देशमा राजनीतिक स्थिरता कायम भई लगानीको राम्रो वातावरण नेपालमा भएको सन्देश दिन सरकारले यही चैत्र महिनामा लगानी सम्मेलनको तयारी गरिरहेको छ । नेपालमा द्वन्द्व छैन, लगानीको वातावरण बनेको देखाउन लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा माओवादी सशस्त्र विद्रोहकै शैलीमा देशभर भौतिक पूर्वाधारमाथि आक्रमण भएको छ । दूरसञ्चार सेवा प्रदायक निजी क्षेत्रको बहुराष्ट्रिय कम्पनी एनसेलका टावरहरूमा एकै दिन बम विष्फोट र आगजनीका घटना हुनु शुभसङ्केत मानिदैन ।
ललितपुरमा एनसेलको टावरमा लक्षित गरिएको बम विष्फोटमा परेर एक जनाको ज्यान गयो । गोरखा, बाग्लुङ, रौतहट, कास्की, काभ्रे, रूपन्देही, नवलपरासी, कञ्चनपुर, म्याग्दी र अछामलगायत जिल्लामा एनसेलका टावरहरूमा आगजनी गरियो । घटनाको जिम्मेवारी लिँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेताले सर्वसाधारणको मृत्यु भएकोमा क्षमा माग्दै घटनाको जिम्मा लिएको विषयमा आइतबार बीबीसीलाई अन्तर्वार्ता दिँदै सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेका छन् ।
घटनास्थलमा भेटिएको पर्चामा एनसेलले कर नतिरेकाले साङ्केतिक कारबाही गरिएको र यसलाई अटेर गरे अझ कडा कारबाही गर्ने धम्की दिइएको जानकारी प्रहरीले दिएको छ । यसअघि देशभर माओवादीको विप्लव समूहले चन्दा आतङ्क मच्चाएको समाचार आएको थियो । एनसेलमा आक्रमण समाजलाई आतङ्कित बनाउन र चन्दाका लागि बार्गेनिङका लागि गरिएको भन्ने पनि चर्चा भइरहेको छ । विप्लव समूहको नियत जे भए पनि बम विष्फोट र आगजनीबाट जनधनको क्षति भएको छ । यसलाई राज्यले गम्भीर रूपमा लिनु पर्दछ ।
राजधानीजस्तो सुरक्षित स्थानमा दिनदहाडै आतङ्कारी घटना हुनुले राजधानीका नागरिक नै असुरक्षित भएको सङ्केत गरेको छ । सरकार सुरक्षा प्रबन्धमा कमजोर छ भन्ने प्रमाण पनि यो घटना हो । राज्यले विभिन्न गुप्तचर संयन्त्र पनि राखेको छ । ती संयन्त्रको हावादारी ब्रिफिङ र असावधानीले घटना घटेको छ । यसलाई सरकारले गम्भीरतापूर्णक लिनु पर्दछ । दशकभन्दा बढीको समय नेपालीहरूले आतङ्कको पीडा भोगिसकेका छन् ।

आतङ्ककारी घटना हुँदै गर्दा नेपालीहरूको मानसपटलमा दोरम्बा, बाँदरमुढे, खारा, कोटवाडा, काजोल खातुन, मैना सुनुवार, मुक्ति अधिकारी, कृष्ण सेन आदि कयौं घटना र नाम सम्झनामा आउने गर्दछन् । तीन दिनअघि भएको घटनाले नेपाल आतङ्कमुक्त भइसकेको छैन भन्ने सङ्केत गरेको छ । बेलाबखत सशस्त्र विद्रोहको धम्की दिने सङ्गठनहरू क्रियाशील नै भएको सङ्केत पनि यो घटनाले गरेको छ । अब यस्ता समूहहरूसँग वार्ता र विश्वासको वातावरण बनाएर शान्तिपूर्ण राजनीतिमा आउने आधारहरू तय गर्नु पर्दछ । राज्य र जनताको विरुद्धमा अबाञ्छित गतिविधि गर्ने समूहलाई राज्यले नियन्त्रणमा पनि लिन सक्नु पर्दछ ।