‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । यो हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ । पश्चिमी समाजमा यस दिन प्रेमी–प्रेमिका एक–अर्कालाई भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन् । मुटुरूपी चित्र, परेवा, हातमा धनुषवाण बोकेका पखेटासहितका (क्युपिड) लाई आधुनिक भ्यालेन्टाइन विम्बका रूपमा प्रयोग गरिन्छ ।
भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो । १९ औं शताब्दीदेखि यस दिन विभिन्न सन्देशले भरिपूर्ण ग्रिटिङ्स कार्ड आदान–प्रदान गरिँदै आएको छ। ग्रिटिङ्स कार्डको अत्यधिक उत्पादन शुरु भएको पनि यही समय हो । त्यतिखेर बेलायतमा भ्यालेन्टाइन कार्ड पठाउने फेसनै चलेको थियो । सन् १८४७ मा इस्थर हाउल्याण्डले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गर्ने सफल व्यापारीका रूपमा आफूलाई स्थापित गराएका थिए ।
कार्ड अत्यधिक रूपमा बिक्री भएपछि अमेरिकामा यस दिन सार्वजनिक बिदा दिन थालियो । अहिले थुप्रै पश्चिमी देशमा भ्यालेन्टाइन डेमा सार्वजनिक बिदा हुन्छ । ग्रिटिङ्स कार्ड एसोसिएसनका अनुसार यस दिन विश्वभर एक अर्बभन्दा बढी ग्रिटिङ्स कार्ड आदान–प्रदान गरिन्छ । ग्रिटिङ्स कार्ड बढी बिक्री हुने क्रिसमसपछि भ्यालेन्टाइन डे नै हो । बिक्री हुने कुल कार्डमध्ये ८५ प्रतिशत महिलाले पाउने एसोसिएसनको दाबी छ ।
सन्त भ्यालेन्टाइन
सन्त भ्यालेन्टाइनबारे अझै विश्वमा एक धारणा बन्न सकेको छैन । कम्तीमा तीन भ्यालेन्टाइन थिए भन्ने किंवदन्ती रहिआएको छ । तर यी सबै भ्यालेन्टाइनबीच एउटा समानता छ । उनीहरू तीनैले आफ्ना प्रेमिकाका लागि प्राण त्यागेका थिए । त्यो पनि एउटै दिनः फेब्रुअरी १४ ।

तीन भ्यालेन्टाइनमध्ये एक थिए, रोमका पुजारी । २६९ एडीमा उनी आफ्नी प्रेमिकाका लागि शहीद भएका थिए । उनलाई भाय फ्लामेनियामा गाडिएको थियो । टर्नीका भ्यालेन्टाइन भने १९७ एडीमा टर्नीमै व्यापार गर्थे । उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए । उनको लास पनि भाय फ्लामेनियामै गाडिएको थियो तर केही फरक ठाउँमा ।
क्याथोलिक इन्साइक्लोपेडियाले अर्को सन्तको नाम पनि भ्यालेन्टाइन रहेको उल्लेख गरेको छ, जो अफ्रिकाका कम्पनीमा आबद्ध थिए । यी सन्तबारे योभन्दा बढी उल्लेख गरिएको पाइँदैन । केही स्रोतले भ्यालेन्टाइन डेको सम्बन्ध रोमका भ्यालेन्टाइनसँग रहेको बताउँछन् भने केहीले टर्नीका भ्यालेन्टाइनसँग । केही यस्ता स्रोत पनि छन् जो रोम र टर्नीका भ्यालेन्टाइन फरक नभई एउटै हुन् भन्ने तर्क गर्छन् ।
प्रारम्भमा यी तीनै सन्तको नामपछाडि कुनै रोमान्टिक कथा जोडिएको थिएन । १४ औं शताब्दीमा आएर मात्र सन्त भ्यालेन्टाइन र रोमान्सबीच सम्बन्ध स्थापित गरियो । अनि रोम र टर्नीबीचको विभेद पनि एकाएक अन्त्य भयो ।
वर्ष १९६९ मा रोमन क्याथोलिक क्यालेण्डर संशोधन गरियो । संशोधनले भ्यालेन्टाइन डेलाई सामान्य क्यालेण्डरबाट हटाएर राष्ट्रिय क्यालेण्डरमा समावेश ग¥यो । यसलाई एउटा उत्सवको संज्ञा पनि दिइयो । राष्ट्रिय क्यालेण्डरमा उल्लेख गर्नुकोपछाडि कारण यस्तो थियो– (सन्त भ्यालेन्टाइनको सम्झना निकै पुरानो भइसकेको छ । अब क्यालेण्डरमा यसले स्थान पाउनुपर्छ ।)
‘लिजेण्डा औरिया’ मा बेदीले सन्त भ्यालेन्टाइनको उल्लेख गरेका छन् । यसअनुसार सन्त भ्यालेन्टाइनले क्रिस्चियन धर्म र रोमन बादशाह क्लाउडियस द्वितीयको अपहेलना गरेको आरोप छ । क्लाउडियसले सन्त भ्यालेन्टाइनलाई रोमन आस्थामा ढाल्ने प्रयत्न गरे । भ्यालेन्टाइनले उनको प्रयास निरर्थक बनाएर उल्टो क्लाउडियसलाई नै परिवर्तन गर्ने प्रयास गरे । यसैकारण सन्त भ्यालेन्टाइनलाई झुण्ड्याइयो ।
‘लिजेण्डा औरिया’ मा योभन्दा बढी केही उल्लेख छैन । जुन प्रेमकथा अहिले हामी सुन्दै आएका छौं सन्त भ्यालेन्टाइनबारे, त्यो यस्तो छ– भ्यालेन्टाइन एक सन्त थिए । उनले रोमन बादशाह क्लाउडियस द्वितीयले लागू गरेको अव्यावहारिक कानून (युवाहरू एक्लै रहनुपर्छ भन्ने) पालन गर्न मानेनन् । क्लाउडियसले उक्त कानून आफ्नो सैन्य क्षमता मजबुत पार्न लागू गरेका थिए । विवाहित पुरुष कुशल सैनिक बन्न सक्दैन भन्ने उनको विश्वास थियो । भ्यालेन्टाइनले युवा अवस्थामै लुकिछिपी प्रेम गरे । क्लाउडियसले यो सब थाहा पाएपछि भ्यालेन्टाइनलाई पक्राउ गरी जेल पठाए । उनलाई फाँसी दिने निर्णय गरियो । झुण्ड्याइनुअघि भ्यालेन्टाइनले एक युवतीलाई पत्र लेखे, जो उनकी प्रेमिका थिइन् । यही पत्रमा एउटा लाइन कोरिएको थियो– (फ्रम योर भ्यालेन्टाइन)
चौसर लभ बर्ड
भ्यालेन्टाइन डे कहिलेदेखि मनाउन थालियो ? यो प्रश्नको ठोस जवाफ अझै भेटिएको छैन । भ्यालेन्टाइन र डे फरक दुई शब्दलाई पहिलो पटक एकीकृत रूपमा प्रस्तुत गर्ने व्यक्ति थिए १४ औं शताब्दीका महान् कवि जियफ्री चौसर । चौसरले सन् १३८२ मा लेखेको (पार्लिमेन्ट अफ फाउल्स) शीर्षक कवितामा भ्यालेन्टाइन डे समेटेका छन् । चौसरले लेखेका छन्ः
फर दिस वाज सेन्ट अन सेन्ट भ्यालेन्टाइन डे
ह्वेन एभ्री फउल कमेथ दियर टु चुज हिज मेट
यो कविता चौसरले इङ्ल्याण्डका राजा रिचार्ड र एन्नीबीच सम्पन्न विवाहको पहिलो वार्षिकोत्सवका अवसरमा लेखेका थिए । १३८१ मे २ मा विवाह भएको थियो । यसको ८ महिनापछि राजारानी दुवै चौध वर्षमा प्रवेश गरेका थिए ।
विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियरको कृति ‘ह्यामलेट’ (१६००–१६०१) मा पनि भ्यालेन्टाइन डेको उल्लेख छः
टुमरो इज सेन्ट भ्यालेन्टाइन डे,
अल इन द मर्निङ बिटाइम,
एन्ड आइ अ मेड एट योर विन्डो,
टु बी योर भ्यालेन्टाइन ।
प्रेम अदालत
फ्रान्सले सन् १४०० को भ्यालेन्टाइन डेको अवसर छोपेर राजधानी पेरिसमा ‘हाई कोर्ट अफ लभ’ स्थापना ग¥यो । लभ कोर्ट अर्थात् प्रेम अदालतले प्रेममा हुने धोका, महिलाविरुद्ध हुने हिंसालगायत मुद्दामामिला हेर्ने गथ्र्यो । वकिलहरू महिलामध्येबाट छनौट गरिन्थ्यो ।
कहाँ र कसरी ?
बेलायतमा भ्यालेन्टाइन डे एउटा परम्परागत दिन हो । बेलायतको नरफल्कका केही घरमा ज्याक नामधारी एक व्यक्ति ढोका ढक्ढकाउन पुग्छन् । अनि बालबालिकालाई मिठाई र केही उपहार ढोकाछेउ छोडी उनी टाप कस्छन् । बालबालिका भने यस्तो अदृश्य मानिसबारे कल्पेर तर्सिने गर्छन् । स्पेनमा पनि बेलायतमै जसरी भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
फ्रान्स परम्परागत क्याथोलिक देश हो । यहाँ भ्यालेन्टाइन डे अन्य पश्चिमी राष्ट्रमा झैँ मनाइन्छ । डेनमार्क र नर्वेमा भ्यालेन्टाइन डे (भ्यालेन्टिन्सड्याग) का नामले परिचित छ । यहाँका केहीले मात्र यो दिन मनाउँदै आएका छन् । डेनमार्क र नर्वेमा सामूहिक रोमान्टिक डिनर आयोजना गरी मनाइन्छ । जहाँ प्रेमीहरूले एक–अर्कालाई कार्ड तथा रातो गुलाब दिने गर्छल् । स्विडेनमा यो दिनलाई (अल हट्स डे) भन्ने गरिन्छ । सन् १९६० देखि स्विडेनमा यो दिन उत्सवका रूपमा मनाइँदै आएको छ । फूल व्यापारीले आर्थिक मुनाफाका दृष्टिले स्विडेनमा यस दिनलाई युवा वर्गमाझ परिचित गराएका थिए । फिनल्याण्डमा यो (फ्रेन्ड्स डे) का नामले चिनिन्छ । यस दिन फिनिसहरू आफ्ना सबै साथी सम्झने गर्छन्, न कि आफ्ना प्रेमीप्रेमिकालाई मात्र । इस्टोनियामा पनि यो दिन फिनल्याण्डमा झैँ मनाइन्छ ।
स्लोभेनियामा यस दिनबाट बोटबिरुवा तथा फूलहरू बढ्न थाल्ने जनविश्वास रहिआएको छ । कुनै पनि काम यही दिनबाट प्रारम्भ गर्दा शुभ हुने उनीहरूको मान्यता छ । स्लोभानियालीहरू यस दिन चराहरूले एक–अर्कालाई प्रस्ताव गर्ने र विवाह बन्धनमा बाँधिने विश्वास गर्छन् ।
ग्वाटेमालामा भ्यालेन्टाइन डे प्रेम तथा मित्रता दिवसका रूपमा मनाइन्छ । अमेरिकी शैलीबाट ग्वाटेमाला धेरै प्रभावित छ । यस दिन यहाँ आफ्ना साथीहरूको खुलेर प्रशंसा गरिन्छ । एसियाली देशहरूमा भ्यालेन्टाइन डे बढी मनाउने राष्ट्रमा पर्छन् सिङ्गापुर, चीन, दक्षिण कोरिया र जापान । विश्वमै भ्यालेन्टाइन डेका दिन सबभन्दा बढी उपहारमा खर्च गर्ने देश पनि यिनै हुन् । भ्यालेन्टाइन डेमा जापानमा महिला कामदार आफ्ना पुरुष सहकर्मीलाई चक्लेट दिने गर्छन् । मार्च १४ मा भने चक्लेट दिने महिलालाई पुरुषले चक्लेट दिने चलन छ । दक्षिण कोरियामा पनि यस्तै छ । भ्यालेन्टाइन डेमा महिलाहरू पुरुषलाई चक्लेट दिन्छन्, अनि पुरुषहरू महिलालाई मार्च १४ मा क्यान्डी । जसले यी दुवै दिन केही पाउँदैनन् तिनीहरू चाइनिज रेष्टुराँमा गएर ब्ल्याक नुडल्स खान्छन् । चीनमा पनि सामान्य रूपमा पुरुषले आफ्ना प्रेमिकालाई चक्लेट र फूल दिई भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
– एजेन्सी