सृजनाको पनि पार्क वन्ने कुरा साँच्चै खुशीको कुरा हो । सृजनाले महत्व पाउने ठाउँमा हाम्रा गाउँबस्ती पनि अग्रसर हुनुले अब आउने पुस्तालाई सृजनशीलताको बाटोमा डोर्याउन महत्वपूर्ण मद्दत पुग्ने कुरा सम्झिँदै ‘सृजना पार्क’ पुगेंँ । जहाँ जङ्गलभित्र मूर्ति नै मूर्ति छन् । त्यसमा पनि मूर्त र अर्धअमूर्तशैलीका मूर्तिहरूले पूर्वमा फरकपन प्रस्तुत गर्यो । सृजना मन पराउनेहरूलाई त मन गद्गद् बनाएको छ भने सृजनासँग बेखबरहरूसमेत यसप्रति आकर्षित देखिए । अर्थात् सबैलाई सृजनाको मर्म बुझाउन प्रयत्नशील छ मोरङको बेलबारी–१० स्थित भाउन्नेमा निर्माण थालिएको ‘सृजना पार्क’ ।
भाउन्ने चोकदेखि पूर्व, पूर्व–पश्चिम मुख्यसडकसँग दक्षिणतर्फ जोडिएको जङ्गल क्षेत्रमा नेपालसहित ६ देशका ३६ जना कलाकारले १५ दिनमा ५० वटा ढुङ्गा कुँदेर अमर सृजना तयार गरे । भारत, बङ्गलादेश, जर्मनी, जापान र इटलीका मूर्तिकारले समेत नेपालसँग कलामा साइनो जोड्दै ढुङ्गालाई अमिट आकारमा परिणत गरिदिए ।
एउटी महिला फेसबुकको लतमा छिन् । जसले गर्दा उनको आधा अनुहार मृतात्मासरह भएको छ । फेसबुकको एकोहोरो लतले मानिसलाई कसरी खतराको दल–दलमा फसाउँदो रहेछ भन्ने कुरा ढुङ्गे मूर्तिले कलात्मक हिसाबले प्रष्ट्यायो । झापाका धनबहादुर याक्खाको यो सृजना नजिकै छ विश्वको मानवीय प्रतिस्पर्धाको ३ जनाको आकृति । यस्ता गहन सन्देशमूलक आकृतिहरू सृजना गर्ने कामको अगुवाइ भाउन्नेकै मूर्तिकार धनु याक्खाले गरे ।
उनीसहित नेपालका नाम चलेका मूर्तिकारहरू, लालकाजी लामा, राजन काफ्ले, गङ्गाधर सारु, लक्ष्मण भुजेल, राजु पिठाकोटे, सुदर्शनविक्रम राणा, सुनिता राणा, हिम्मतबहादुर लिम्बू, विजय श्रेष्ठ, नरबहादुर विश्वकर्मा, बुद्ध थारु, हरिराम अधिकारी, दिनेश्वर महतो, बाबुलाल वाइबा, विशाल सारु मगर, भक्त राई, टमबहादुर पुन, मानबहादुर बल, कुवीर देवान, इन्दिरा श्रेष्ठ, शशीकिरण पौडेल, चतुरलाल राजवंशी, निराजन मानन्धर, चन्द्र लिङ्खा, मिमबहादुर रानामगरले मूर्ति बनाए । साथमा थिए जर्मनीका पिटर हार्गेट, जापानका नोरियो ताकावका, भारतका अनुपकुमार गुप्ता, इटलीको माकी नाकामुरा र बङ्गलादेशका अजितकान्ती दास । अनि उनीहरूको सहयोगी मूर्तिकारका रूपमा कृष्णकुमार याक्खा, रञ्जित थापा, पूजन खतिवडा, अमन ठाकुर र जितमान चेम्जोङ सामेल भए ।
कसैले ठाडो जङ्गलै भएको जमिन आफ्नो नाममा दर्ता गराएको अवस्थालाई कानूनी रूपमा परास्त गरेर सृजना सामुदायिक वन उपभोक्ता समूहले जङ्गल संरक्षणसँगै कलासंरक्षणको काम थाल्यो । सृजना पार्कमा ढुङ्गेमूर्ति खडा गर्ने अवधारणा स्थानीय मूर्तिकार धनुले ल्याएपछि यसमा द रिभर ग्रुप अफ कम्पनीका रघु पुरीले हौसला मात्रै होइन, १५ लाख रुपैयाँ सहयोग थमाएपछि काम अघि बढ्यो ।
यसखाले सृजनात्मक अभियानको रौनकता अवलोकन गर्न पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षमध्येका पुष्पकमल दहाल प्रचण्ड, सोही क्षेत्रमा पर्ने मोरङ ३ बाट निर्वाचित कानून, न्याय तथा सङ्घीय मामिला मन्त्री भानुभक्त ढकाल आइपुगे । उनीहरूले सहयोगको वचन दिए । भानुभक्तले त आफ्नो क्षेत्रको सृजनशील काममा सहयोग नगर्ने भन्ने कुरै भएन । उनले यस पार्कको व्यवस्थापन र निरन्तरताको कुरामा जोड दिए । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश गृहमन्त्री हिक्मत कार्की, प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेसका नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइरालासहितका राजनीतिक तथा सामाजिक अगुवाहरू अवलोकनका क्रममा सृजना अभियानबाट प्रभावित बने ।
बेलबारी नगरपालिकाले सो क्षेत्रलाई विभिन्न तवरले सजिसजाउ र आकर्षक पार्क बनाउने विस्तृत परियोजना डीपीआर तयार गर्र्दैछ । जहाँ बाल र वृद्धको पार्क अनि जरासहितका विभिन्न कलाकृति यसभित्र सजिनेछन् । घना जङ्गलकै ठूला–ठूला रुखका बीचमा छ पार्क । जहाँ स–साना पोथ्रालाई हटाएर पार्क निर्माण अघि बढेको छ । रुख खासै नभएको क्षेत्रतिर पार्क बनाउन पाएको भए अझ राम्रो हुने तर्क पनि त्यहाँ पुग्नेले पेश गर्ने गरेका छन् । रुखको मुनी हुने पार्कले नयाँ उम्रिने रुखलाई स्थान नदिने अनि बूढा रुखका हाँगाबिँगा झरेर अवलोकनकर्तालाई लाग्ने तर्क पनि असान्दर्भिक छैन । तथापि अरुले हडप्न लागेको क्षेत्रमा सृजनाको विकास र प्रवद्र्धनका लागि थालिएको यो काम ज्यादै उत्तममा पर्छ ।
प्रदेश नम्बर १ को मात्र नभएर नेपालकै महत्वपूर्ण सृजनास्थल बनाउने यो अभियानले बाटो, पुल मात्र बनाउनु विकास हो भन्ने मान्यतालाई चिर्नेछ । अनि सृजनाको गहनतम् पक्षलाई बुझेर सृजना सम्मानका लागि सृजना पार्क महत्वपूर्ण बन्न सक्छ ।
यो पार्कमा निर्माण भएका मूर्तिहरूको हस्तान्तरण कार्यक्रम हेर्न पुगेका पथरीशनिश्चरेका शिक्षक अर्जुनकुमार बुढाथोकीले आफ्नो नगरमा पनि पञ्चायत मावि, एभरेष्ट आर्ट फ्युजनले नगरपालिकासँगको सहकार्यमा कला सृजनाको सम्मिश्रित ‘फ्युजन पार्क’ बनाउने प्रसङ्ग सम्झिए । फ्युजनले २ वर्षअघि नगरको ऐतिहासिक चिनारी झल्काउने सहितको कलात्मक सजिसजावटबाट बहुउपयोगी पार्क बनाउने अवधारणासहित नगरपालिकामा प्रस्ताव पेश गरेको थियो ।
पथरीको रत्नपार्कभन्दा पश्चिम र पथरी क्याम्पसभन्दा पूर्वपट्टि पञ्चायत माविले संरक्षण गरेको जग्गाको बीचमा मुटु आकारको पोखरी, कलम आकारको टावर, वृद्ध, बालउद्यान, खाली क्षेत्र, बहुउपयोगी हलसहितका संरचना समेट्ने योजना हो । सृजना पार्कसहितका पार्कहरूको निर्माणले सृजना क्षेत्रको महŒवलाई उजागर गर्ने भएकाले सृजनशील मनहरूले अन्त पनि यसखाले काम थाल्न आवश्यक छ । जसले पर्यटन प्रवद्र्धनमा पनि गतिलो गरी सघाउने अनि सृजना क्षेत्रको सम्मानलाई उचाल्नेछ ।