धरान / प्राविधिक शिक्षामा अग्रणी धरानको सुनसरी टेक्निकल कलेजले व्यवस्थापन सङ्कायतर्फको प्राविधिक विषय पनि पढाउन थालेको छ ।
कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक सत्र २०७५/०७६ बाट ब्याचलर अफ होटल मेनेजमेन्ट (बीएचएम) र ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्ट (बीआइएम) विषय पढाउन थालेको हो । यसअघि प्राविधिकतर्फको इञ्जिनियरिङ र मेडिकल क्षेत्रको विषयहरू अध्यायन गराउँदै आएको थियो । बीएचएम र बीआइएममा ६६ वटा कोटा छ । यसै शैक्षिक सत्रबाट बीएचएम र बीआइएम शुरु हुने कलेजका सञ्चालक अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर लेखिराज सुब्बाले शनिबारको पत्रकार सम्मेलनमा बताए ।
पछिल्लो समय बीएचएम र बीआइएमतर्फ बढ्दो आर्कषणलाई मध्यनजर गर्दै व्यवस्थापनतर्फको प्राविधिक विषय अध्यापन गराउन शुरु गरिएको अध्यक्ष सुब्बाले बताए । ‘हामीले व्यवस्थापन सङ्कायको प्राविधिक विषयतर्फ पनि यो वर्षदेखि हात हालेका छौं’–उनले भने । बीएचएम पर्यटनसँग पनि सम्बन्धित विषय हो । गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले धरान–११ मा छुट्टै भवनमा कलेज सञ्चालन ल्याएको हो । करिब ५ करोडको लागतमा निर्मित भवनमा अभ्याससहित होटल मेनेजमेन्टमा चाहिने पूर्वाधारहरू निर्माण गरिएको छ ।
होटल मेनेजमेन्ट र बैङ्किङको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शुरु गरिएको क्याम्पसका प्रिन्सिपल अमितकुमार गुप्ताले बताए । यी दुई क्षेत्रमा अहिले अत्यधिक जनशक्ति माग बढ्दो छ । बीएचएम गर्ने विद्यार्थीहरूको हकमा भने इन्र्टनसीप माल्दिभ्स तथा अरब देशहरूमा गराइने तयारी भइरहेको बीएचएमका कन्सल्टेन्ट अमित राजले बताए । उनले बीएचएम गरेका विद्यार्थीहरूलाई रोजगारीको सुनिश्चितता पनि तुरुन्तै गर्ने व्यवस्था पनि गरिरहेको बताए ।
युवा शक्तिलाई बढीभन्दा बढी नेपालमै रोजगारको अवसर सिर्जना गर्नु पनि यो विषयको उद्देश्य रहेको छ । यो शिक्षाका लागि गरिब, बिपन्न तथा जेहेन्दार विद्यार्थीहरूको हकमा सरकारले प्रदान गरेको छात्रवृति प्रदान गरिने कलेजका प्रशासन प्रमुख दधिराम आचार्यले बताए । धरानकै गरिब तथा विपन्नको हकमा भने स्थानीय सरकार र कलेजबीच ‘एमओयु’ बनाएर पनि अध्ययन गराउन सकिने उनले बताए । २०५२ सालमा स्थापित कलेजले झण्डै १९ वटाभन्दा बढी विषयहरू अध्ययन गर्दै आएको छ ।
अनमी र ल्याब असिस्टेन्टबाट प्रारम्भ भएको प्राविधिक विषय अहिले एमएस्सी माइक्रोबायोलोजी र एमएस्सी बायोटेक्नोलोजीसम्मको अध्ययन हुने गरेको छ । बीआइएम चाहिँ धरानमा पहिलो हो । बैङ्किङ् प्रणालीको कम्प्युटराइज सिस्टमको व्यवस्थापन बारेमा पढ्न सकिन्छ ।