‘अ ड्रामा इज नट टु बी रिड,
बट इट क्यान बी सिन अपन द स्टेज’
माथिको भनाइले नाटकको प्रकृतिलाई स्पष्ट पार्दछ । वास्तवमा नाटक पढ्ने वा पढेर बुझिने कुरा होइन । नाटक त देखाइनु वा प्रदर्शन गरिनु पर्दछ । तबमात्र नाटक जीवन्त हुन्छ । जबसम्म नाटक रङ्गमञ्चसम्म आउँदैन, त्यसमा प्राणसञ्चार हुँदैन । यो कुरा त हजारौं वर्ष पहिले नै पूर्वेली नाट्य विशारद् भरतमुनि र पश्चिमेली नाट्य विशारद् अरस्तुले स्वीकार गरिसकेका हुन् । वास्तवमा, नाटक दृश्यकाव्य हो । यसको मञ्चनपछिमात्र नाटकमा भएका रसानुभूति गर्न सकिन्छ ।
त्यसैले, नाट्यविद्हरूको एउटै स्वीकारोक्ति रहेको छ– ‘नाटक पढिने होइन, हेरिने साहित्यक विधा हो । यसलाई मञ्चमा प्रस्तुत गर्नै पर्दछ ।’ मानव समाजमा मनोरञ्जनको एक माध्यमको रूपमा नृत्यको उत्पत्ति भएपछि जब त्यसमा कथानकता र संवादको प्रविष्टि भयो, तब नाटकको जन्म भएको पाइन्छ । नाटक जन्मिदा नै आफू दृश्यकरणको स्वरूप र शैलीमा जन्मियो । र, नाटकले लामो समयसम्म मानव समाज र सभ्यतासँगै आफूलाई हुर्काउँदै, युगचेतनाको प्रतिबिम्बित गर्दै आइरहेको छ । नाटकले आफूलाई अस्तित्वमा ल्याउन मञ्चको खोजी गर्दछ । मञ्च विना नाटक जीवन्त हुनै सक्दैन । त्यसैले, पूर्वेली होस् या पश्चिमेली नाट्य विकासक्रममा होस्, प्राचीनकालदेखि नाटकसँगै रङ्गमञ्च जोडिएर आएको छ । मञ्चको आवश्यकता महसुस गरिएको छ ।
अहिले नेपालमा फेरि नाट्य मञ्चन र गतिविधिमा उभार आउन थालेको छ । तर, नाटक प्रस्तुति वा मञ्चन गर्ने नाटकघर वा रङ्गमञ्च हलको अभावका कारण जति उभार आउनुपर्ने हो, त्यति आउन सकेको छैन । त्यसले, अहिले नेपाली रङ्गमञ्च वा नाट्यक्षेत्रमा नाटकघर÷रङ्गमञ्च हलको आवश्यकतामाथि बहस पनि शुरु भएको छ । नाटक र रङ्गमञ्चबीच नङ–मासु र मुटु–रगतको सम्बन्ध रहेको कुरा जानीजानी पनि केही नाट्यकर्मीहरू एवम् रङ्गविद्हरू भने नाटकघर÷रङ्गमञ्च हलको आवश्यकतालाई नकार्दछन् । नाटकका लागि मञ्च चाहिन्छ, तर मञ्च चाहिन्छ भन्दै नाटक÷रङ्गमञ्च हल नै हुनु पर्दछ भन्ने छैन भन्ने उनीहरूको भनाइ छ । उनीहरूको भनाइमा नाटक त जहाँ पनि प्रस्तुत गर्न सकिन्छ । अझ उनीहरू ‘नाटकघर (रङ्गमञ्च हल) निर्माण र विकास गर्नका लागि राज्यले सहयोग गर्नै पर्दछ’ भन्ने छैन भन्ने धारणासमेत राख्दछन् । किनकि ‘नाटक समाज वा राज्यले अह्राएर होइन, आफ्नै स्वान्तःसुखायका लागि गरिने हो ।’ यस्ता धारणा राख्नेहरूको सङ्ख्या धेरै त छैन । तर, यस धारणाले नाटक÷रङ्गमञ्च÷रङ्गकर्म भनेको समाजसँग गैरसम्बन्धित बेवारिसे विषय हो भन्ने अर्थवहन गराउँदछ, जुन कुनै पनि दृष्टिकोणमा सही होइन ।
ज–जसले नाटकघर÷रङ्गमञ्च हलको आवश्यकतालाई नकारेका छन्, उनीहरू नाटक वा रङ्गमञ्चबारे अनभिज्ञ पनि होइनन्, दिग्गजहरू हुन् । उनीहरूको तर्क वा धारणा आफ्नो ठाउँ सबैले होला, तर यस्तै तर्क वा धारणा राख्ने हो भने कुनै पनि देश वा विश्वमा नाटक अनि रङ्गमञ्चको विकास हुन सक्दैन । केवल मनोरञ्जनकै लागि भए पनि राज्यले नाटक वा रङ्गमञ्चको निर्माण र विकासमा शुरुदेखि अद्यापि महŒवपूर्ण दायित्वबोध गरेको पाइन्छ । अथेन्स, रोम र बेलायतका प्राचीन रङ्गमञ्चहरू यसका ज्यूँदाजाग्दा दृष्टान्तहरू हुन् । अहिले पनि कतिपय विकसित देशमा नाटकघर÷रङ्गमञ्च हलका लागि राज्य वा सरकारले नीतिगत रूपमा कार्यक्रमहरू ल्याउने गर्दछन् र आफ्नो वार्षिक बजेटमा नाटक÷रङ्गमञ्चको विकासका लागि बजेट विनियोजन गर्ने गरेका छन् ।
भारतमै पनि केन्द्रीय तथा राज्य सरकारहरूले नाटक÷रङ्गमञ्च विकासका लागि बजेट विनियोजन गर्ने गर्दछन् । नेशनल स्कुल अफ ड्रामा एनएसडी सञ्चालन गरिएको छ, जहाँबाट उत्पादित कलाकारहरू अहिले भारतीय नाट्य तथा चलचित्र क्षेत्रमा स्थापित व्यक्तित्वहरू बनिसकेका छन् । कलाकारहरू नाटक÷चलचित्रमा आउनुअघि एनएसडीमा प्रशिक्षण लिने गर्दछन् । यसैकारण भारतीय नाट्य÷चलचित्र क्षेत्र उर्वर रहेको छ । त्यसो त नेपालमा पनि राज्य वा सरकारले बजेट विनियोजन नगरेको होइन, सङ्गीत तथा नाट्य एकेडेमीलाई करोडौं करोड बजेट विनियोजन गरिन्छ । तर, त्यो बजेट कहाँ जान्छ ? अनुत्तरित छ ।
यस लेखमा उठाउन खोजिएको मूल प्रश्न ‘के नाटकघर÷रङ्गमञ्च हलको आवश्यकता छ ?’ भन्ने नै हो । अहिलेसम्मको विषय उठानमा विपरीत तर्क वा धारणाको मात्रै चर्चा गरियो । वास्तवमा नाटक÷रङ्गमञ्चलाई विकास गर्ने हो भने नाटकघर अर्थात् रङ्गमञ्च हलको आवश्यकतालाई आत्मसात गर्नै पर्दछ । नाटक÷रङ्गमञ्च मानव जीवनको शुरुवातदेखि नै सँगसँगै छ । ‘यो विश्वलाई रङ्गमञ्च र मानव जीवनलाई त्यसका पात्रहरू’ मान्ने शेक्सपियरेली धारणालाई आङ्गीकार गर्दा मानव जीवन, समाज र सभ्यताबाट नाटक÷रङ्गमञ्चलाई पृथक गर्न सकिन्न । हामी मृत्युको पटाक्षेपसम्म नपुगेसम्म जीवनको अभिनय गरिरहेका हुन्छौं ।
जर्मनी नाटककार विलियम मिनेल्टीले भनेका छन्, ‘द थियटर सुड नट बी अन्ली अ प्लेस इन ह्विच टु एक्जिबिट सिनरी... इट सुड बी अ प्लेस इन ह्विच द इन्टाइर ब्युटी अफ लाइफ क्यान अनफोल्डेड... द इनर ब्युटी एण्ड मिनिङ अफ लाइफ’ हो, नाटक÷रङ्गमञ्च केवल देखाउने ठाउँमात्र होइन । यो त यस्तो ठाउँ हो, जहाँ जीवनका आन्तरिक सुन्दरता र अर्थहरू प्रस्तुत गरिन्छन् । यस्तो महŒवको नाटकघर÷रङ्गमञ्च हल निर्माणको आवश्यकतालाई नकार्नु आफैमा एक अबौद्धिकताको द्योतक होइन र ?
नाटककार विलियम मिनेल्टीको भनाइले नाटकघर÷रङ्गमञ्च हलको आवश्यकतालाई प्रष्ट पार्दछ । नाटकघर÷रङ्गमञ्च हल भएन भने नाटक÷रङ्गमञ्चले पस्किने जीवनहरूको सुन्दरता र अर्थ अव्यक्त हुनेछ । किनकि नाटक÷रङ्गमञ्च भन्नु नै विभिन्न जीवन, त्यसका विविध आयामहरूको खोजी गर्दै मञ्चमा प्रस्तुत गरेर समाजलाई नवीन दिशाबोध र युगचेतना प्रदान गर्नु हो । आधुनिक रङ्गमञ्च र रङ्गसिद्धान्तहरुले मनोरञ्जनलाई मात्रै नाटक/रङ्गमञ्चको लक्ष्य हो भन्ने मान्दैनन् । मनोरञ्जन आफ्नो ठाउँमा छ, तर नवीन दिशाबोध र युगचेतनाको सञ्चार नै अहिलेको नाटक÷रङ्गकर्महरूको मुख्य लक्ष्य हो ।
एउटा सहज उदाहरण सोचौं, कुनै प्रवीण भाषणकर्ता नेताको १ घण्टाको भाषण सुन्न जो कसैलाई हम्मे पर्दछ । तर, त्यहीँनेर १ घटाको नाटकमा त्यहीँ भाषणका सारतत्वलाई विभिन्न घटनाहरूको संयोजन गरेर कथावस्तु बनाई संवाद र अभिनयको माध्यमबाट प्रस्तुत गरिँदा दर्शकहरूले विविध रसानुभूति गर्र्दै बढी चाखका साथ सुन्दछन्, हेर्दछन् र उनीहरूलाई १ घण्टाको समय पनि कम लाग्दछ । नाटक/रङ्गमञ्चको सामथ्र्य र उपादेयता यहाँनेर सजीव हुन्छ । जसको लागि नाटक/रङ्गमञ्च हलको आवश्यकता तीव्र रूपमा महसुस गर्न सकिन्छ ।
रङ्गमञ्चलाई जनाउने अङ्ग्रेजी शब्द ‘थिएटर’ हो । पूर्वेली नाट्य क्षेत्रमा ‘रङ्ग’ र ‘मञ्च’ गरी दुईवटा शब्दको गठजोडबाट रङ्गमञ्च भन्ने शब्द बनेको छ । ‘रङ्ग’ ले गीत, सङ्गीत, अभिनय अन्य विनोदप्रिय कुराहरूको प्रस्तुतिलाई जनाउँदछ भने ‘मञ्च’ ले प्रदर्शन गर्ने अग्लो स्थान (माच) जनाउँछ । ‘थिएटर’ भने पनि ‘रङ्गमञ्च’ भने पनि अहिले यी शब्दहरूले नाटक प्रस्तुतिलाई जनाउँदछन् । अर्को शब्दमा भन्दा ‘थिएटर’ र रङ्गमञ्च आज नाटक प्रस्तुतिको पेवा शब्द भइसकेको छ । तर, कतिपयले रङ्गमञ्चलाई भौतिक संरचनाको रूपमा मात्रै हेर्दछन् । हुन त यो बाहिरी रूपमा हेर्दा भौतिक संरचना नै हो र यसमा एउटा भवनको संरचना, कुर्सी, मञ्च, प्रकाशका साधनहरू, ध्वनियन्त्रहरू, पर्दा, मञ्चका सामग्रीहरू हुन्छन् । तर, रङ्गमञ्च भौतिक रूपमात्रै होइन । यसको सूक्ष्म र भावनात्मक पक्ष पनि हुन्छ, जुन नाटककार, निर्देशक, कलाकारहरू, व्यवस्थापक, सङ्गीत संयोजक, प्रकाश संयोजक, रूपसज्जाकार, भेषभूषा विन्यासकर्तालगायत अन्य थुप्रै मानवीय सम्बन्धहरूको जालोबाट बनेको हुन्छ । यिनै भौतिक र भावनात्मक रूप अनि सम्बन्धहरूको संयोजनबाट एउटा परिवारको निर्माण हुन्छ ।
जुन परिवार देश, समाज, मानव सभ्यता, सौन्दर्यशास्त्र, युगचेतना, परिवर्तन, सकारात्मक दिशाबोधको संवाहक भएको हुन्छ । यो यस्तो परिवार हो, जसले सूक्ष्मरूपमा मानवीय संवेदनाको प्रस्तुति र सांस्कृतिक विनिर्माणको काम गर्दछ । त्यसैले रङ्गमञ्च एउटा महान् कार्य हो, जुन चेतना र प्रतिभाको दृष्टिले कठिन पनि छ । यस्तो काम गर्न नाटकघर÷रङ्गमञ्च हलको आवश्यकता हुनु स्वभाविक हो । किनकि नाटकघर÷रङ्गमञ्च हल यो रचनात्मक अनि युगबोधक परिवारको ओत लाग्ने ठाउँ या ‘भवन’ मात्रै होइन, भावनात्मक रूपमा सबैलाई एकीकृत गर्ने ‘घर’ हो ।
नाटकघर/रङ्गमञ्च हल नहुनु भनेको सुकुम्बासी अवस्थामा बाँच्नु हो । अझ भन्नुपर्दा परिवार विच्छिन्न भएको सडक बालबालिकाको अवस्था भोग्नु हो । नाटकघर÷रङ्गमञ्च हल नभएको अवस्थामा रङ्गकर्मीहरूको परिवारले स्वतन्त्ररूपमा काम गर्ने ‘स्पेस’ प्राप्त हुँदैन । त्यसो हुँदा अपेक्षाअनुरूप रचनात्मक काम गर्न सकिन्न । बानेश्वर हाइटमा स्थापित आरोहण गुरुकुल भत्किएपछि आज ‘हाइट’मा पुगिसकेको आरोहण गुरुकुलले आज जुन दुर्गति व्यहोर्नु परिरहेको छ, त्यसले पनि नाटकघर÷रङ्गमञ्च हलको आवश्यकतालाई पुष्टि गर्दछ । रङ्गकर्मीहरूको रचनात्मक परिवारलाई बाँधेर राख्ने भावनात्मक घर हो, नाटकघर/रङ्गमञ्च हल ! यसको अभावमा न रङ्गकर्ममा निरन्तरता कायम रहन सक्छ, न त रङ्गमञ्चमा नयाँ पुस्ता निर्माण गर्न सकिन्छ । नाटकघर/रङ्गमञ्च हलले पुस्तान्तरणको संस्कृतिलाई निरन्तरता दिने काम गर्दछ ।
निश्चित प्रदर्शनस्थलको रूपमा आधुनिक सुविधायुक्त नाटकघर/रङ्गमञ्च हल निर्माण हुनसकेमा नियमित नाटक मञ्चन गर्न सकिन्छ र नियमित नाटक मञ्चनले नाटक हेर्ने संस्कार वा परम्परा विकास हुन्छ । त्यसैले जसले जे भने तापनि नाटकघर÷रङ्गमञ्च हलको आवश्यकता सर्वोपरि छ, रङ्गकर्म, रङ्गमञ्च र नाट्यक्षेत्रको संरक्षण र विकासका लागि ! अतः केन्द्रीय राज्यका साथै देशमा स्थापित सङ्घीय व्यवस्थाको भावनाअनुसार प्रदेश तथा स्थानीय सरकारहरुले पनि रङ्गकर्म, रङ्गमञ्च र नाट्यक्षेत्रको संरक्षण र विकासका लागि नीतिगत रूपमै बृहत् योजना बनाउने दिशातर्फ आफ्नो सोच बनाउँदै पहलकदमी गर्न आवश्यक देखिन्छ ।
email : [email protected]
सम्पर्क : ९८४२०३९४५१