फेब्रुअरी ११ को साँझ । अदुवा मिश्रित चिया पिउन पुस्तकालयबाहिर निस्किएँ । छेउको स्टलतिर गएर प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसेँ । ‘भाइ एक चाय देना’ भनेर जिउ तन्काएँ, हाई गरेँ अनि पत्रिका पढे झैं गर्न थालेँ ।
यताउति मन डुलाएँ, चस्मा निकालेर आँखा मिचेँ । म छेउमै पावरवाला चस्मा लगाएको एउटा साउथ इण्डियन प्रौढ हातमा पहेँलो–पहेँलो रङको किताब च्यापेर चिया पिइरहेका थिए । मेरो ध्यान उनको हातको किताबमा खिचियो ।
मैले बोलिहालेँ, ‘अङ्कलजी वो आपका बुक देखसक्ता हुँ क्या ?’ एकछिन अक्मकिए झैं गरी उनी बोले, ‘हाँ देखो देखो ।’ मराठी भाषामा लेखिएको, बाइबल रहेछ । म मराठी केही बुझ्दिनथेँ, हाँस्दै फिर्ता दिनुप¥यो । उनले पुस्तक समात्दै गर्दा बाइबलबाट पट्याएर राखिएको दुई–तीन कापीको पन्ना भुइँमा खस्यो । उनले थाहा पाएनन् । मैले पनि भनिनँ, म त्यति पनि गतिलो मान्छे कहाँ हुँ र ? उनी पैसा तिरेर हिँडे । मैले घुटुक्क चिया निलेँ । सेलाइसकेको थियो । ६ रुपैयाँ पुग्ने गरी पाइन्टको दुवै खल्तीबाट सिक्का बटुलेर तिरेँ । त्यो कापीको पन्ना टिपेर पुनः पुस्तकालय छिरेँ ।
यसपछिको अंश तिनै कापीका पानामा लेखिएका शब्दहरू हुन्, जसलाई जस्ताको त्यस्तै नेपाली भाषामा उल्था गरी प्रस्तुत गरिएको छः
प्रिय जुलिया १ तिमीले आँखा देख्न सक्नेछौ एक दिन । मलाई परमेश्वरमाथि भरोसा छ । म मेरो अन्तिम समयसम्म पनि उहाँसँग तिम्रो लागि प्रार्थना गर्नेछु । मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पूरा गर्दिनेछन् । मैले तिमीलाई एकदमै मन पराउँथेँ । म परमेश्वर र आफूलाई जति माया गर्छु त्योभन्दा पनि बढी त तिमीलाई गर्छु । मलाई थाहा छ, तिमीले पनि मलाई असाध्यै माया गछ्र्यौ । जुलिया १ मलाई विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आँखाले पढ्नेछौ । म जन्मदै आँखा नदेख्ने थिएँ । मेरी आमा म जन्मेको दुई सालपछि बितेकी थिइन् । आमाको मृत्युपश्चात् मलाई मेरा पिताले हुर्काएका हुन् । वहाँले मलाई आँखा देख्न नसक्ने भएकोले पनि होला एकदमै माया गर्नुहुन्थ्यो । मलाई उनले माया गरेको देखेर सबै चकित पर्थे, मेरो उमेरका केटाकेटीहरू मेरो आहारिस गर्दथे । मेरो पापा अस्टेरिस झ्यालखानाको प्रमुख थिए र परमेश्वरलाई मान्दैनथे, पूरै नास्तिक १ त्यतिबेला थोरै मान्छेहरू मात्र क्रिश्चियन थिए । चर्चहरू विस्तारै बन्ने क्रम थियो ।

सम्राट क्लाउडिएस परमेश्वरसित रत्तिभर डराउँदैनथ्यो । मेरा पिता आफ्नो सम्राटको अन्धभक्त थिए । राज्यको सम्राट नै नास्तिक भएर होला क्रिश्चियनहरूका कुरा सुन्न पनि मानिसहरू डराउने गर्थे तर परमेश्वरभन्दा ठूलो क्लाउडिएस हुन सक्दैनथ्यो, धर्मलाई आफ्नो शासन टिकाउने माध्यमको रूपमै भए पनि पछि विस्तारै ऊ क्रिस्तानीहरूप्रति उदार हुँदै आउन थालेको थियो । मेरा पिता पनि मर्ने बेलातिर परमेश्वरको नाम जप्ने भएका थिए ।
अहिले जस्तै घोडा चढ्नेहरूको जताजतै वाहवाही हुने गथ्र्यो । ठूल्ठूला ओहदाका सैनिकहरू, सम्राटका नोकरहरूले मात्रै घोडा चढेर हिँड्न पाउँछन् । मेरो पिता पनि क्लाउडिएसको सच्चा दास थिए र पद पनि ठूलै भएर त होला हाम्रो घरमा पनि घोडा थियो । पिता मलाई घोडामा राखेर घुमाउने गर्नुहुन्थ्यो । वहाँ अरुको लागि जति नै क्रुर अनि खराब भए पनि मेरो लागि एक असल पिता नै हुनुहुन्थ्यो ।
छोरीलाई पुरुषहरूको मनोरञ्जनको साधन मानिन्थो उबेला र म आफै पनि आफूलाई यस्तै मान्दथेँ । समाजमा बहुविवाह अहिलेभन्दा पनि बढी प्रचलित थियो र एउटै पुरुषको घरभित्र र बाहिर सयौं स्वास्नीहरू हुने गर्दथे । महिलाहरू व्यभिचार गरेको आरोपमा निर्मम सजाय पाउँथे र मारिन्थे पनि, अहिले पनि समाज त उस्तै त छ । तर म सानी हुँदा त योभन्दा पनि बढ्ता थियो । अहिले एउटा पुरुषले दशौं स्वास्नी बनाउँछन्, त्यो बेला त सयौं बनाउँथे । यहाँ केही पनि परिवर्तन भएको छैन यो ४०–५० वर्षमा पनि ।
ईशापूर्व २३५ मा रोमन सम्राट अलेक्जेण्डर सेभेरसलाई उनकै सेनाले मारेको थियो । त्यसपछि सम्राटहरूमा त्रास र अविश्वास बढ्दै जान थाल्यो । शङ्का–उपशङ्का, आरोप–प्रत्यारोप बढ्दै जाँदा आफ्नाले आफ्नैलाई मार्न थाले । बाउले छोरालाई, छोराले बाउलाई, सम्राटहरू आफ्नो शक्ति बढाउन हुने–नहुने काम गर्न थाले । सैनिकलाई घूस खुवाउने, निकै सिक्का, गहना दिने जस्ता अनैतिक कामको शुरुवात त्यही समयबाट शुरु भएको हुनुपर्छ । भ्रष्टाचार एकदमै मौलाउन थाल्यो, जसका कारण राज्यको सम्पत्ति रित्तिँदै जान थाले ।
रोमन साम्राज्यको दुर्दशा सेभेरसको हत्यापछि झन् चुलिएको हो । ईशापूर्व २५८–२६० को बीचमा रोमन साम्राज्य तीन टुक्रामा विभाजित भयो र गौल, ब्रिटानिया र हिस्पानिया मिलेर गालिक राज्यहरू बने । सिरिया, प्यालेष्टिना, इजिप्टस मिलेर पल्मिरेने राज्य बन्यो र अर्काे बाँकी रह्यो इटाली राज्य । यो बीचमा विदेशीको हमला पनि हुन थालेका थिए, अनेकौं सङ्क्रमणात्मक रोगहरू फैलिने र भोकमरी शुरु हुन थाल्यो । राज्यमा आर्थिकमन्दी नै लागेको थियो । परिवार–परिवारका बीच कलह, हिंसाका सङ्केतहरू देखिन थालिसकेका थिए ।
आफैबाट छुट्टिएका राज्यहरूको लडाइँमा गालिक राज्यको सम्राट क्लाउडिएस द्वितीयले विजय हासिल गरे र पुनः रोममाथि शासन गर्न थाले । तैपनि हत्या, आतङ्क, दङ्गा रोकिएको छैन, टुक्रिएका राज्यहरू मिलिसकेका पनि छैनन् । झन् पर्सियनहरूको हमला दिन प्रतिदिन बढ्दो क्रममा छ । ‘हाम्रो सम्राटको वीरतालाई तिनीहरूले चिनेकै छैनन्’ पिता मलाई सुनाउने गर्नुहुन्थ्यो । मलाई चासो लाग्थो यस्ता कुराहरू सुन्न । वहाँ आफ्नो सम्राटबारे अनेकौं किस्सा सुनाई नै रहनुहुन्थ्यो र म सुनिरहन्थेँ र वहाँलाई प्रश्न सोधेर हैरान पार्थे । आँखा नभएकोले मलाई वहाँ आफूसँगै कार्यालय लैजाने गर्नुहुन्थ्यो ।
झ्यालखानाका कैदीहरूसँग कहिलेकाहीँ म पनि कुराकानी गर्दथेँ । एकदिन कैदीहरूमध्ये एउटा कैदीले मलाई सोध्यो, ‘तिम्रो नाम के हो सुन्दरी ?’ मैले नहिच्किचाई भनेँ, ‘जुलिया ।’ ‘तिम्रो नाम तिमीजस्तै सुन्दर रहेछ’ –उसले भन्यो । उसको यति बोलीले मलाई अत्यन्तै नौलो महसुस भयो ।
कति मीठो बोलेको त्यसले, मैले त नाम सोध्नै बिर्सेंछु, घरमा पनि उसकै आवाज सुनिरहेजस्तो लाग्थ्यो अब त । मलाई आँखा देख्न नसकेकोमा पहिलो पटक अति नै दुःख लाग्यो । उसित बोलेको रात म अन्धी हुनुको दुःखले जति रोएँ, त्योभन्दा बढी त रात कहिले बित्ला र झ्यालखाना जाउँला भनेर तड्पिइरहेँ । मेरो दुर्भाग्य, भोलिपल्ट हाम्रो कुरा हुन सकेन, उसको बारेमा कसैलाई सोधुँ भने नाम पनि थाहा थिएन, म यत्तिकै तड्पिइरहेँ ।
सबै कैदीहरू कसैको कुरा इज्जतका साथ सुनिरहेका थिए, ‘स्त्रीहरू पुरुषको सहयात्री हुन् । उनीहरूलाई प्रेम र सम्मान दिएर बाँचिहेर तिमीहरूलाई परमेश्वरले खुशी नै खुशी दिनेछन् ।’ कोही मीठो स्वरमा कैदीहरूलाई यस्तै कुराहरू सुनाइरहेका थिए । त्यो स्वर मलाई वर्षौंदेखि परिचित स्वर लाग्यो र स्वयम् परमेश्वर नै बोलेजस्तै लाग्यो । ऊ कति मीठा–मीठा सुनिरहुँ लाग्ने कुरा गरिरहेको थियो, मेरो पिताले धेरै नबोल भनेर हकार्नुभो । ऊ एकछिन चुप लागे झैं ग¥यो र पुनः नडराई बोल्न थाल्यो । म उसको कुरा र स्वरबाट यति प्रभावित भएँ कि वर्षौं–वर्ष उसकै आवाज सुनेर एकै ठाउँमा बस्न सक्छु जस्तो लाग्थो ।
मैले पितालाई सोधेँ, ‘त्यो तपाईंको पनि डर नमानी बोलिरहने मान्छे को हो ? त्यसले के अपराध गरेर झ्यालखानामा लेरा’को ?’
‘त्यसले ठूलो अपराध गरेको छ । सम्राट क्लाउडिएसको आदेश मान्नुको साटो उल्टो विरोध गर्दै हिँडेको छ । मर्ने काल आएपछि मान्छेको दिमाग भड्किन्छ । त्यसले राजाज्ञा तोडेर केटा–केटीको विवाह गराउँदै हिँडेर आफ्नो काल छिट्टै निम्त्यायो । तेरै उमेरको छ होला त्यो, बहुलाहा केटो, छिट्टै मृत्युदण्ड पाउँछ त्यसले ।’
यति भन्दै वहाँले हाँस्दै भन्नुभयो, ‘पुरुषले एउटै मात्रै केटी विहे गर्नु पर्छ रे । अन्य स्त्रीलाई नराम्रो नजरले हेर्न पनि हुन्न रे । एउटा पुरुष, एउटा स्त्री विहे गरेर जीवन बिताउनु पर्छ रे । हा हा हा हा.... पूरै बौलाइसक्यो त्यो, मर्छ अब छिट्टै ।’
यति सुनेपछि मलाई मेरो पितासँग पनि रिस उठ्यो तर उसले भनेको कुरा पनि हुन त कसैले मान्ने खालको थिएनन्, पुरुषहरू एउटै स्त्रीसित मात्रै कसरी जीवन बिताउन सक्छन् ? कस्तो हुनै नसक्ने कुरा गरेको त्यसले । तर मलाई यी कुराहरू अब भने अचम्म लाग्न थालेका थिए । साँच्चीकै यस्तो हुने हो भने त कति राम्रो हुन्थ्यो होला ।
निकै पछि उसित मेरो कुरा भयो, उसले मसित पानी मागेको थियो । पिताले थाहा नपाउने गरी मैले पानी दिएको थिएँ । ‘म परमेश्वरसँग प्रार्थना गर्छु, प्रभुको विश्वास गर एक दिन तिमी देख्न सक्ने हुनेछौ ।’ उसले भन्यो अनि पानी पियो । उसको घाँटी पानी पिउँदा क्लिकक्लिक बजिरहेको थियो जुन मलाई अपूर्व मीठो सङ्गीत झैं लाग्यो । त्यो आवाज आज पनि मेरो कानमा गुञ्जिरहन्छ । उसले धन्यवाद भन्नुअघि नै मैले सोधेँ,
‘तिम्रो नाम के हो ?’
‘भ्यालेन्टिन’ उसले सहजै भन्यो ।
‘पादरी भ्यालेन्टिन’ यो नामको त चर्चा पहिल्यै सुनेको थिएँ । सैनिकहरूले थाहा नपाउने गरी राति–राति चर्चमा युवा–युवतीको विवाह गराइदिने गर्छ रे यो पादरी । परपुरुषगमन र परस्त्रीगमनको विरुद्ध सबैलाई बुझाउँदै हिँड्छ रे । बहुविवाह गर्नु पाप हो, परमेश्वर त एउटै विवाह गर्नेसँग मात्र खुसी हुन्छन् र सुख समृद्धि दिन्छन् भन्छ रे । उसलाई भेट्नासाथ सैनिकले पक्डिन्छन् रे । क्लाउडिएस पनि उसँग अति नै रिसाएका छन् भन्ने मैले सुनेको थिएँ ।
म आँखा नदेख्ने भएकोले मलाई कसैले बिहे गरेका थिएनन् । त्यस्तै २५–२६ वर्षको भइसकेको थिएँ म, बेला–बेला बिहे गर्ने रहर त लाग्थ्यो । आफ्नै सङ्गीहरूका बच्चाहरू ठूल्ठूला भइसकेका थिए । उनीहरू आफ्ना जीवनसाथीसँग हुने रात्रिक्रिया पनि सुनाउँथे । म सुनेर नै उत्तेजित हुन्थेँ र आफ्नो बिहेको कल्पना गरिबस्थें । मेरो दिमागमा भ्यालेन्टिन बसिसकेको थियो । पछि–पछि म उसित बिहे भएको कल्पना गर्थें ।
झ्यालखानामा हाम्रो दिनहुँ कुरा हुन थालेको थियो । मेरो पिता बाहिर गएको बेला पारेर उसलाई आफ्नो खानेकुरा दिन्थें । पानी दिन्थें, ऊ मेरो साथी भइसकेको थियो । उसको कुरा अनौठो हुन्थो, बातैपिच्छे ऊ परमेश्वरको नाम लिन्थ्यो । व्यभिचारी स्त्री र बहुस्त्रीगामी पुरुषलाई ऊ घृणा गर्दथ्यो तर प्रेमको बारेमा अत्यन्तै मीठा कुरा गर्न सक्थ्यो ऊ । म उसको कुरामा निक्कै नै डुबिसकेको थिएँ, हो, म उसलाई माया गर्न थालेकी थिएँ ।
राज्यमा अशान्ति मच्चिरहेको समय थियो त्यो, सेनामा दिनहुँ भर्ती खुल्थ्यो । सबै युवालाई सैनिक बनाएर युद्धमा पठाइन्थो । क्लाउडिएसले कसैलाई पनि बिहे गर्नबाट प्रतिबन्ध लगाएको थियो । बिहा गरेपछि परिवार, श्रीमती र सन्तानको मायाजालमा फसेर आफ्ना सैनिकहरू युद्धमा जान नमान्ने र मर्न–मार्न नसक्ने हुन्छन् भनेर उसले कडाइकासाथ केटा–केटी भेट्न पनि नदिने उर्दी जारी गरेको थियो । उसको यो आज्ञा प्रजाहरूलाई मन परेको थिएन र भ्यालेन्टिनले त झन् उसको यो उर्दीको विरोध मात्रै गरेन । बरू निकै युवायुवतीको परमेश्वर साक्षी राखेर विवाह गराइदिएको थियो । यो कुरा कसैले क्लाउडिएससम्म पु¥याइदियो र उसलाई पक्राउ गरेर झ्यालखानामा कैद गरिएको थियो ।
ईशापूर्व २६९ फ्रेब्रुअरी १३ तारिख थियो त्यो दिन । पिताले मलाई भन्नुभयो, ‘भोलि भ्यालेन्टिनलाई मृत्युदण्ड दिइँदैछ ।’ यो सुन्नासाथ मलाई रिङटा लाग्यो र म बेहोस भएर ढल्न पुगेँ । होसमा आउँदा म कुनै वैद्यको वैद्यखानामा थिएँ । चमत्कार त के भएको थियो भने म देख्न सक्ने भएको थियो । म पहिलो पटक आफ्नो पितालाई देखिरहेको थिएँ, मेरो होस आउँदा वहाँ निकै खुशी हुनुहुन्थ्यो झन् मैले देख्न सकेको कुराले वहाँमा बेग्लै खुशी भरिएको वहाँको अनुहारबाट स्पष्ट बुझ्न सकिन्थ्यो । चिकित्सकले मेरो आँखा पनि ठीक पारिदिएकोले पापाले उसलाई निकै सिक्का दिनुभएको थियो ।
घर आउँदा रात हुनै लागेको थियो । मैले अचानक भ्यालेन्टिनलाई सम्झिएँ आँखा देख्नसके पनि मलाई संसार अन्धकार लाग्यो । मेरो सबै खुशी एकाएक हराए अनि म रुन थालेँ । मैले उसित छउञ्जेल आँखा देखिनँ, जब आँखा देख्न सक्ने भएँ मेरो भ्यालेन्टिनलाई मारिसकिएको थियो । वर्षौंपछि पाएको दृश्य मलाई रङहीन लाग्न थाल्यो, जन्मेपछिको २६ वर्षसम्म रहेको मेरो अन्धोपनामै म धेरै अभ्यस्त भइसकेको थिएँ जिन्दगीका अनेक वस्तुस्थितिहरूसँग सामना गर्न । आज देख्न सक्ने भएर पनि म केही देख्न नसक्ने भएको थिएँ, मैले देखेँ त केवल शून्यता र अन्धकार । मेरो आँखाको ज्योति आएर पनि कहिल्यै उज्यालो देख्नै नसक्ने अन्धी भएँ म ।
निकै पछि म पितासँग झ्यालखाना गएँ, एउटा कैदीले मलाई एउटा कागज दियो । ‘भ्यालेन्टिनले मलाई दिनू भनेको थियो रे । म अक्षर चिन्दिनथेँ । त्यो चिठ्ठीका अक्षरमा के लेखिएको थियो थाहा पाइनँ तर मलाई त्यसमा प्रेम नै प्रेम लेखिएको छ जस्तो लाग्यो । मेरो भ्यालेन्टिन कस्तो थियो होला ? पक्कै उसको आँखा सायद यही अक्षर जस्तै थियो होला । बोलिरहे झैं लाग्ने । मलाई पनि हेरिरहे झैं लाग्ने । त्यो चिठ्ठीका प्रत्येक अक्षरलाई चुम्बन गरेँ मैले । मेरो भ्यालेन्टिन अक्षर बनेर कागजमा हाँसिरहेको थियो ।
कागजमा बसेको भ्यालेन्टिनलाई कसैले नदेखोस् जस्तो लागेर मैले कसैलाई पनि पढ्न लगाइनँ त्यो चिठ्ठी । पितासँग जिद्दी गरेर अक्षर सिक्न थालेँ । राम्रोसँग अक्षर पढ्न सक्ने हुञ्जेल एक वर्ष बितिसकेको थियो । भ्यालेन्टिनको एक–एक कुरा सम्झिँदै भक्कानो तारन्तार फुटिरहन्थ्यो मेरो, तर प्रेमपत्रमा अक्षर बनेर मेरो प्रिय भ्यालेन्टिन बाँचेको छ जस्तो मानेर चित्त बुझाउँथे ।
ठीक एक वर्षपछि फ्रेब्रुअरी १४ मा म उत्तरी भेगको रोम नदीछेउ गएँ, पत्र बोकेर । मिल्भिएन पुलको छेउमा उसको शव गाडिएको थियो । त्यहीँ पुगेँ र उसको चिहानमा एउटा रातो गुलाब चढाएर भुइँमा आफ्नो शरीर मिल्काइदिएँ । भावविभोर भएर छाती पिटी–पिटी आँशु बगाएँ, त्यसदिन म खुब रोएँ । उसको पत्र पढ्न भनेर साँचेको दिन थियो र पढेँ ।
प्रिय जुलिया !
तिमीले आँखा देख्न सक्नेछौ एक दिन । मलाई परमेश्वरमाथि भरोसा छ । म मेरो अन्तिम समयसम्म पनि उहाँसँग तिम्रो लागि प्रार्थना गर्नेछु । मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पूरा गर्दिनेछन् । मैले तिमीलाई एकदमै मन पराउँथेँ । म परमेश्वर र आफूलाई जति माया गर्छु त्योभन्दा पनि बढी त तिमीलाई गर्छु । मलाई थाहा छ, तिमीले पनि मलाई असाध्यै माया गछ्र्यौ । जुलिया ! मलाई विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आँखाले पढ्नेछ्यौ ।
प्रेमको कुरा गर्नाले प्रेमपूर्ण एउटै विवाहको पक्ष लिनाले शासकहरूले मलाई मार्दैछन् । तर प्रेमलाई कसैले मार्न सक्दैन । स्त्री–पुरुष परमेश्वरको महान् सृजना हुन् । यिनीहरूको प्रेमलाई कुनै सम्राटले निषेध गर्न सक्नेछैन । जुलिया ! प्रेमलाई आँखाले देख्न सकिन्न । यसको महसुस हृदयमा, श्वास–श्वासमा भइरहन्छ । म पनि तिम्रो हृदयको प्रेम हुँ, जसलाई आँखाले देखिन्न, त्यसकारण मलाई देख्न नपाएकोमा दुःखी नबन । म यही प्रेमपत्रमा बसिरहेको हुनेछु ।
तिम्रो भ्यालेन्टाइन
म चेतशून्य भएँछु । एउटा दुर्लभ कहानी पढेँ भन्ने कुरो आफैलाई पत्याउन गाह्रो भइरहेको थियो । तेस्रो शताब्दीको त्यो प्रेम कहानी अङ्ग्रेजी भाषामा लेखिएको थियो । यी पानाहरू त्यो प्रौढलाई नदिएकोमा आफैलाई धन्यवाद दिएँ, सायद मैले कुनै छल गरिनँ । कोठामा फर्किंदा ट्रेनभरि मभित्र अनेकौं ख्याल आइरहे । तेस्रो शताब्दीदेखि अहिले एक्काइसौं शताब्दीसम्म त्यही प्रेम र प्रेमीको सम्झनामा मनाइँदै आएको प्रणय दिवसप्रति आस्था पैदा भयो मभित्र । धन्यवाद ।