दुई वर्षअघि एमफिलको थेसिस लेख्दै गर्दा तेह्रथुम जिल्लामा अवस्थित मुन्धुममा वर्णन गरिएका अथवा मुन्धुमले निर्दिष्ट गरेका केही मुन्धुमी ठाउँहरूमा घुम्ने र सामान्य अध्ययन गर्ने अवसर मिलेको थियो । लिम्बू संस्कृतिहरू र लिम्बू ज्ञानहरू किन पर्यावरणीय छन् भनेर मैले प्रमाणित गर्नु थियो, मेरो थेसिसमा । म त्यही सिलसिलामा मेन्छ्यायेम कोक्मा (डाँडा) पुगेको थिएँ । लिम्बू हुनुको नाताले पनि होला कि ! त्यहाँ पुग्दा मेरो लिम्बू मनोविज्ञान (चोत्लुङ) अग्लो भएको अनुभूति भएको थियो र मैले फेसबुकमार्फत् बडो अध्यात्मिक भएर सबै लिम्बू युवा तथा युवतीहरूलाई एकपटक मेन्छ्यायेम पुगेर मैले जस्तै अनुभूति गर्न अनुरोध पनि गरेको थिएँ ।
पोरोक्मी यम्फामी (लिम्बू तरुन) ले पक्लुङ (छेलो) हानेको मुन्धुम (कथा) मेन्छ्यायेम कोक्मासँग जोडिन्छ । वैज्ञानिक नापमा यो डाँडाभन्दा अग्ला डाँडाहरू अरु थुप्रै छन् । तर, यो डाँडामा टेकेर वरिपरि अवलोकन गर्दा साँच्चै नै सबैभन्दा अग्लो लाग्छ र आफू सबैभन्दा अग्लो बिन्दुमा उभिरहेको झैं लाग्छ । हिउँले ढाकिएका हिमालहरू पनि होचा लाग्छन् । सायद यही भएर होला, त्यो बेलाका लिम्बूहरूले यो डाँडालाई सबैभन्दा अग्लो शिर (चोत्लुङ) मानेका होलान् र मुन्धुममा चोत्लुङको रूपमा वर्णन गरियो होला । आखिर, मुन्धुम पनि लिम्बूहरूको शक्तिशाली मनोविज्ञान हो । मेन्छ्यायेम कोक्मालाई मैले एकदमै अध्यात्मिक तथा मुन्धुमवादी आँखाले हेर्न र महसुस गर्ने कोशिस गरेँ ।
सायद, त्यही भएर होला, किरात सत्यहाङ्मा धर्मावलम्बीहरूले नौतले मण्डप बनाउँदै गरेको देख्दा मलाई थुप्रै प्रश्नहरू र कौतुहलताहरूले घोचे । मैले मेरो थेसिसमा दाबी गरिरहेको थिएँ कि मुन्धुमका अनुयायीहरूले प्रकृतिको अतिक्रमण गर्र्दैनन् । प्रकृतिको पूजा गर्छन् । वन–जङ्गलमा गएर हल्ला–खल्ला गर्नुप¥यो भने पनि ताङ्भुङ्ना (वनदेवता) रिसाउँछन् भनेर डराउने लिम्बूहरूको अघोषित तथा परोक्ष बुझाइ अहिलेको युगमा कम महŒवको छैन । ताङ्भुङ्ना रिसाउँछन् भन्नु मानव दुनियाँले प्रकृतिको सधैँ सम्मान गर्नुपर्दछ भन्ने हो । प्रकृतिको आफ्नै प्रक्रियाहरू हुन्छन् । मान्छेले प्रकृतिको प्रकृयामा खैलाबैला मच्चाउनु हुन्न भन्ने बुझाइ हो । यही कुरालाई प्रमाणित गर्न हिँडेको मान्छे म, मण्डप बन्दै गरेको देखेपछि पोरोक्मी यम्फामीले पक्लुङ हानेको बेलाको मेन्छ्यायेम कोक्मा भन्दा बिल्कुल फरक कोक्मा अहिले बन्दै गएको हो कि भन्ने प्रश्नले हिर्काएको थियो, मेरो मथिङ्गल ।
लिम्बूहरूले अब मेन्छ्यायेम डाँडामा गएर पोरोक्मी यम्फामीको कानको जाली फुट्ने गरी डमरु र शङ्ख फुक्ने दिन आउन लागेछ र ताङ्भुङ्नासँग निहुँ खोज्ने दिन आएछ भनेर सोचेको थिएँ । म रिसर्चको विद्यार्थीलाई ऐजन सोच्नु स्वभाविक हो जस्तो लाग्छ । आज, दुई वर्षपछि पूरै सतहमा देखिने गरी मेन्छ्यायेम कोक्मा विवादमा फसेको छ ।
मेरो थेसिस कुनै बेला पुस्तकको रूपमा प्रकाशित होला । त्यो बेला एउटा बहस त ल्याउँछ नै तर अहिले यति चाहिँ लेख्दा उचित ठान्छु कि मुन्धुम यो सुन्दर प्रकृतिको वर्णन हो । मुन्धुमले मान्छेहरू (लिम्बूहरू) को प्रकृतिसँगको सम्बन्धको व्याख्या गर्दछ । लिम्बूहरू प्रकृतिवादी हुन्छन् । यसकारण उनीहरू पर्यावरणवादी पनि हुन् । पर्यावरणविद्हरूले विज्ञानबाट सिक्दछन्, तर लिम्बूहरूले मुन्धुमबाट सिक्दछन् । लिम्बूहरूले परोक्षरूपमा पर्यावरणको संरक्षण गरिरहेका हुन्छन् । यो मेरो थेसिसको तर्कना हो ।
किरात सत्यहाङ्माधर्म अथवा युमाधर्म अथवा कुनै पनि धर्मभन्दा मुन्धुम धेरै पुरानो हो । लामो वर्षहरू खर्चेर मुन्धुम बनेको हो । धेरै लामो समयको उत्तर–चढावहरूबाट थुप्रै जनाका दिमागहरूले मुन्धुमको रचना भएको हो । मुन्धुम लिम्बूहरूको जीवन पद्दति पनि हो । यति लामो समयको अन्तरालपश्चात् निर्मित मुन्धुमलाई बेचेर अथवा देखाएर धर्म बन्नु वा धर्मगुरु बन्नु त्यति असामान्य रहेनछ । बाइबललगायतका थुप्रै ग्रन्थका केही पक्षहरूलाई समेटेर कोरियाका सन म्युङ मुन धार्मिक नेता भएका छन् । उनको संस्था युनिभर्सल पिस फेडेरेशनले भर्खरै नेपालमा चर्चित कार्यक्रम सम्पन्न गरेको छ । त्यसकारण, मुन्धुमलाई ग्रन्थ मानेर धर्मगुरुहरू वा धर्महरू जन्मिन सक्ने रहेछन् । तर, मुन्धुम र लिम्बू (याक्थुङ जाति) कहिल्यै अलग हुन नसक्ने विषयहरू हुन् ।
लिम्बूका पुर्खाहरूले जीवन बाँच्दै जाँदा यहाँका प्रकृतिसँगको सम्बन्धबाट जे सिके र भोगे । अनि, त्यो बोलियो र लेखियो, जुन जीवनशैली बन्यो र बन्यो –मुन्धुम । लिम्बू तथा मुन्धुमवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि धर्मले वा धर्मगुरुले मुन्धुमलाई कसरी बुझिरहेका छन् र व्यवहारमा के गरिरहेका छन् । पक्षमा र विपक्षमा बोल्ने पहिलो अधिकार लिम्बूलाई जान्छ । मुन्धुमको संरक्षण गर्ने पहिलो कर्तव्य पनि लिम्बूको हो । मेन्छ्यायेम कोक्मामा देखिने गरी विवादको उठान भएको छ, यो यसैको एउटा उदाहरण हो । मुन्धुमसँग जोडिएका ठाउँहरूको संरक्षणको लागि र विषयमा यो छलफल अनि बहसको शुरुवात पनि हो ।
लिम्बू संस्कृति, लिम्बू बुझाइ र मुन्धुमको मर्मलाई विश्लेषण गर्ने हो भने मेन्छ्यायेम कोक्मालाई प्राकृतिक अवस्थामै छोड्दा अथवा रहन दिँदा यसको सुन्दरता बाँचिरहनेछ । मेन्छ्यायेम कोक्मा आफैमा केही होइन । यहाँ, यस्ता असरल्ल डाँडाहरु छन् । तर, किन यसको महŒव यति अग्लो छ ? किनभने यसको कथा मुन्धुमसँग जोडिएको छ । लिम्बूहरूको तरुन पुर्खा पोरोक्मी यम्फामीले पक्लुङ हानेको कथासँग मेन्छ्यायेम जोडिएको हुनाले यो डाँडा विशेष महŒवको भएको हो । जब यो डाँडामा मन्दिर बन्छ, मुन्धुमभित्रको एउटा मुन्धुम मर्छ । जब, मुन्धुम मर्छ, लिम्बूको मनोविज्ञान खस्किन्छ । पोरोक्मी यम्फामी र मेन्छ्यायेम कोक्माको मुन्धुम यहीँनेर समाप्त हुन्छ ।
कुन मन्दिर बन्ने हो, त्यो मन्दिरको साम्राज्यको शुरुवात हुन्छ । जसरी ताप्लेजोङमा जब पाथीभरा मन्दिर बन्यो, मुकुम्लुङ मुन्धुम कति नमीठो गरी अलपत्रमा प¥यो । मुकुम्लुङ, फक्ताङ्लुङ र चोमोलुङ यी तीनवटा लुङ (शिखर) हरूका वरिपरि लिम्बू सभ्यता, लिम्बू मुन्धुम र लिम्बू संस्कृतिको जन्म भएको हो । तर, हिन्दुधर्म र हिन्दु संस्कृतिको अतिक्रमणले यहाँ मुन्धुम सभ्यता झण्डै झण्डै विस्थापित भएको छ । मुन्धुमकै अनुयायी हुँ भन्नेहरूबाट पनि मुन्धुम लठेप्रो भएको हो कि जस्तो भएको छ । अब, मेन्छ्यायेमको विवादलाई टेक्दै मुन्धुमलाई केन्द्रमा राखेर योसँग जोडिएका ठाउँहरूलाई तार्किक व्याख्या गरेर संरक्षण गर्न लिम्बूहरू तयार हुनुपर्दछ । धर्मनिरपेक्ष मुलुकको सरकार तयार हुनुपर्दछ ।
त्यसकारण, मेन्छ्यायेमको सुन्दरता र महत्व जीवित जसरी रहन्छ, त्यसरी नै रहन दिनु पर्दछ । पर्यटन, विकास र धर्मको नाममा मुन्धुम जन्मेका ठाउँहरूमाथि धावा बोल्न दिनु हुन्न । कुनै पनि किसिमका भौतिक विकास र धर्महरूभन्दा मुन्धुम माथि छ । मुन्धुम लिम्बू जातिको मनोविज्ञान हो । जीवनपद्धति हो । संस्कृति हो । संस्कार हो । यसलाई धरासायी हुने गरी कसैले हस्तक्षेपकारी क्रियाकलाप गर्दछ भने रोक्ने पहिलो कर्तव्य लिम्बूहरूको हो । अनि, सरकारको पनि हो ।
सर्वोच्च अदालतले पनि मुन्धुम तथा लिम्बू जातिको पहिचान, संस्कृति तथा संस्कारसँग जोडिएका क्षेत्रहरूको संरक्षण गर्न सरकारलाई आदेश गरिसकेको छ । यो अवस्थामा यदि मेन्छ्यायेममा मन्दिर बने पनि वा भ्यू टावर बने पनि त्यो कानूनको अथवा सर्वोच्च अदालतको खिलापमा हुन्छ । लिम्बू तथा मुन्धुमको विरुद्धमा हुन्छ । यदि यसलाई मुन्धुममा व्याख्या भएअनुसार प्राकृतिक अवस्थामै रहन दिए, यो संरक्षित हुन्छ । मुन्धुमले कुनै पनि किसिमका मानवीय संरचनाहरू स्वीकार गर्दैन । मुन्धुमले माङ (देवता) प्रकृतिमा हुन्छ भन्छ । हिन्दु तथा हिन्दु प्रभावितहरूले माङ मानव संरचनाहरूमा हुन्छ भनेर विश्वास गर्छन् । त्यही भएर मन्दिर बनाइहाल्ने, घण्टी झुण्ड्याइहाल्ने, मूर्ति बनाइहाल्ने लगायतका मानविय क्रियाकलापहरु गरिहाल्छन् । जुन मुन्धुमवादको ठीक उल्टो हो ।
मुन्धुमलाई अनुसरण गर्नेहरूले मुन्धुमले निर्दिष्ट गरेका प्राकृतिक क्षेत्रहरूमा मानवीय संरचनाहरू बनाउँदै जाने हो भने मुन्धुमको आधार वा धरातल कमजोर भएर जान्छ । जब कि मुन्धुम वैज्ञानिक छ भनेर हामी आफैले भन्दै आएका छौं । किन वैज्ञानिक भन्यौं भने मुन्धुम हाम्रै आँखाले देखिरहेका प्रकृतिहरूमा जन्मेको सुन्दर ग्रन्थ हो । मुन्धुमले निर्दिष्ट गरेका प्राकृतिक क्षेत्रहरू मानवीय संरचनाहरूले जस्तै मन्दिर, भ्यू टावरहरूले निल्दै जाने हो भने मुन्धुम केवल बकम्फुसे कथा जस्तो बन्नेछ । जब मेन्छ्यायेममा मन्दिर बन्छ, मुन्धुममा भनेजस्तो मेन्छ्यायेम अब नहुने र नदेखिने भयो । त्यसपछि, केही वर्षपछि मन्दिर बन्नुअघिको मेन्छ्यायेम मुन्धुम र मन्दिर बनेपछिको मेन्छ्यायेम मुन्धुम भनेर मुन्धुमको पनि पुरानो करार र नयाँ करार हुने खतरा हुन्छ । यहाँनेर, एउटा प्रश्न उठ्छ, यसरी मन्दिरहरू निर्माण गर्दै जानाले मुन्धुम र मुन्धुम निर्दिष्ट क्षेत्रहरूलाई सुन्दर बनाइरहेका छौं कि कुरुप बनाइरहेका छौं ? सोच्नैपर्ने हुन्छ ।
मुन्धुमभन्दा ठूलो र वैज्ञानिक ग्रन्थ (शास्त्र) अरु केही छैन । किनभने मुन्धुमले यो प्रकृति वा पृथ्वीसँग कति होसियार सम्बन्ध राख्दछ । पाप वा महापाप गरे पृथ्वी ध्वस्त हुन्छ भन्नेहरूको यहाँ कमी छैन । तर, पृथ्वी वा प्रकृतिसँगको मानवीय सम्बन्धको बारेमा बोल्दैनन् । तर, मुन्धुम यति छर्लङ्ग छ कि प्रकृति नै माङ (देवता) को बासस्थान हो । प्रकृतिलाई प्राकृतिक रहन दिनुपर्दछ ।
प्रकृतिलाई मानव हस्तक्षेपबाट टाढा नै राख्नुपर्दछ । यसकारण, प्रकृतिको सुन्दरताप्रति मुन्धुम नितान्त चिन्तित छ । त्यसको मतलव लिम्बूहरू प्रकृति तथा पृथ्वीप्रति कति छर्लङ्ग उत्तरदायी छन् । यतिबेला प्रकृतिको दिन दिनैको दुरावस्थादेखि वातावरण वैज्ञानिकहरू कति चिन्तित छन् । प्रकृतिमाथि मानवीय अतिक्रमण वा हस्तक्षेपले पृथ्वीको आयु नजिक ल्याइरहेको छ । यो कुरा देख्नसक्ने मान्छेहरू रातदिन प्रकृतिको संरक्षणमा लागिपरिरहेका छन् । भर्खरै मृत्यु भएका बैज्ञानिक स्टेफन हकिन्सले पृथ्वीको आयु एकहजार वर्ष भनेका छन् ।
यसकारण, वातावरण, प्रकृति तथा पृथ्वी बचाउन खरबौं रुपैयाँ खर्च गरेर थुप्रै पहलकदमीहरू भैरहेका छन् । यसअर्थमा पनि, मुन्धुम कति अगाडि रहेछ । अनुमान गर्न सकिन्छ । विश्व शान्ति विश्व’ मानव उत्थानको लागि धर्म भन्नेहरूले मुन्धुम र प्रकृतिबीचको सम्बन्ध किन बुझ्दैनन् । प्रकृतिको दिनदिनैको दुरवस्थाको बारेमा किन बुझेर चिन्ता गर्दैनन् । धर्मको नाममा किन प्रकृतिमाथि हस्तक्षेपकारी तथा अतिक्रमणकारी क्रियाकलाप गर्न माहिर हुन्छन् ।
मुन्धुमका अनुयायीहरुले यो बिषयमा गम्भिर हुन अति जरुरी छ र कर्तव्य पनि हो । युके सरकारले इङ्ल्याण्डमा मात्रै दसहजार कर्मचारीहरु वातावरण संरक्षणको लागि भनेर नियुक्ती गरेको छ । मुन्धुमले लार्खौ लिम्बुहरुलाई प्रकृति संरक्षणको लागि हजार वर्ष पहिले नै गाइडलाईन गरेको छ भनेर तर्क गरिरहदा अन्यथा नहोला । हजार वर्ष पहिले नै मुन्धुमलाई थाहा थियो, अहिले वातावरणमा जुन किसिमको आपत्ति आएको छ । त्यसैले, मुन्धुम वैज्ञानिक छ भनेर हामीले भन्दै आएका हौं ।
अन्त्यमा, कुनै पनि धर्मले मुन्धुमको मर्म नष्ट हुनेगरी मानवीय संरचनाको निर्माण गर्न मिल्दैन । मुन्धुमको धरातल खप्टिने गरी थुप्रै मन्दिर र संरचनाहरू निर्माण भएका छन् । भोलि उत्खनन् गर्दै जाँदा ती संरचनाहरू भत्काउनुपर्ने पनि हुनसक्छ । त्यसैले, अहिले नै कसैले वा कुनै समूहले आफ्नो विचार वा धर्मसिद्धान्तअनुसार संरचना गर्नु छ भने लिम्बूको मुन्धुममा कुनै प्रकारले असर नपर्ने गरी बनाउँदा बाटो खुल्ला छ । किनभने हाम्रो समाज बडो लोकतान्त्रिक छ । देशको कानूनले पनि धर्म–कर्म गर्न ढोका खुल्ला राखिदिएको छ । तर, कसैको आस्था तथा विश्वासमाथि हस्तक्षेप हुने गरी कसैले मानवीय क्रियाकलाप गर्न मिल्दैन । यो संसारले बुझ्ने कुरा हो । यदि, सुझबुझका साथ कदमहरू नउठाउने हो भने द्वन्द्व अथवा हिंसाले प्रश्रय पाउँछ । सबैले बुझ्न जरुरी छ ।