धनकुटा/ धनकुटाको पाख्रीबास–५ स्थित घोर्लीखर्कको ग्रामीण सामुदायिक माविको दुईकोठे भवनका लागि प्रतिबन्धित रुख कटान गरेको पाइएको छ ।
पाख्रीबासका दुईवटा सामुदायिक वनबाट सरकारले प्रतिबन्ध गरेको सखुवा प्रजातिको रुख कटान गरेको पाइएको हो । सखुवाको रुख काटिएपछि स्थानीय उपभोक्ताले खुलेर विरोध गरेका छन् । माविको २ कोठे पक्की भवन बनाउने बन्दै विद्यालय व्यवस्थापन समितिले आफूखुशी स्थानीय उपभोक्तालाई जानकारी नदिई नै रुख कटान गरेको उपभोक्ताले बताए ।
व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले राजनीतिक आडमा जल्किनी सामुदायिक वनबाट २ वटा र फावाखोला सामुदायिक वनबाट ३ वटा गरी ५ वटा रुख कटान गरेको उपभोक्ताको आरोप छ । श्रेष्ठ फावाखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत हुन् । स्थानीय उपभोक्तासँग समन्वय नगरी रुख काटेको स्थानीय कृष्ण तामाङले जानकारी दिए । उनी जल्किनी सामुदायिक वनका उपभोक्ता हुन् । उनले वनमा शदियौंदेखि फावाली तामाङहरूको बौद्ध दाहसंस्कारस्थल (सागर) समेत रहेको स्थानमा बिना जानकारी नै रुख कटान गरेको बताए ।
समितिका अध्यक्ष तथा विव्यसका अध्यक्षसमेत रहेका श्रेष्ठले वनका उपभोक्ताहरू, सागर समूह तथा वन कार्यालयलाई जानकारी नगराई नै तस्करीशैलीमा रुख काटेको तामाङको आरोप छ । अर्का उपभोक्ता भीम तामाङले राष्ट्रिय वन, सामुदायिक वन र निजी वनबाट पनि सखुवा र खयर प्रजातिको रुख काट्न प्रतिबन्ध रहेको बताए । उनले प्रतिबन्धित रुख आफूखुशी काट्दा पनि नियामक निकायले बेवास्ता गरेको बताए । उनले रुख काटिएको विषयमा २ पटक सव–डिभिजन वन कार्यालय पाख्रीबासमा निवेदन दिन आउँदासमेत सुनुवाइ नभएको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले शिक्षा कार्यालय धनकुटाबाट २ कोठे भवनका लागि १६ लाख रुपैयाँ निकासा भएको भए पनि उक्त रकमले नपुग्ने भएपछि रुख कटान गरेको बताए । श्रेष्ठले २ कोठे भवनको १२ वटा झ्याल र ४ वटा ढोकाको लागि ८ सय ५२ फुट सखुवाको चौकस काटेको स्वीकार गरे । उनले सामुदायिक वनको कार्य योजनाअनुसार नै समितिले निर्णय गरेर रुख काटेको दाबी गरे । सखुवा काट्न पाइँदैन नि भन्ने ब्लाष्टकर्मीको प्रश्नमा उनले भने, ‘वन जोगाउने हामी अनि चाहिएको बेला सामाजिक कामका लागि काट्न नपाएर हुन्छ ?’
जल्किनी सामुदायिक वनका सचिव ज्ञानेन्द्र कार्कीले पनि २ वटा सखुवाको रुख विद्यालयको लागि दिएको स्वीकारे । रुख कटान भइसकेपछि सागर समूहले किन काटेको भन्दै आपत्ति जनाएको कार्कीले बताए । ‘सागर समूहलाई रेञ्जर कार्यालयमा जानकारी नगराउनु गल्ती भयो, आइन्दा यस्तो हुँदैन भन्दा पनि कार्यालय गएर उजुरी गरेका रहेछन्’–कार्कीले भने ।
सव–डिभिजन कार्यालय पाख्रीबासका इञ्चार्ज ललितकुमार यादवले २ वटै सामुदायिक वनमा रुख काटेको पाइएको बताए । उनले डिभिजन वन कार्यालय धनकुटाबाट समेत परिपत्र आइसकेकाले रुख काटिएको विषयमा कानूनीरूपमा आवश्यक छानबिन हुने बताए ।
उनले जल्किनी सामुदायिक वनमा दाहसंस्कारस्थल रहेकोले समुदायिक वन नै परे पनि समुदायले संरक्षण गरेको वन भएकाले अलिक बढी गुनासो आएको बताए । यादवले दुवै पक्ष राखेर आवश्यक समन्वय गरेर कानूनी रूपमा अघि बढ्ने बताएका छन् । उनले तामाङ समुदायका अगुवाहरू आफ्नो कार्यालयमा आएपछि मात्र रुख काटिएको थाहा भएको बताए ।
यता डिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामचन्द्र कँडेलले कुकाठबाहेक कुनै प्रजातिका रुखहरू काट्न नपाइने बताए । रुख काटिएको विषयमा आफूलाई जानकारी प्राप्त भएकाले आवश्यक कारबाहीको लागि अघि बढाउन सव–डिभिजन कार्यालय पाख्रीबासलाई परिपत्र बिहीबार नै गरिसकिएको बताएका छन् । यता जिल्ला शिक्षा समन्वय इकाई धनकुटाका प्रमुख रामबहादुर थापाले ग्रामीण सामाजिक मावि घोर्लीखर्कको लागि आ.व.०७४/०७५ मा नै २ कोठे पक्की भवन निर्माणको लागि १६ लाख रुपैयाँ निकासा दिएको बताए ।
२ कोठे भवनको आवश्यक स्टिमेटअनुसार नै निर्माण गर्नको लागि रकम निकासा गरेको तर १ वर्ष बित्नलाग्दा पनि भवन नबनेको भन्दै उल्टै विद्यालय व्यवस्थापन समितिसँग गुनासो गरे । यसपालि पनि भवन बनेन भने शिक्षा समन्वय इकाईलाई महालेखाबाट अडिट गर्न आउँदा अप्ठ्यारो हुने थापाको भनाइ छ ।