क्षयरोग वा टिबी सङ्क्रामक रोग हो । क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावासँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो जीवाणु सन् १८८२ मार्च २४ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् । क्षयरोग  माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस नामक कीटाणुबाट लाग्ने गर्दछ ।
 
हेर्दा सामान्य लागे पनि क्षयरोगको बेलैमा उपचार नभए ज्यानै जाने खतरा हुन्छ । नेपालमा वर्षेनी क्षयरोगका कारण धेरैको मृत्यु हुने गरेको छ । बालबालिका जन्मेको ४५ दिनभित्र बिसिजी खोप अनिवार्य लगाउनु पर्ने हुन्छ । 
 
नेपालको क्षयरोगको तथ्याङ्क झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसङ्ख्या क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मर्ने तथ्याङ्क पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । 
 
नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । 
 
क्षयरोगको सङ्क्रमणः 
क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि सङ्क्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिनादेखि एक वर्षसम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिनादेखि एक वर्षसम्मको समयलाई झ्याली समयको रूपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरूले उत्पादन गर्ने एक प्रकारको विषको कारणले शरीरका कोषहरूको क्षय हुनजान्छ । फलतः रोगका लक्षण देखिन थाल्छन् ।
 
क्षयरोगको  रोगका लक्षणः 
–लामो अवधिको खोकी, 
–खकारमा रगत देखापर्नु,
–साँझपख ज्वरो आउनु, 
–राति सुतेको बेलामा पसिना आउनु, 
–तौल घट्दै जानु, 
–अन्य अङ्गहरूको सङ्क्रमण तथा अन्य धेरै लक्षणहरू पनि देखापर्छन् ।
 
क्षयरोगको  रोगका  परीक्षण  के हो ?
फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रूमा खकार परीक्षण गर्नुपर्छ ।
 
त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोप्सी, कल्चर टेष्ट आदि परीक्षण गर्न सकिन्छ ।
 
क्षयरोगको  रोगका उपचार के हो ?
आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरू सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोः खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानु पर्दछ ।
 
प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।
 
(लेखकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उप–प्राध्यापक तथा बालरोग विशेषज्ञहुन् ।)