अहिले यस्तै अवस्थामा बितिरहेको छ । पूर्व नेकपा (माओवादी)ले फागुन १ गते देशभरि जनयुद्ध मनाउने भव्य तयारी गरिरहँदा देशमा निरङ्कुश राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापना गर्न हतियार बोकेका पूर्वलडाकुले अहिले जीविकोपर्जन नै असहज भएको दुखेसो पोखिरहेका छन् । ‘हामीले ठूलो घरबङ्गला, विलासी भौतिक वस्तु चाहेका छैनौं तर हाम्रो दैनिकी सहज बन्नुपर्छ भन्ने माग हो’ –चेम्जोङले भने ।

२०६२ साल माघ १३ गते धनकुटा जिल्लामा राजाले गरेको चुनाव बिथोल्ने क्रममा तत्कालीन शाही सेनाको गोली लागेर घाइते भएका चेम्जोङ सोही समयदेखि शारीरिक रूपमा अपाङ्ग छन् । यही पीडाले श्रीमतीसमेत मानसिक बिरामी भएर दैनिक औषधि प्रयोग गरिरहेकी छन् । उनीजस्तै अधिकांश घाइते तथा स्वेच्छिक अवकासमा बाहिरिएका तथा अयोग्य लडाकुको अवस्था जीविकोपार्जनमै समस्या भएको बताउँछन् ।

जनयुद्धमा लागेपछि अधिकांश लडाकुलाई समाजमा पुनस्र्थापना हुन समेत असहज भएको उनीहरू बताउँछन् । तत्कालीन माओवादी र सरकारबीच भएको द्वन्द्व र त्यसको उपलब्धिको सम्झनामा मनाइने जनयुद्ध दिवस मनाउन शुरु भएको २४ वर्ष पूरा भएको छ । यो अवधिमा सेना समायोजन भयो । केही लडाकु योग्य भएर नेपाली सेनामा गए भने कोही आयोग्य भएर गाउँमै छन् । सेना समायोजनको क्रममा स्वेच्छिक अवकासमा बाहिरिएका अधिकांश लडाकु अहिले जीविकोपार्जनका लागि खाडी मुलुक पुगेका छन् । केही घाइते अपाङ्गता भएका लडाकुहरूको अवस्था अहिले दयनीय भएको छ । दैनिक जीविकोपार्जन गर्नै उनीहरूलाई समस्या छ । पूर्व जनमुक्ति सेनाका करिब ७० प्रतिशत खाडी मुलुकमा रगत पसिना बगाइरहेको पूर्वमाओवादी लडाकु डम्बर पुलामी बताउँछन् ।

देशमा भएका अधिकांश पूर्व जनमुक्ति सेना डिप्रेसनको सिकार भइरहेको उनीहरूको भनाइ छ । जनमुक्ति सेनाका कमाण्डरमध्ये कोही उपराष्ट्रपति छन्, कतिपय मन्त्री र कोही मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका छन् । तर अधिकांश पूर्व जनमुक्ति सेना विचल्ली अवस्थामा रहेको अर्का पूर्व लडाकु सुनसान तामाङको भनाइ छ ।

समाजमा समान हकअधिकार देशमा नै रोजगार भएर समृद्ध नेपालको कल्पना गरेर हतियार बोकेका अधिकांशले अहिले जीविकोपार्जनको लागि वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । जनयुद्धमा होमिएका १ हजार ६ सय ४० लडाकुहरू समायोजन भएर नेपाली सेनामा समावेश भएका थिए ।
दशवर्षे सशस्त्र युद्धका क्रममा पार्टीको पूर्णकालीन कार्यकर्ताको रूपमा काम गरेका पूर्वलडाकुहरूले सेना समायोजनमा नपरेपछि सरकार र पार्टीले पनि कुनै वास्ता नगरेको गुनासो गरेका छन् । घाइते, अपाङ्ग र अयोग्य लडाकुहरूलाई राज्यले निःशुल्क स्वास्थ्य उपचार र जीविकोपार्जनको आधार तयार गरिदिन माग गरेका छन् ।

अयोग्य लडाकुहरूले आफूहरूले पटक–पटक पार्टी नेतृत्व र हरेक सरकारलाई समस्याबारे जानकारी गराए पनि आस्वासन मात्र पाएको गुनासो गरेका छन् । सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको प्रमाणीकरणका क्रममा उमेर नपुगेको भन्दै चार हजार नौ जना माओवादी लडाकु अयोग्य भएका थिए ।