कास्कीको साविक भरतपोखरी गाउँ पञ्चायतमा २०२६ सालमा जन्मिएका रविन्द्र अधिकारी छोटो समयमै राजनीतिमा छाएका थिए । पहिलो संविधानसभाको चुनावमा कास्की–३ बाट निर्वाचित बनेका उनले गतवर्षको प्रतिनिधिसभाको चुनाव जित्दै ह्याट्रिक पूरा गरेका थिए ।
उनले २०७४ चैत २ गतेबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको एक वर्ष नबित्दै तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको सम्भाव्यता अध्ययनका लागि बुधबार प्रदेश १ मा प्रस्थान गरेका थिए । उनीसहित ७ जनाको टोली चुहानडाँडा आइपुगेको थियो ।
२०६४, २०७० र २०७४ को चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका उनी पछिल्लो समय वाइडबडी विमान प्रकरणमा जोडिएका थिए । तर, उनले त्यो वाइडबडी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट्याएका थिए । दोस्रो संविधानसभाको चुनावपछि नै नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य बनेका उनी पहिलो संविधानसभाको चुनाव जितेपछि संसद् विकास समितिको सभापतिसमेत बनेका थिए ।
उम्दा राजनीतिज्ञका रूपमा छवि बनाएका उनले २०७४ को सङ्घको चुनावमा नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई पराजित गर्दै चुनाव जितेका थिए । उनले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए ।
पहिलो संविधानसभाको चुनावमा १३ हजार ३ सय ८६ मत प्राप्त गरेका उनले दोस्रो संविधानसभाको चुनावमा १५ हजार ४ सय ५६ मत प्राप्त गर्दै विजयी बनेका थिए । विकास अभियन्ताका रूपमा चिनिएका उनी छोटो समयमै जनतामाझ लोकप्रिय बनेका थिए । संसद् विकास समितिको सभापति हुँदाताका नै उनले आफ्नो ‘भिजन’ लाई जनतासामु प्रस्तुत गरेका थिए ।
गाउँकै शान्ति उदय माविबाट २०४१ सालमा एसएलसी उत्तीर्ण गरेका उनी पृथ्वीनारायण क्याम्पस पोखरामा आइए पढ्ने क्रममा विद्यार्थी राजनीतिमा सक्रिय बनेका थिए । सोही साल स्ववियु सदस्य निर्वाचित बनेका उनी अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष पनि बनेका थिए । उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पसमा स्ववियु अध्यक्ष र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
२०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्दै उनी पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । मन्त्री अधिकारीको श्रीमती विद्या भट्टराई अधिकारीसहित दुई छोरा विराज र स्वराज छन् । उनको ‘समृद्ध नेपाल’ र ‘संविधानसभा, लोकतन्त्र र पुनर्संरचना’ भन्ने दुई पुस्तक प्रकाशित छन् ।