विराटनगर/ पाँचौ साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत र नेपाल उपाधि होडमा उत्रिएका छन् । बुधरबारको दुई सेमिफाइनल खेलमा नेपालले श्रीलङ्का र भारतले बङ्गलादेशलाई ४–० गोल अन्तरले नै पराजित गर्दै उपाधिमा दुई टोलीको भिडन्त पक्का भएको हो । 
 
विराटनगरस्थित शहीद रङ्गशालामा बुधबारको पहिलो सेमिफाइलनमा खेलमा श्रीलङ्कालाई ४–० गोल अन्तरले हराउँदा दोस्रो खेलमा भारतले बङ्गलादेशलाई पनि ४–० गोल अन्तरले नै हराउन सफल भएको हो । साविक विजेता भारत पाँचौ पटक फाइनलमा पुगेको छ । नेपाल भने चौंथो पटक फाइनल खेल्न लागेको हो । फाइनल खेल शुक्रबार हुँदै छ । नेपालका लागि रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घा मगर र अनिता बस्नेतले गोल गरे । रक्षात्मक खेलका कारण नेपालले खेलको ४२ औ मिनेटमा मात्रै अग्रता गर्ने अवसर सिर्जना ग¥यो । खेलमा पुनम जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । 
 
दोस्रो हाफको ७३ औं मिनेटमा अनिता बस्नेतले अग्रता दोब्बर पारिन् । ८२ औ मिनेटमा अनिता बस्नेतले निकालिएको पासलाई सवित्रा भण्डारीले हेडमार्फत् गोल गर्दै नेपाललाई ३–० को स्थितिमा पु¥याइन् । सावित्राले गोल गरेको ४ मिनेट बित्न नपाउँदै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी रेखा पौडेलले गोल गर्दै जीत निश्चित गरिन् । उनी कप्तान निरु थापाको स्थानमा ६४ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । साफ महिला फुटबलको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा पुगेको थियो । नेपालले समूहमा भुटान र बङ्गलादेशमाथि समान ३–० को नतिजा निकालेको थियो ।
 
‘नतिजा बाट सन्तुष्ट छु’ : प्रशिक्षक खड्का 
राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले सेमिफाइनलको नतिजाबाट आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिए । ‘सेमिफाइनल खेलमा खेलाडीहरू प्रदर्शनले निक्कै सन्तुष्ट छु,’ उनले भने, ‘सेमिफाइनलमा ४–० को जीत राम्रो नतिजा हो । खेलाडीको मेहनतले जित्यौ । खेलाडीलाई बधाइ छ ।’ श्रीलङ्काले रक्षात्मक खेल प्रदर्शन गर्दा पहिलो हाफमा गोल निकाल्न कठीन भएको प्रशिक्षक खड्काको भनाइ छ ।
 
टिमकी कप्तान निरु थापाले प्रशिक्षकको निर्देशन अनुसार खेल प्रस्तुत गरेकाले जित सम्भव भएको बताइन् । फाइनलमा उपाधी जित्ने लक्ष्यको साथ मैदान प्रवेश गर्ने उनले बताइन् । यता श्रीलङ्काका प्रशिक्षक रोहन थिलक अल्पोन्सुले नेपाल र भारत दुवै टोली सशक्त रहेको बताए । पहिलो हाफमा योजना अनुसार नै भएको बताएका प्रशिक्षक अल्पोन्सुले दोश्रो हाफमा नेपाली टोलीको आक्रमणलाई थाम्न सकेनन् । 
 
नेपाल तीन संस्करणमा लगातार फाइनलमा 
सन् २०१० मा बङ्गलादेशमा भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो । सेमिफाइनलमा आयोजक बङ्गलादेशमाथि ३–० को जीत निकाल्दै नेपाल फाइनलमा पुगेको थियो । तर, फाइनलमा भारतसँग १–० ले पराजित हुँदा नेपाल उपाधिबाट विमुख बनेको थियो । सन् २०१२ मा श्रीलङ्कामा सम्पन्न दोस्रो साफमा नेपालले समूह चरणमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो । साफमा भारतबाहेक नेपालविरुद्ध गोल गर्ने टिम अफगानिस्तान मात्र हो । सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कामाथि ३–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो । त्यतिबेला पनि नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपविजेतामै सीमित बन्यो ।
 
सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले समूह चरणमा भुटानलाई ८–०, आयोजक पाकिस्तानलाई २–० र  श्रीलङ्कालाई ३–० ले पराजित ग¥यो । सेमिफाइनलमा बङ्गलादेशमाथि १–० को जीत निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुग्यो । फाइनलमा भारतसँग ६–० को फराकिलो अन्तरको हार बेहोर्दा नेपालको लक्ष्य फेरि तुहियो । सन् २०१६ को पछिल्लो साफ भारतमा आयोजना भएको थियो । समूह चरणमा नेपालले भुटानमाथि ६–० को जित निकालेर शानदार शुरुवात ग¥यो । दोस्रो खेलमा माल्दिभ्सलाई ९–० र तेस्रो खेलमा श्रीलङ्कालाई १–० ले हराएर नेपाल सेमिफाइनलमा पुग्यो । त्यतिबेला सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए । फेरि पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक बन्यो । भारतसँग ३–१ ले पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । 
 
सहज जित निकाल्दै भारत फाइनलमा
साविक उपविजेता बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशलाई ४–० गोलले हराउँदै भारत फाइलनमा पुगेको हो । जीतका लागि डालिमा छिब्बर, इन्दुमती काथिरिसान, इन्दुमती र मनिषाले गोल गरे । भारतले खेलको १८ औं मिनेटमा डालिमाले पहिलो गोल गरिन् । २३ औ मिनेटमा सञ्जुको पासलाई सदुपयोग गर्दै इन्दुमती काथिरिसान भारतको अग्रता दोब्बर पारिन् । ३७ औं मिनेटमा इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अवस्थामा पु¥याएकी थिइन् । दोस्रो हाफको इञ्जुरी समयमा मनिषाले गोल गर्दै भारतलाई ४–० को स्पष्ट जीत दिलाइन् ।