धरान/ सीमसारहरूमा बढ्दो मानव अतिक्रमण र प्रदूषणका कारण जैविक विविधता सङ्कटमा पर्न थालेको छ । विशेषगरी सीमसारमा रमाउने पंक्षी, उभयचर, जलचर हराउन थालेका छन् ।
सीमसार क्षेत्रहरूमा वनभोज स्थल, पर्यटकीय स्थल बनाइने गरेका कारण त्यसबाट फैलिने प्रदूषणले जैविक विविधता सङ्कटमा पर्न थालेको हो । तर, नेपाल सरकारले सन् २०१४ मा राष्ट्रिय सीमसार नीति २०६९ जारी गरेको थियो । उक्त नीतिमा सीमसार क्षेत्रको पानी संरक्षण, वनस्पति, माछा, उभयचर, अन्य जनावरको बासस्थानलगायतका महत्वपूर्ण कार्य गर्ने प्रतिबद्धता जनाएको छ । तर, व्यवहारमा भने लागू हुन नसक्दा जैविक विविधता नष्ट हुने खतरा बढेको विज्ञहरू बताउँछन् । मावनीय अतिक्रमणका कारण सीमसारहरूमा देखिने आगन्तुक तथा पाहुना चराहरू मात्रै नभई स्थानीय चराहरू पनि लोप हुन थालेको विज्ञहरूको ठहर छ ।
मोरङको प्रख्यात वेतना सीमसारमा पछिल्लो समय मानव कोलाहलका कारण आगन्तुक चराहरू वर्षेनी घट्दो रहेको तथ्याङ्कले देखाएको छ । वार्षिक रूपमा चरा गणनाका लागि आउने टोलीले यस्तो तथ्य सार्वजनिक गरेको हो । सन् २०१७ मा ११ प्रजातिका ५ सय ८ वटा चरा वेतना सीमसारमा देखिएका थिए । तर, त्यो सन् २०१८ मा घटेर ८ प्रजातिका १ सय ३४ वटा चरामात्रै देखिएका थिए । ‘बेतना सीमसारमा वर्षेनी चरा घटिरहेका छन्’ –पंक्षीविद् सङ्घका पूर्वाञ्चल संयोजक एवम् चारसम्बन्धी अध्ययन गर्ने बद्री चौधरीले फोनसम्पर्कमा भने । कोलाहल तथा विभिन्न कारणले गर्दा त्यो समस्या आइरहेको उनको अनुभव छ ।
ह
रेक वर्ष जनवरी ६ तारिखदेखि देशभर चरा गणना शुरु गरिन्छ । त्यस क्रममा पूर्वको कोशीटप्पु वन्यजन्तु आरक्ष, बर्जु गाउँपालिकाको बर्जु ताल, इटहरी उपमहानगरको तरहरा, मोरङको बेलबारीस्थित बेतना सीमसार र मोरङ उर्लाबारीमा गणना गर्ने गरिएको छ । जैविक विविधताका लागि पंक्षीहरू पनि महत्वपूर्ण पाटोका रूपमा रहेको विज्ञहरू बताउँछन् ।
उभयचर, जलचरहरूको सङ्ख्या गणना नहुने भएकाले पनि त्यसको परिमाण घटिरहेको छ कि बढिरहेको छ भन्ने यकिन तथ्याङ्क भन्न सकिने अवस्था नरहेको उनीहरू बताउँछन् । तर, बढ्दो मानव दोहन तथा प्रदूषणका कारण घट्दो क्रममा रहेको विज्ञ हेमसागर बराल बताउँछन् । उनी भन्छन्, ‘पर्यटकीय कुरा गर्दा जैविक विविधतालाई भुल्छौं । सीमसारको सौन्दर्यीकरण गर्छौं । त्यसले ओभरअल जैविक विविधता नष्ट हुन्छ ।’
उनले यसको गतिलो उदाहरण काठमाडौंको बागमती खोलाको दिए । उनले भने, ‘प्रदूषणका कारण बागमती खोलामा काइरोनोमिक ब्याक्टेरिया मात्रै पाइन्छन् । जलचर, उभयचर भन्ने जीवहरू त नामोनिशान नै छैन ।’ मानवीय अतिक्रमणका कारण सीमसारमा पाइने ‘जुन बकुल्ला, भुँडीफोर’ प्रजातिका चराहरू अहिले स्थानान्तरण भइरहेका छन् ।
त्यसो त सीमसारको महŒवको बारेमा विश्यव्यापी सचेतना जगाउनका लागि प्रत्येक वर्षको फेब्रुअरी २ मा ‘विश्व सीमसार दिवस’ मनाउने गरिन्छ । तर, सीमसारहरूमा वनभोज स्थल र पर्यटकीय स्थलसँगै डुङ्गा सयरलगायतका मानवीय गतिविधि गर्ने होडबाजी नै चलेको छ । जसले गर्दा जैविक विविधतालाई चटक्कै भुलिदिने प्रवृत्ति बढ्दो रहेको विज्ञ बराल बताउँछन् ।
नेपाल सरकारले सन् १९८८ मा ‘रामसार महासन्धि’ लाई अनुमोदन गरेको थियो । विश्वका सीमसार संरक्षण गर्नेसम्बन्धी इरानको रामसार भन्ने स्थानमा सन् १९७१ म सम्पन्न विश्व सम्मेलनबाट ‘रामसार महासन्धि’ पारित भएको थियो । त्यही महासन्धिलाई नेपालले अनुमोदन गरेको हो । यस महासन्धिमा एक सय ६९ वटा पक्ष राष्ट्रहरू छन् ।
त्यसमा जम्मा २ हजार २ सय ९३ वटा सीमसार सूचीकृत छन् । नेपालमा कुल जमिनको करिब ५ प्रतिशत क्षेत्र सीमसारले ढाकेको छ । नेपालमा १० वटा महŒवका ताल, पोखर र सीमसार क्षेत्र हालसम्म रामसार सूचीमा सूचीकृत छ । त्यसमध्ये प्रदेश १ को सोलुखुम्बुस्थित गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोशीटप्पु रहेका छन् ।
यी बाहेक पनि प्रदेश १ मा थुप्रै स–साना सीमसार तथा तालहरू रहेका छन् । जसको संरक्षणमा स्थानीयले चासो देखाउन थालेका त छन् तर जैविक विविधता संरक्षणमा भने ध्यान दिएका छैनन् । ‘जीवजन्तु, माछा, भ्यागुतालाई सबैभन्दा बढी असर गरेको छ’ विज्ञ बराल बताउँछन्, ‘यसले बायो डाइभरसिटी पनि बढाइरहेको छ ।’ उनका अनुसार अहिलेदेखि नै स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारले यसबारेमा नसोच्ने हो भने भविष्यमा ठूलै मूल्य चुकाउनु पर्छ । यसमा स्थानीयबासीको पनि उत्तिकै जिम्मेवारी रहन्छ ।