दमक/ अहिलेको समय निकै व्यस्त छ । एउटै घरका हरेक सदस्य कुनै न कुनै रोजगार वा व्यवसायमा लागेका छन् । जसले गर्दा अहिले दिनको समयमा प्रायः बस्नका लागि बनाइएका घरहरू खाली हुन्छन् । 
 
समयले यति व्यस्त बनाइदिएको छ कि उमेरले ६० पुगेका वृद्धवृद्धा  बाबुआमासँग समय बिताउने फुर्सद छैन । यसरी छोराछोरीको व्यस्ततालाई बुझेर झापाको अर्जुनधारा नगरपालिकाका केही ज्येष्ठ नागरिकले आफ्नो समय बिताउने चौतारी आफै बनाएका छन् । छोराछोरी कामबाट घर नफर्केसम्म दिनभरि त्यही चौतारीमा बसेर समय बिताउने गरेका छन् ।
 
झापाको उत्तरी नगर हो अर्जुनधारा नगरपालिका । यो ऐतिहासिक र धार्मिक नगर पनि हो । यही नगरको मुख्य चोकमा एउटा आकर्षक देखिने चौतारी बनाइएको छ । चौतारीको नाम पनि ज्येष्ठ   चौतारी राखिएको छ । यही चौतारीमा आएर उमेरले ७० काटेका नरेन्द्र तिम्सिना दिनभरि अल्मलिन्छन् । उनको घरमा दिउँसो कोही बस्दैन । सबैजना आ–आफ्नो काममा जाने भएकोले आफूलाई एक्लै घरमा बस्न पट्यार लाग्दा चौतारीमा आएर समय काट्ने गरेको उनी बताउँछन् ।
 
यहाँ बनाइएको चौतारीको परिकल्पनाकार समेत रहेका तिम्सिना केही वर्षअघि भारतको सिक्किम गएका बेला त्यहाँको चोकमा बनाएको पार्क देखेर फर्केका थिए । त्यहाँ बनाइएको पार्कमा विश्राम गर्ने चौतारीजस्तै रुखको फेदमा बनाइएको थियो । उनले पनि आफ्नो ठाउँमा रुखको छहारीसहितको चोक रहेको र त्यही चौतारी बनाउने सोच आएका कारण अहिले अर्जुनधाराको चोकैमा ज्येष्ठ चौतारीको निर्माण सम्भव भएको हो । 
 
त्यसपछि यो चौतारी निर्माणका बारेमा तिम्सिनाले गाउँका अन्य आफ्नै उमेर समूहका साथीहरूस“ग सल्लाह गरे । सबै ज्येष्ठहरूको सल्लाहपछि अर्जुनधारा चोकैमा रहेको एउटा रुखको छहारीमा चौतारी बनाउने निर्णय गरियो । तर त्यो निर्णयलाई कार्यान्वयन गराउन त्यति सहज थिएन । किनकी त्यो जमिन नगरपालिकाको स्वामित्वमा रहेको थियो । नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा चौतारी भन्ने बित्तिकै बनाउन पाइँदैनथ्यो । त्यसपछि नगरपालिकासँग ज्येष्ठ चौतारी निर्माण गर्नका लागि ठाउँको माग गरिएको गणेशप्रसाद बस्नेत बताउँछन् ।
 
अन्य ठाउँभन्दा पनि चोकैमा रहेको रुखको फेदमा आफूहरूले चौतारी बनाउने प्रस्ताव लिएर जाँदा पहिला–पहिला नगरपालिकाले जमिन उपलब्ध गराउन आनाकानी गरेको बस्नेत बताउँछन् । पटक–पटकको अनुनय विनयपछि नगरपालिकाले चोकको खुल्ला ठाउँमा चौतारी निर्माण गर्न अनुमति दिएपछि चौतारी निर्माण कार्यले  निरन्तरता पाएको बस्नेतले बताए । त्यसपछि स्थानीय ज्येष्ठ नागरिकहरू आफै सक्रिय बने । आवश्यक खर्चका लागि केही आफैबाट सङ्कलन गरे भने नपुग रकम अन्य विभिन्न दातासँग माग गरेर अहिले आकर्षक चौतारी निर्माण भएको छ । 
 
इतिहास बुझ्ने स्थान बन्दै चौतारी
ज्येष्ठ नागरिक देशका सम्पत्ति हुन् र इतिहास पनि हुन् । उनीहरूले गरेका हरेक कुराहरू अहिलेको पिँढीका लागि नयाँ पाठ नै हुने गरेको छ । त्यसैले यस चौतारीमा ज्येष्ठ नागरिक मात्र होइन, । युवा पिँढीसमेत भेला हुन्छन् । चौतारीको छेउछाउमा पसल गर्ने हुन् वा नजिकै घर भएका अथवा अर्जुनधारा आएका कोही पाहुना नै किन नहुन्, यस चौतारीमा आएर ज्येष्ठहरूले गरेका गफ र तत्कालीन समयका विभिन्न घटनाक्रम सुनाउँदा आफूहरूले सहजै रूपमा इतिहास बुझ्ने गरेको ज्येष्ठ चौतारीमै भेटिएका ३१ वर्षीय कृष्ण चापागाईंले बताए । 
 
यो चौतारीमा भेला भएका ज्येष्ठ नागरिकहरूले समय–समयमा विभिन्न कार्यक्रमसमेत गर्ने गरेका छन् । भजन–कीर्तन साहित्यिक वाचन तथा अन्य विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम गरेर यहाँका ज्येष्ठ नागरिकले आफ्नो फुर्सदको समय व्यतित गरिरहेका छन् ।