‘हामीहरू सानो छँदा पहाडको त्यो गाउँमा काँधमा काठको पाटी र रातोमाटोको सानो डल्लो पोको बोकेर खेतको गह्रैगह्रा उक्लिँदै धर्मशालामा भेला हुन्थ्यौं । यही नै थियो हाम्रो विद्यालय जहाँ हामी भेला भएका दश–बाह्र जना केटाहरूलाई गाउँका पुरोहित बाजेले क ख सिकाउनु हुन्थ्यो । आ–आफ्नो चप्लेटी ढुङ्गामा बसेर आफूले ल्याएको काठको पाटीमा रातोमाटोको धुलो फिँजाएर सिन्काले क ख लेख्थ्यौं । माटाको धुलो माटोको पोको खोलेर पाटीमा खन्याउँदा पूरै शरीरभरि नाक, गालामा अनि लुगाभरि माटो लाग्थ्यो ।’
वराहक्षेत्रको जेठो आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ओमकुमार शर्मा उर्फ ओक्करनाथ घिमिरे आफ्नो बाल्यकाल सम्झन्छन् । बुबा देवीप्रसाद (शर्मा बाजे) र आमा लक्ष्मी घिमिरेको कोखबाट भोजपुर जिल्लाको साविकको देवानटारमा वि.सं. २०१० साल मङ्सिर २२ उनको जन्म भयो । एक दिदी, एक बहिनी र तीन दाजुभाइमध्ये जेठा छोरा उनी वराहक्षेत्र नगरपालिकाको वडा नम्बर–२ उदय चोकमा बसोबास गर्छन् । ६५ वर्षीय शर्माले स्मृतिपटलमा अझै ताजा रहेको बाल्यकाल सम्झिँदै भन्छन्– ‘पाटीमा सिन्काले क ख लेख्दै गर्दा गल्ती हुन्थ्यो । गल्ती सच्याउँदा माटोका अक्षरहरू पनि मेटिन्थे ।
जति गल्ती भए पनि माटो मिलाउँदा मिलिहाल्ने यो कम खर्चको प्रविधि थियो । कापी–कलम पनि चाहिँदैनथ्यो । त्यसताका हामीले अहिलेको जस्तो मसीको कलम पनि देखेका थिएनौं । हाम्रो विद्यालयको पोशाक भनेको खाँडीको घुँडासम्मको दौरा त्यसमा सानो इँजारको पटुका र कन्दनीमा लङ्गौटी हुन्थ्यो । बिहान ८ बजे स्कुल गएपछि पढाइ भनेको मुस्किलले २ घण्टा हुन्थ्यो ।
छुट्टी भएर दिउँसो १२ बजे घर आउने बित्तिकै गाईबस्तु चराउन जङ्गल जानुपथ्र्यो । घर पुग्न हतारहतार खेतको गह्रैगह्रा भएर हिँड्दा घुँडासम्म पुग्ने गलामा झुण्डिएको काठको पाटी ठोक्किन्थ्यो । घुँडै सुनिन्थ्यो । कहिलेकाहीँ त रगत पनि आउँथ्यो । लगाएको दौरा लामो भएर होला घाउ छोपिन्थ्यो । आमाले दिएको खाजा खाएर नजिकै रहेको जङ्गलमा गाईबस्तु चराउन जान्थें । जङ्गलमा विद्यालयका साथी भेटिन्थे । गाईबस्तु चराएर बेलुका घर फर्कन्थ्यौं ।
विद्यालयबाट होस् वा गाईबस्तु लिएर वनबाट फर्केपछि होस् आमाले भुटेको मकै, उसिनेको इस्कुस र तरुल खाजा दिनुहुन्थ्यो । मुख्य खाना भनेको कोदोको ढिँडो, मकैको भात, फर्सीको मुण्टा, रायो, तोरीको साग, गुन्द्रक अनि बटुकामा भरि मोही हुन्थ्यो । हामी रमाएर खान्थ्यौं । अहिलेजस्तो थुक्पा, चाउचाउ कहाँ पाउनु र ? तरजस्तो भए पनि त्यतिखेरको खानकी आहार निकै पोसिलो र तागतिलो हुनथ्यो । धानको भात त दशैं तिहारजस्ता चाडवाडमा मात्र पाइन्थ्यो ।
बिहानको खाना त सूर्यको उज्यालोमा खाइन्थ्यो । रातिको खानाका लागि दाउरा बालेर त्यसको उज्यालोमा छिटोछिटो खानुपथ्र्यो । नभए आगोको राप निभ्ला भन्ने डर । बिजुली बत्ती थिएन । राति पढ्न त कहाँ पाउनु, टुकी बालौं भने दुःखले पाउने मट्टितेल सकिएला भन्ने त्राही । बडो गाह्रो थियो । जोगाएर कहिलेकाहीँ दियो पनि बाल्ने गथ्र्यौं । कहिलेकाहीँ घरबाहिर जानु परेमा मट्टीतेल नपाउने भएको हुँदा राँको बालेर जानुपथ्र्यो । हिजो आजजस्तो बिजुली बत्तीको चलन थिएन् । यसरी नै हाम्रो दिन अनि रात बित्थ्यो ।
बिहान भयो विद्यालय जान चटारो अनि घर फर्कियो जङ्गल जाँदै ठीक्क । खेल्ने मौका नै पाउँदैनथ्यौं । जङ्गलमा साथीहरूसँग उसबेलाको डन्डीबियो, रुखचढी, ढुङ्गा बोकेर दौडने, जोरबिजोर, सिङ्गौरी, घुँडाले हिड्ने, घुँयत्रो हान्ने , कुदीबाजीजस्ता खेलहरू खेल्ने गरेको थियौँ । अहिलेजस्तो मोबाइलका गेम कहाँ पाउनु ? सिओसी, पबजी भन्ने त कल्पनामा पनि थिएन । वनबाट घर फर्कंदा दाउरा, घाँस ल्याउँथ्यौँ । सक्नेले रूखको डाले घाँस ल्याउँथे । हामी पढ्न मन गथ्र्यौं । पुरोहित बाजे नआएको दिन खुदो हुन्थ्यो हामीलाई । प्लास्टिकहरू हुँदैन्थ्यो । कहिलेकाहीँ भेटिएको रङ्गीन प्लास्टिकलाई चस्मा बनाएर लगाउँथ्यौं ।
२०१७ सालमा मलाई लिएर हाम्रो बा चतरा आउनुभयो । त्यही बेला कोशी प्रोजेक्टले चतरा नहर खन्नका लागि कर्मचारीहरूका लागि धमाधाम कोलनीहरू बनाउँदै थियो । कोशी प्रोजेक्ट नामले कार्यहरू शुरुवात हुँदै थियो । मेकानिकल, ग्यारेज पछाडि एउटा खरले छाएको छाप्रोमा रहेको विद्यालयमा एकदिन बुबाले मलाई नाम लेखाउन लानुभयो ।
प्रधानााध्यापक कुर्सीमा बस्नुभएको थियो । बाले सरलाई नमस्कार गर्दै मलाई पनि नमस्कार गर्न अह्राउनु भयो । सरले नमस्कार फर्काउँदै बालाई सोध्नु भयो, छोराको नाम लेखाउनु आउनु भएको । बाले हो भनेपछि सरले मलाई के नाम हो भनेर सोध्नुभयो । बाले यसको नाम ‘ओक्करनाथ घिमिरे’ हो भन्नुभयो । आश्चर्य मान्दै सरले भन्नुभयो, क्या हो ओक्करनाथ भनेको यस्तो पनि नाम हुन्छ, लौ यिनको नाम ओमकुमार बनाउनु होस् । बाले हुन्छ भन्नुभयो । त्यहाँदेखि मेरो नाम ओमकुमार भएको हो । ओक्करनाथबाट नाम बदलेर ओमकुमार बनाइदिने मेरो गुरु हुनुहुन्थयो, वेदनिधि सापकोटा ।
खरले छाएको छाप्रोजस्तो पाठशालाबाट मेरो पहिलो विधिवत औपचारिक पढाइ शुरुवात भएको थियो । पहाडमा सिकेको कखले यहाँ तराईमा केही हल्का सहयोग भयो । तर यहाँ भने कक्षा शुरु भएपछि एकै चोटी छुट्टी मात्र हुन्थ्यो । बीचमा खाजा खाने मध्यान्तर पनि हुँदैन थियो । त्यती खेर खाजा खाने चलन थिएन । विद्यालय छुट्टी भएपछि सिधै घरमा चिउरा खाजा पाइन्थ्यो ।’
पहाडमा भुटेका मकै खाजा खाने ओक्कर, ओमकुमार भएपछि चिउरा खाजा खान थाले । तर पनि उनको पहाडसँगको नाता भने टुटेन । एक वर्षसम्मको चतरा बसाइपछि उनी फेरि पहाड फर्किए । ‘एक वर्षपछि १८ सालतिर आमाले मलाई पहाडमा लानु भयो । उतै पुराना साथीहरू भेटिए । उनीहरूसँगै रमाउन थालियो । तराई झरिएन । उतै बस्न थालियो यता तराईको पढाइ बीचमै टुट्यो । उता पहाडमा पनि पुरोहित बाजेले पढाउन छाडेछन् भन्ने थाहा पाइयो ।
पहाडमा हामी केटाकेटीहरू प्यास लाग्यो कि कुवामा मुख लगाएर पानी पिउने गर्दथ्यौं । एकपटकको कुरा हो, म ८ वर्षको हुँदो हुँला मैले कुवामा घोप्टिएर पानी पिउँदा मेरो नाकमा जुका पसेछ । त्यसपछि मेरो दुःखको दिन शुरु भयो । ज्वरो आउने, टाउको दुख्ने गर्न थाल्यो । के भएको हो पत्तै पाउन सकेनन् घरकाले । एकदिन आमाले मलाई बटुकोमा दूध खान दिनुभयो । म दूध पिउँदै गर्दा मेरो नाकमा कालो चिज देखा प¥यो । म डरले चिच्याएँ । आमा दौडेर आउनुभयो, हेरेको त जुका पो रहेछ ।
जुका कसरी मेरो नाकभित्र गयो, भरे बुझ्दा त कुवामा मुख गाडेर पानी पिउँदा जुका नाकमा गएको रहेछ, आमाले भन्नुभयो । घरका र छिमेकका सबैले जुकै हो भने । नाकबाट जुका निकाल्ने सबैले प्रयास गरे । तर कसैले सकेनन् । केही जुक्ति नलागेपछि सबैले धामीझाँक्री लगाउन भने ।
जुका नाकमा पसेको एक दुई महिना भइसकेको थियो । जुका मार्न घरकाले सुर्ती, अमिलो चुक र खरानी लगाइदिन्थे । अनि म रोएर घर थर्काउँथे । म चिच्याउँदा डाँडा थर्किन्थ्यो अरे । मेरो नाकबाट जुका निकाल्न बिजुके नाम भएका एकजना त्यतीखेरका नामूद धामी हाम्रो घर आए ।
हत्तपत्त धामी फुक्न नजाने गएपछि निको पारेर छोड्ने भनी सबैले मानेका ती धामीले एक हातले मेरो टाउको समाएर दोस्रो हातले आफ्नो टोपी समाएर मन्त्र पढ्न थाले ।
टोपी हल्लाउँदै जुका निकाल्ने मन्त्र– ‘ओम छु वाचा कि फट् जुका आफ्नो बाटो लाग् यो बच्चालाई दुःख नदे ।’ जति मन्त्र पढे पनि जुका मरेन । जुका न मरेको देखेर धामीले आमालाई बटुकामा पानी ल्याउन भन्नुभयो र मलाई घोप्टेर पानी पिउन लगाए त्यसो गर्दा जुका नाको प्वालमा आउँथ्यो । त्यहीबेला धामीले चिम्टाले चेपेर जुकालाई निकाल्न कोसिस गरे । तर, जुका मरे निस्केन तर मेरो नाक भने रगताम्य भयो । रुनबाहेक म बालखाले के गर्न सक्थेँ र ? चिम्टा सिस्टमले काम चलेन बडेबडे चिम्टाबाज आए तर जुका निकाल्न सकेनन् । चिम्टाले घोच्दाघोच्दै मेरो नाकमा ठूलो खाउ भयो । अब त घरमा कोही नयाँ पाहुना व्यक्ति आयो कि त्यो, पक्कै मेरो नाक घोच्ने धामी आयो भनेर म डरले थरथर काँम्न थाल्थेँ । अनि घरबाट खेतबारी तिर गुटुटु भाग्ने गर्थेँ ।
स्थिति धेरै नाजुक भएपछि धामीले अब ढ्याङ्ग्रो पनि ठोक्न थाले । थाल पनि ठट्टाएव । पूजा गरे । के–के गरे के–के तर जुका निस्केन । यसैगरी २ महिना बितेपछि एक दिन म पेटीमा बसेर मकै खाँदै थिएँ, एक्कासी मेरो नाकबाट त्यो जुका तल भुइँमा झ¥यो तर जुका मरिसकेको थियो । मैले नयाँ जीवन पाएको अनुभव गरेँ । जुका नाकमा हुँदा दुखेर खपिसक्नु हुँदैन्थ्यो । त्यस जुकालाई मेरी हजुरआमाले बाटाकोे सुइरोमा उनेर बारीमा सबैले देख्ने गरी राख्नुभयो ।
मेरो नातिलाई दुःख दिने लु खा भन्दै मरेको जुकालाई गाली गर्नुभयो । त्यसलाई छिमेकीले एक हप्ता दिनसम्म हेर्न आएका थिए । त्यसको हप्ता दिन लगत्तै चतरा झरियो । अब चतरामा मैले पढेको त्यहाँ स्कुल थिएन । वेदनिधि सर पनि देखिनु भएन । कोशी प्रोजेक्टको नहर खन्ने काम शुरु भइसकेको थियो ।
नहर नबन्दासम्म चतरा बजार बहुतै चल्तीको एउटा मात्र बजार थियो । ठूलाठूला काठका घरहरू थिए । चतरा, उदयपुर, भोजपुर, खोटाङ, सङ्खुवासभा, सोलु, ओखलढुङ्गा र धनकुटा जिल्ला समेटिएको ठूलो बृहत् बजार थियो । पहाडका ती स्थानबाट भरियाहरू साहुको सामान लिन चतरा आउँथे । निकै जमघट हुन्थ्यो । जहिले भिड नै भिड हुन्थ्यो । बाटाभरि भरियाहरू ओहोर–दोहोर गरेको देखिन्थे । त्यो बेला चतरामा विजुली बल्थ्यो । कोशी प्रोजेक्टको ठूलोठूलो जेनेरेटरले गाउँ नै झिलमिल हुन्थ्यो । जबकि छेउको इटहरी, दुहबी, इनरुवामा विजुली आइसकेको थिएन ।
मेरो पढाइ अब चतरामठको एक धर्मशालामा हुन थाल्यो । त्यहाँ म कक्षा–२ मा पढ्न थालेँ । बीचबीचमा पढाइ छुटेर होला, मैले क ख चाहिँ लेख्थेँ अरु आउँदैनथ्यो । लौ अब म कसरी पढ्ने होला बित्यास प¥यो । एक जना कायस्थ सर हुनुहुनथ्यो, वहाँले मलाई पढाउनुहुन्थ्यो । एक कक्षा पास गर्दा पुस्तक राम्ररी पढ्ने, जोड घटाउ, गुना–भागा गर्न सक्ने र अङ्ग्रेजीमा नाम लेख्न सक्ने र कम्तीमा ९ सम्मको पाहाडा अनिवार्य आउनुपथ्र्यो ।
तर मलाई केही पनि आउँदैनथ्यो । क खदेखि ज्ञसम्म मात्र आउँथ्यो । तर पनि कसैगरी पढेँ । तर कसरी पढेँ, कसरी पास भएँ थाहा नै पाइनँ । त्यहाँ मुस्किलले ३ र ४ महिना पढेँ होला । चतरामा हाम्रो पहाडको जस्तो काठको पाटीमा माटोको डल्लोले लेख्ने चलन थिएन । तर बाँसको कलम भने थियो । डटपेनको थिएन । लगत्तै दशैं बिदा पछिको मेरो विद्यालय भनेको हालको वराहक्षेत्रको चतरा गाडी स्टेण्ड भयो । त्यो विद्यालय काठको झिँगटीको छानो भएको ५ कोठे भएको थियो ।
कक्षा–२ मा पास भएर ३ मा भर्ना भएँ । कक्षा ३ मा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएपछि ४ नपढी एकै चोटी कक्षा ५ मा हेडसरले नाम लेखिदिनुभयो । त्यतिखेर हाम्रो हेडमास्टर जगतनारायण लालदास हुनुहुन्थ्यो । भगवती सर, अनन्त सरले खुब मज्जाले पढाउनुहुन्थ्यो । राम्रो अङ्कले ५ कक्षा पास भएपछि बाले मलाई धरानको पब्लिक हाइस्कुलमा कक्षा–६ पढ्न नाम लेखाइदिनु भयो । घर आएको म सरस्वती पूजा सकेर पनि स्कुल नगएर सानीआमाको घर भुटान गएँ । त्यहाँ २, ३ महिना बसेपछि पढाइमा ढिलो भयो । कोर्ष छुटेपछि त्यो वर्ष त्यसै बिताइयो ।
अर्को साल प्राइमरी स्कुलमा ७ पढ्नु पर्ने भयो । यहाँ अर्जुन थापा, भवानी दाइले पढाउनु हुन्थ्यो । ७ कक्षाको पढाइ फेरि बीचमै रोकियो । अर्को वर्ष फेरि धरानकै शिक्षा निकेतनमा ७ कक्षामा नाम लेखाएर पढ्न थालेँ । यस बेला चतराका धेरै साथीहरू त्यहाँ पढ्थे । ती साथीहरूमा ध्र्रुवप्रसाद हलुवाई र नागा साह, प्रह्लाद बुढाथोकी र टङ्कप्रसाद सापकोटाजस्ता साथीहरूसँग अझै भेटभाट हुँदा पुरानो बाल्यकाल सम्झना हुन्छ ।
घरबाट काँधमा चामल बोकेर साथीहरूसँग धरान पढेको सम्झना आउँछ । हिजोआजको जस्तो घरको भात खाएर पढ्ने सौभाग्य हामीले पाएनौं । मेरो पढाइ कक्षापिच्छे विद्यालय फेरिरहन्थ्यो । कक्षा–८ पढ्न अब मैले विराटनगरको बरगाछीमा रहेको गोग्राहा हाइस्कुल जानु पर्ने भयो । त्यहाँ नाम लेखाएर पढ्न थालेँ । २०२४÷२५ साल तिरको कुरा हो, त्यहाँ कक्षा–९ पास गरी कक्षा १० मा पढ्दापढ्दै भारत घुम्ने मौका पाएँ । घुम्न निस्केपछि मेरो पढाइ फेरि छुट्यो । कक्षा दोहो¥याउन पुनः म शिक्षा निकेतनमा आएँ । त्यहीँबाट मैलै २०२९ सालमा एसएलसी पास गरेँ । त्यसपछि घरमा आएँ त्यही साल मेरो विवाह भयो ।
त्यही साल नै चतराको अपर प्राइमरी स्कुलमा शिक्षकको बहाली हुने भयो । मैले जागिरका लागि समाजसेवी, धार्मिक तथा शैक्षिक अभियन्ता कवि मान बज्राचार्यज्यूलाई अनुरोध गरेँ । उहाँले मासिक ७० रुपैयाँ तलबमा म र अर्का दामोदर गौतमलाई शिक्षकमा नियुक्त गर्नु भयो । २०३० सालमा शिक्षा योजना लागू भयो । अब हामी सरकारी शिक्षक भयौं । म ठिङ्गाबारीको जनता प्राविमा र दामोदर सर भालढुङ्गा प्राविको प्रधानाध्यापकमा नियुक्त भयौं ।
यसरी कठोर र सङ्घर्ष पूर्ण पढाइपछि मैले जागिरको सिलसिलामा २०३१ सालमा आइएड, २०४० सालमा बिएड र ०५२ सालमा एमएसम्म पढाइ गरी श्री सरस्वती मावि पानवारीमा १५ वर्षसम्म र वराहक्षेत्रको आदर्श माविमा २३ वर्षसम्म प्रधानाध्यापक भएर काम गरेँ ।
मैले पढाएको पानवारीको प्राविलाई निमावि हुँदै मावि बनाएँ । आदर्श माविलाई दशजोड दुई बनाई त्यसलाई डिप्लोमा लेभलसम्म पढाइ हुने व्यवस्था गराउन सफल भएँ । अहिले त्यहाँ वराह आदर्श कलेज स्थापना भएको छ । उच्च शिक्षाको कलेज स्थापना गराउन मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । २०७० सालमा उमेरको हद म्याद ६० वर्ष पुगेकाले मङ्सिर २१ गते अनिवार्य अवकाश लिएँ ।
शिक्षण पेशाबाट अवकाश लिएपछि म अहिले रेडक्रस वराहक्षेत्रको सभापति भएर समाजिक सेवामा लागेको छु । रेडक्रस र नागरिक समाजको जिल्ला सदस्य पनि छु ।
२०३० साल मङ्सिर ३० गतेबाट शुरु भएको मेरो शिक्षण पेशा २०७० मा सेवा निवृत हुँदा ४० वर्ष बितेको हिजोजस्तो लाग्छ । अहिले दिन प्रतिदिन नयाँनयाँ प्रविधि फेरिँदो क्रममा छ । अहिलेको घोकाइभन्दा सिकाइमा विशेष जोड दिइन थालिएको छ । जुन सुखद पक्ष हो ।
प्रतिभाशाली र कर्तव्यनिष्ठ शिक्षक आएका छन् । अझै आउने क्रममा छन् । यसले गर्दा अबको शिक्षण पेशाको भविष्य उज्ज्वल छ । मेरो कार्यकालमा केही कमिकमजोरी भए माफ माग्न चाहन्छु । नयाँ आउने तपाईं सम्पूर्ण शिक्षकशिक्षिकालाई सफलतलाको शुभकामना दिनु चाहन्छु ।’