विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा गत वर्षको उपविजेता बंगलादेशलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालमा बुधबार भएको दोस्रो खेलमा बंगलादेशलाई ४–० ले पार गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

भारतको जितको लागि डालिमा छिब्बर, ईन्दुमती काथिरिसान, इन्दुमति र मनिषाले गोल गरिन् । खेलको सुरुवातदेखि आक्रमक रुपमा मैदानमा उत्रिएको भारतले खेलमा अग्रता १८ औ मिनेटमा लग्यो । सञ्जुको कर्नरमा गोलकिपर अगाडी बढेको अवस्थामा डालिमाले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।

२३ औ मिनेटमा सञ्जुको पासलाई सदुपयोग गर्दै ईन्दुमती काथिरिसान भारतको अग्रता दोब्बर पारेकी थिईन् । ३७ मिनेटमा ईन्दुमतिले ब्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अवस्थामा पुर्याएकी थिईन् । दोस्रो हाफको ईन्जुरी समयमा मनिषाले गोल गर्दै भारतलाई ४–० को जित दिलाईन् ।

जितपछि भारतकी प्रशिक्षक मेमोल रोकीले आफ्नो टोलीले स्वभाविक र सन्तुलित खेल खेलेको बताइन । ‘पहिलेदेखि नै हामीले यस्तै प्रदर्शन गर्ने अपेक्षा राखेका थियौं । खेलाडीले त्यही अनुसार प्रदर्शन गरे,’ उनले भनिन्, ‘बंगलादेशले पनि उत्कृष्ट प्रदर्शन गर्यो । पछिल्लो समय नेपाल पनि भारतलाई टक्कर दिने हिसावमा आइरहेको छ ।’ अबको यात्रामा नेपालसँगको रणनीति तयार गरेर उपाधि हत्याउने लक्ष्य आफ्नो टिमको रहेको उनको दावी छ ।

यता बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले भारतले सुरुदेखि नै डोमिनेट गरेर खेलेको बताए । ‘हामी सुरुमै काउन्टर एट्याक्कको रणनीति बनाएर खेलेका थियौं,’ उनले भने, ‘गर या मरको स्थितिमा रक्षात्मक भन्दा पनि आक्रामक रुपमा उत्रने हाम्रो रणनीति थियो ।’ त्यही रणनीति सफल नहुँदा सुरुवातबाटै गोल खाएर दबाब झेल्नु परेको र आफ्ना खेलाडी फनिसिङमा चुक्दा फराकिलो अन्तरको हार बेहोर्नु परेको उनले बताए ।

पाँचौ साफ च्याम्पियनसिप फुटबलमा उपाधिको लागि नेपालले गत वर्षको विजेता भारतसँग खेल्ने भएको छ । एकै दिन भएको दुई वटा सेमिफाईनलमा नेपालले श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधिको लागि फाईनलमा भिडन्त गर्ने भएको हो ।

साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपाल भने चौंथो पटक फाइनल खेल्न लागेको हो । फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुनेछ ।
सेमिफाइनलको पहिलो खेलमा सुरुवातदेखि नै आक्रमक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाको उत्कृष्ट हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । उनको उत्कृष्ट प्रहार पोष्ट माथिबाट बाहिरियो । खेलको १६ औं मिनेटमा नेपाली टिमकी फरर्वड सावित्रा भण्डारीले करिब ३० यार्डबाटको सशक्त प्रहार श्रीलंकाकी गोलकिपर अयोमी विजेरथ्नले उत्कृष्ट बचाइन् ।

नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरिन् । श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्दा नेपालले अग्रताका लागि ४२ औ मिनेटसम्म पर्खन पर्यो । पुनम जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । दिपा राईले निकालिएको पासलाई फरवर्ड सावित्रा भण्डारीको डिबक्स भित्र हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । मनमाया लिम्बुले प्रहार गरेको बल सावित्राले हेड गरि फर्किएको बललाई अनिताले डिबक्स भित्रबाट गरेका प्रहारले सिधै पोस्टको जाली चुमेको थियो ।

८२ औ मिनेटमा अनिता बस्नेतले निकालिएको पासलाई सवित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याएकी थिईन् । सावित्राले हेडमार्फत गोल गरेको चार मिनेट वित्न नपाउँदै नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेकी रेखा पौडेलले ८६ औं मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । ६४ औं मिनेटमा नेपाली टिमको कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी रेखाले २२ मिनेटमा गोल गरेकी हुन् । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो ।

खेलको ३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । घरेलु दर्शकको साथ र औसला पाएको नेपालले दोस्रो हाफमा अझ आक्रम रुपमा मैदान प्रवेश ग¥यो । नेपालका उत्कृष्ट एक दर्जन प्रयासलाई श्रीलंकाकी गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६० औं मिनेटमा अनिता बस्नेतले

लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।
साफ महिला फुटबलको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो । नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३–० को नतिजा निकालेको थियो ।

‘नतिजा बाट सन्तुष्ट छु’ : प्रशिक्षक खड्का
राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलको नतिजाबाट आफु सन्तुष्ट रहेको बताए । ‘सेमिफाइनल खेलमा खेलाडीहरू प्रर्दशनले निक्कै सन्तुष्टि छु,’ खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सेमिफाईनलमा ४–० को जित राम्रो नतिजा हो । खेलाडीके मिहेनतले जित्यौ । खेलाडीलाई बधाई छ ।’ श्रीलंकाले रक्षात्मक खेल प्रर्दशन गर्दा पहिलो हाफमा गोल निकाल्न कठिन भएको प्रशिक्षक खड्काको भनाई छ ।

‘नकआउट चरणको खेल भएकाले पहिलो हाफमा प्रयोग गरेर जोखिम उठाउन गाह्रो भयो,’ उनले भने, ‘ एक गोल भएपछि दोस्रो हाफमा धेरै गोल निकाल्न सफल भयौ । पहिलो हाफमा खेलाडीहरूले राम्रो खेल्दा खेल्दै पनि थप गोल गर्न सकेनौं । ’

टिमकी कप्तान निरु थापाले प्रशिक्षकको निर्देशन अनुसार खेल प्रस्तुत गरेकाले जित सम्भव भएको बताईन् । फाइनलमा उपाधी जित्ने लक्ष्यको साथ मैदान प्रवेश गर्ने उनले बताइन् । ‘फाईनल खेल जित्दै उपाधि घरमै राख्ने विश्वास छ,’ उनले भनिन्, ‘हामी त्यही अनुसारको अभ्यासपछि मैदान प्रवेश गर्नेछौं ।’

यता श्रीलंकाका प्रशिक्षक रोहन थिलक अल्पोन्सुले नेपाल र भारत दुवै टोली सशक्त रहेको बताए । पहिलो हाफमा योजना अनुसार नै भएको बताएका प्रशिक्षक अल्पोन्सुले दोश्रो हाफमा नेपाली टोलीको आक्रमणलाई थाम्न सकेनन् । खेलाडीहरूले राम्रो खेल्दा खेल्दै पनि हार बेहर्नुपरेको उनले भनाई थियो ।

नेपाल तीन संस्करणमा लगातार फाइनलमा
सन् २०१० मा बंगलादेशमा भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो । सेमिफाइनलमा आयोजक बंगलादेशमाथि ३–० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसँग १–० ले पराजित हुँदा नेपाल उपाधिबाट विमुख बनेको थियो ।

सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफमा नेपालले समूह चरणमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो । साफमा भारतबाहेक नेपालविरुद्ध गोल गर्ने टिम अफगानिस्तान मात्र हो । सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकामाथि ३–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो । त्यतिबेला पनि नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपविजेतामै सीमित बन्यो ।

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले समूह चरणमा भुटानलाई ८–०, आयोजक पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गर्यो । सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुग्यो । फाइनलमा भारतसँग ६–० को फराकिलो अन्तरको हार बेहोर्दा नेपालको लक्ष्य फेरि पूरा हुन सकेन ।
सन् २०१६ को पछिल्लो साफ भारतमा आयोजना भएको थियो । समूह चरणमा नेपालले भुटानमाथि ६–० को जित निकालेर सानदार सुरुवात गर्यो । दोस्रो खेलमा माल्दिभ्सलाई ९–० र तेस्रो खेलमा श्रीलंकालाई १–० ले हराएर नेपाल सेमिफाइनलमा पुग्यो । त्यतिबेला सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए । फेरि पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक बन्यो । भारतसँग ३–१ ले पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

 

Nepali-tmi-photo-sesan-gardai-