काठमाडौँ/ टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष १६ सय भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरि गत माघ २० बाट उनीहरुलाई चितवनको सौराहामा ४५ दिने आवासीय तालिम दिएको थियो । आउदो शैक्षिकसत्र बाट यी ६८ प्रज्ञार्थी नेपालका ७ जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयास गर्ने छन् ।

गत शैक्षिक सत्रसम्म ६ वटा जिल्लाहरु ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लम्जुंगमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि यो अभियान आरम्भ गर्ने भएको छ ।

यो सँगै टिच फर नेपालले ७ जिल्लामा रहेका ६७ विद्यालयका १५००० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने छन् । ४५ दिने तालिममा प्रग्यर्थिहरुले कक्षाकोठा भित्रका सिकाई जस्तै कक्षा व्यवस्थापन, सिकाई बिधिमात्र नभई नेपाली समाजमा रहेका बिकृति र विसंगति र तिनको हालका बारे पनि छलफल गरेका थिए ।

प्रज्ञार्थी दिक्षा शर्माले भन्छिन् “म शिक्षा र ज्ञान दिन मात्र यो अभियानमा जुटेको होइन, म यो अभियानमा सामेल हुनुको कारण म आफु पनि आफुमा भएका क्षमता अभिबृद्धि गर्न चाहन्छु, म आफ्नो पढ्ने र पढाउने क्षमतामा निखार ल्याउने प्रयास गर्ने छु ।”

समापन कार्यक्रममा बोल्दै टिच फर नेपालका सह संस्थापक तथा तालिम निर्देशक स्वस्तिका श्रेष्ठले सातौँ समुह गाउँ जादै गर्दा आफु उत्साहित रहेको बताइन् । “खुल्ला आकाशबाट उज्याला तारा छनोट गरि त्यसको मण्डली बनाउन पाउदा एक दिन नेपालमा विद्यमान शैक्षिक असमानता अन्त्य हुने मेरो विश्वास छ ।” सातौं समुहलाई अंकित गर्दै उनले भनिन् ।

आगामी शैक्षिक सत्र देखि टिच फर नेपालका १ सय ३८ प्रज्ञार्थीले ७ जिल्लाका ६७ सामुदायिक विद्यालयमा अंग्रेजी, बिज्ञान र गणित बिषय अध्यापन गराउने योजना रहेको छ ।

टिच फर नेपाल बारे
टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा,२०७५ देखी दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा र २०७६ बाट तनहुँमा सञ्चालन हुदैछ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी,गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ , पर्सा र तनहुँ गरि जम्मा ६७ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १सय३८ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत छन् । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएका छन्।