बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका ५ का श्यामकुमार प्रधान ६६ को दैनिकी बिशालु सर्पसँग खेलेर वित्ने गरेको छ । यिनी व्यवसायिक सपेरा होइनन् तर सजिलैसंग सर्प समाउँछन् । झोलामा हाल्छन् । घर ल्याएर खोरमा राख्छन् । केही दिन पालेपछि जंगलमा लगेर छोड्छन् । सर्प राख्नका लागि प्रधानले घरमा दुइवटा खोरसमेत बनाएका छन् ।
प्रधानको २० बर्ष यता सर्प समाउने घरमा पाल्ने र छाड्ने काम गदैं आएका छन् । गोमन, करेत, राजासापलगायत बिशालु सर्प समाएर नजिकैको दहिझोडा सामुदायिक बनमा छोड्न थालेको २० बर्ष भएको उनले बताए ।
एकसय २५ भन्दा धेरै बिशालु सर्प जंगलमा छोडे
यसबीचमा उनले लगभग एकसय २५ भन्दा धेरै बिशालु सर्प जंगलमा छोडेको सुनाए । अहिले पनि एउटा सेतो गोमन र एउटा सातफुट लामो धामन सर्प घरमा राखेका छन् । ति मध्ये एउटा त भर्खरै अर्जुनधारा नजिकैको एउटा घरबाट ल्याएको उनले बताए । कतै सर्प देखापरे तुरुन्त आफूलाई खबर गर्न आग्रह गर्दै उनले भने– ‘फोन आउने बित्तिकै म जति नै व्यस्त भए पनि गएर समाउने गरेको छु ।’ उनले सर्प नमार्न सबैसँग आग्रह पनि गरेका छन् ।
पर्याबरणीय सन्तुलनका लागि मार्नु सर्प हुदैंन
‘प्रकृतीले सबैको साझा पृथ्वी हामीलाई दिएको हो, हामीलाई असर पार्छ भन्दैमा किन मारिहाल्ने ?’ उनले भने– ‘सम्पुर्ण जनावारको बाँच्न पाउने हकको सबैले सम्मान गर्नुपर्छ, अर्काे कुरा पर्याबरणीय सन्तुलनको लागि बिशालु सर्पको भूमिका महत्वपुर्ण हुन्छ ।’
कालो गोमन धेरै आक्रामक
उनले बालीनालीमा पाइने हानीकारक किटाणु बिशालु सर्पले खाएर वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउने उनको भनाई छ । गोमन मध्ये पनि कालो गोमन धेरै आक्रामक हुने उनको अनुभव छ । ‘आक्रमक हुने भएकाले मान्छेले मार्ने भएका कारण पनि यो लोप हुदैछ, उनले भने– ‘२० वटा भन्दा बढी सेतो गोमन समातेपछि मात्र एउटा कालो गोमन फेला पर्छ ।’
सर्प समाउन राती १२ बजे पनि जाने
सकेसम्म थाहा भएको र खबर गरेको ठाँउमा सर्प फेला परे उनी गएर समाउने गरेका छन् । उनको घरदेखि १५ किलोमिटर टाढासम्म गएर सर्प समाएको अनुभव उनीसँग छ । भने– ‘यहाँदेखि सुरुङ्गासम्म गएर सर्प समाएर ल्याएको छु , कहिले काँही राती १२ बजे फोन आउछ म निन्द्रा पनि नभनी गएर समाउने गरेको छु ।’ अहिले त धेरैले उनलाई ‘सपेरा’ समेत भन्न थालेको उनी सुनाउछन् ।
सर्पलाई भ्यागुता आहारा
घरमा राखेका गोमन, धामनलाई भ्यागुता र राजासापलाई हरहरे (एक प्रजातीको सर्प) खानका लागि दिने गरेको उनले सुनाए । सर्प समाउनु र जंगलमा लगेर छोड्नु आफ्नो सोख भएको बताउदै उनले भने– ‘ मान्छेले लाखौं रुपैयाँमा कुकुर, खरायो किनेर पाल्छन् त्यो पनि त सोख नै हो, मैले सर्प समाएर उद्धार गरेको छु यो धर्म पनि त हो ।’ खोर बनाउन बाहेक सर्प समाएर कुनै आर्थिक व्याय भार व्यहोर्नु नपरेको उनले सुनाए । सर्प समाएर ल्याएको दिन उनलाई सबैभन्दा धेरै आनन्द आउने उनले बताए ।
प्रधानलाई देख्ने वितिकै सर्प लाटो
‘अपवाद बाहेक हरेक सपेराको मृत्यू सर्पले डसेकोे कारणबाट हुन्छ्’ उखान सुनाउदै उनलाई प्रश्न गरियो सर्पले तपाँइलाई टोक्दैन ? प्रश्न भुईमा खस्न नपाउदै उनले भने– ‘म २००९ सालको नागपञ्चमीको दिन जन्मेको, मलाई देख्ने बित्तिकै सर्प आँफै लाटो हुन्छ, म सँग डराउछ सर्प अनि लौरो (स्न्याक क्याचर) ले थिचेर घाँटीमा समाउछु ।’ प्रायः सर्पसँग खेल्ने गरेको भएपनि उनलाई अहिलेसम्म सर्पले डसेको छैन । उनले अहिलेसम्म आफूले देखेजति सर्प मार्न नदिएर झोलामा हालेर जंगलमा छोड्दै आएको बताए ।
घर परिवारका सदस्यले पटक–पटक यस्तो काम नगर्न आग्रह गरे । श्रीमती, दुई छोरा बुहारी र दुई नाती नातीनाका धनी प्रधानले उनीहरुको आग्रह अस्विकार मात्र गरेनन्, सर्प समाउने कामलाई जारी राखे । ‘कतिपटक त मैले नै फोन आउदा पनि उहाँलाई सुनाइन, श्रीमती मिराले भनिन्–‘मोबाइल नम्बर पत्ता लगाएर मान्छेले फोन गर्छन अनि कुदिहाल्नु हुन्छ ।’ उनले आफूलाई सर्पसँग धेरै डर लाग्ने गरेकाले पक्रेर घरमा नल्याउन आग्रह गर्दा समेत प्रधानले नमानेको बताइन् । भनिन्– ‘अब त मलाई पनि बानी लागि सक्यो तर सर्पको छेउमा भने जान सक्दिन ।’
डिस्कोभरी, एनिमल प्लानेट टिभी च्यानलबाट प्रभावित
केही समय अघि सर्प पक्रिन आवश्यक उपकरण (स्न्याक क्याचर) उनीसँग थिएन । बाँसको अखने (एक प्रकारको पराल सार्ने लौरो) को सहायताले प्रधानले सर्प समाउँदै आएका थिए । त्यो बेला अली जोखिम हुन्थ्यो । अमेरिका गएको समयमा उनले त्यो लौरो किनेर ल्याएका छन् ।
डिस्कोभरी, एनिमल प्लानेट जस्ता च्यानलमा सर्प समातेको देखपछि त झन् आफूलाई यसमै केन्द्रित हुन मन लागेको उनले बताए । वातावरणीय सन्तुलन जोगाउन आफू लागिपरेको बताउदै प्रधानले अहिलेसम्म यो अभियानमा कतैबाट सहयोग नपाएको बताए । उनले भने–‘सहयोग नपाए पनि यो अभियानलाई निरन्तरता दिन्छु ।’ उनले स्कुल पढ्दैदेखि आफ्नो सर्प समाउने सोख भएको बताए ।