यासोक, पाँचथर/ कुनै बेला विद्यालय बालबालिकाको आवाजले गुञ्जायमान हुन्थ्यो । स–साना बालबालिका पुस्तक ब्यागमा बोकेर घरआँगन नजिकैको विद्यालयमा हल्ला–खल्ला गर्दै पुग्ने गर्थे । तर अहिले विद्यालयको वरिपरिको वातावरण शान्त र विद्यार्थीको आवाजले गुञ्जिने बस्ती अहिले सुनसान भएको छ । विद्यालयको चारैतिर घाँसपात र झाडीले घेरिँदा वातावरण नै उराठलाग्दो देखिन्छ । पाँचथरको कुम्मायक–५ स्थित ज्योति आधारभूत विद्यालयको दृश्य हो यो ।

सरकारले शैक्षिक गुणस्तरण सुधारको लागि भन्दै बजेटको ठूलो हिस्सा शिक्षाक्षेत्रमा लगानी गरेको छ । तर यो विद्यालय शिक्षकको भागबण्डाको विषयलाई लिएर लामो समयदेखि बन्द भएको छ । दुई समुदायको शिक्षक भागबण्डाको विवाद नमिल्दा १ वर्षदेखि विद्यालय बन्द भएको हो । २०५१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म पठन–पाठन हुँदै आएको थियो । स्थापनाकालदेखि विद्यालयको पठन–पाठन राम्रो भए पनि २०७१ सालमा शिक्षक इन्द्रबहादुर नेपालीले अवकास पाएपछि राहत कोटा खाली भएको थियो । खाली भएको कोटामा साविक वडा नं.४ र ५ नम्बर वडा आहालेबाट राहत शिक्षक राख्नुपर्ने समुदायको माग पेचिलो बन्यो । दुवै वडाले आ–आफ्नो वडाबाट शिक्षकको कोटा दाबी गर्दै आएका थिए ।

समुदायस्तरमा विवाद मिल्न नसकेपछि विवाद समाधानको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयमा शिक्षकको छनोट गर्न परीक्षा सञ्चालन भयो । तर परीक्षामा साविक वडा नं. ४ बाट शिक्षकको नाम छनोट भएलगत्तै वडा नं. ५ का आक्रोसित स्थानीयले उक्त विद्यालयमा बालबालिका पठाउन छाडेपछि अन्ततः २०७४ सालमा विद्यालय बन्द भएको हो । विद्यार्थी संख्या कम भएपछि विद्यालय बन्द भएको स्थानीय बताउँछन् ।

विद्यालयको पठन–पाठन सुचारु गर्न धेरै पहल भए पनि सार्थक नहुँदा लामो समयदेखि विद्यालय बन्द छ । सरकारले लाखौं लगानी गरेको सो विद्यालयका संरचना कमजोर अवस्थामा पुगेको वडासदस्य देवी चेम्जोङले बताए । कक्षा १ देखि ३ सम्मको भवन जीर्ण भएपछि मर्मत सम्भारमा तत्कालीन गाउँविकास समितिको कार्यालयले १ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै कक्षा ४ देखि ५ सम्मको भवन निर्माणको लागि ४ लाख रकम विनियोजन गरी पक्की भवन निर्माण गरेको विद्यालय अहिले बेवारिसे अवस्थामा पुगेको छ ।

सरकारको लाखौं रुपैयाँ खर्च गरी भौतिक संरचनाको निर्माण गरेको भवन अहिले प्रयोगविहीन अवस्थामा रहेको चेम्जोङ बताउँछन् । शिक्षक नियुक्तिको विषयलाई लिएर ज्ञानको ज्योतिलाई समाप्त पार्न खोज्नु दुर्भाग्य भएको भन्दै यस विषयमा सम्बन्धित निकायले चासो दिनुपर्ने कुम्मायक गाउँपालिकाका स्रोतव्यक्ति गणेशकुमार चेम्जोङले बताए । समुदाय र तत्कालीन विद्यालय व्यवस्थापन समिति निष्क्रिय बन्दा विद्यालयको हविगत यस्तो अवस्थामा पुगेको चेम्जोङको भनाइ छ ।

कुम्मायक गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि भन्दै लाखौं रुपैयाँ अङ्ग्रेजी कक्षा सञ्चालनका लागि लगानी गर्र्दै आएको छ । तर समुदायिक विद्यालयमा देखिएको बेथितिलाई समाधान गर्नेतर्फ त्यति चासो पुग्न नसकेको सरोकारवालाहरू बताउँछन् । लामो समयदेखि विवादमा परेको विद्यालय खुलाउन गाउँपालिकाको तर्फबाट आवश्यक पहल गर्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउँछन् ।

विद्यालय बन्द भएपछि सो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू ४० मिनेटको बाटो लगाएर वडाकै अर्को महेन्द्रोदय माविमा पुग्ने गरेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको विद्यालय सञ्चालनतर्फ कसैको ध्यान नगएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।