पर्यटनको शुरुवात धार्मिक गतिविधि अथवा तीर्थयात्राबाट भएको मानिन्छ । तर संसारको पहिलो पर्यटकीय यात्रा त्रेतायुगमा भगवान् रामले गरेका थिए । त्यो यात्रा शैक्षिक यात्रा थियो । त्यो पनि कोशी किनारमा । जुन यात्रालाई संसारको पहिलो पर्यटकीय यात्रा भन्न सकिन्छ ।
पर्यटनका विविध प्रकार छन् । धार्मिक यात्रा, व्यवसायिक भ्रमण, मनोरञ्जन भ्रमण, शैक्षिक भ्रमण आदि । रामचन्द्र र उनका भाइ लक्ष्मणले कोशी किनारमा यात्रा गरेका थिए । जुन यात्रा शिक्षा अध्ययनका लागि भएको थियो, गुरु विश्वमित्रको आश्रममा । गुरु विश्वमित्रको आश्रम हालको रामधुनीमा थियो । जो अझै पनि आश्रमका रूपमा रहिरहेको छ । इतिहासमा उल्लेख भएअनुसार सप्तकोसी नदी हालको रामधुनी छेउबाट बग्ने गर्दथ्यो ।
वाल्मीकि रामायणअनुसार विश्वमित्र ऋषिको आश्रम कोशी नदी (पुराणमा उल्लेख भएअनुसार कोशिकी) तटमा रहेको थियो । विश्वमित्रले तपस्या गर्ने ठाउँ आश्रम उत्तरतर्फ पहाडी क्षेत्र माथि हिमालछेउसम्म नै किरातहरूको बसोबास रहेको थियो । किरातहरूको स्वभाव ऋषिमुनीको स्वभावभन्दा पृथक थियो । कोशी तटको जङ्गल शिकारका लागि अत्यन्त अनुकूल थियो । वर्तमानमा समेत त्यहाँका अर्ना, हरिण, बँदेललगायत जनावरहरूको व्यापक उपस्थितिले सो पुष्टि गर्दछ । उनीहरू यो जङ्गलमा आउने शिकार गर्ने र जनावरका छाला, हड्डी यत्रतत्र छाडेर हिँड्ने गर्दथे । ऋषिमुनीको यज्ञ तथा ध्यान पनि उनीहरूलाई अस्वभाविक लाग्दथ्यो, यही कारण नै विश्वमित्र र किरातीबीच खट्पट भनौं द्वन्द्वको अवस्था थियो ।
भगवान् विष्णुले रामचन्द्रका स्वरूपमा अयोध्यामा राजा दशरथको पुत्रका रूपमा अवतार लिएको विश्वमित्रले छनक पाए । किरातीहरूलाई तह लाउन उनै रामचन्द्र उपयुक्त पात्र ठाने विश्वमित्रले । विश्वमित्र राजा दशरथको महल अयोध्या गएर दुई भाइ राम, र लक्ष्मणलाई विद्या र शास्त्र अध्ययनका लागि यहाँ लिएर आए । त्यो बेला अध्ययनका लागि गुरुकुल (गुरुकै आश्रम) मा जाने चलन थियो । यसरी यो स्थान संसारको पहिलो शैक्षिक यात्राको गन्तव्य बनेको हो ।
सनातन परम्पराअनुसार जुनसुकै कार्य गर्दा पनि हवन गरेर शुरु गर्ने परम्परा छ । न्वारान होस् कि ब्रतबन्ध । विवाह होस् कि गृहप्रवेश । सबै कार्यमा हवन अनिवार्य हुन्छ । रामचन्द्र दाजुभाइले पनि यहाँ दैनिक हवन गर्थे र शास्त्र र शस्त्र अध्ययन गर्दथे । यो क्रम निरन्तर चलिरहेको थियो । कोशी जलले प्रभावित क्षेत्र शिकारका लागि अत्यन्त अनुकुल थियो । हिंस्रक जनावर कम भएका तर ठूला जातका शाकाहारी जनावहरू ठूलो सङ्ख्यामा थिए । जसको प्रमाण अहिले पनि छ । जङ्गली भैंसी अर्ना, हरिण र बँदेलको अहिलेको अवस्थाले पनि ज्ञात हुन्छ । हालको चारकोशे झाडी त्यो पनि कोशी किनारको जङ्गलमा वरपरका राजाहरू महिनौं दिनसम्म परिवारसहित यो क्षेत्रमा शिकार खेल्न आउँथे । यही क्रममा एक पटक जनकपुरका राजा जनक पनि परिवार र सेनासहित यहाँ शिकार खेल्न आएका थिए । यसै क्रममा एक दिन ऋषि विश्वमित्रको उपवन (फूलबारी) मा सीताजी र रामचन्द्रको आँखा जुधेको र देख भेट भएको थियो । त्यसपछि रामचन्द्र सीताजीको रूपमा मोहित भए । फूलबारीमा सीतारामको प्रेम अङ्कुरित भएको रामायणमा वर्णित छ ।
राजा जनक राजधानी फर्किए । यता रामचन्द्रलाई अध्ययनमा रुचि हुन छाड्यो । अध्ययनमा अरुचि हुनुको कारण सीताको प्रेम रहेको ऋषि विश्वमित्रले थाहा पाए । उनीहरूको अध्ययन बाँकी नै थियो । तथापि सीताको विवाहको कुरा गर्न ऋषि जनकपुर जाने भए । उता त्यहीबेला सीता स्वयम्बरको तयारी भइरहेको थियो । भाग्यवश रामचन्द्र सीता स्वयम्बरमा पुगेर सीतासँग विवाह गरे । यता शिक्षा प्राप्तिका लागि गरिएको हवनको पूर्णाहुती गरिएको थिएन । सीतासँग विवाह नै गर्न भनेर पनि उनीहरू जनकपुर गएका थिएनन् । कुरामात्र चलाउने विचारले गएका थिए तर स्वयम्बर नै भयो ।
विवाह गरेपछि दुलही लिएर ऋषिका आश्रममा जाने कुरा भएन । रामचन्द्रले आफ्नी दुलहीलाई राजधानी अयोध्या लिएर गए । उनीहरूको योजना थियो दुलही भित्र्याएर आश्रम फर्किने र अध्ययन पूरा गर्ने । तर, त्यस्तो हुन सकेन कैकेयीको कारण उनीहरुले वनवास जानुपर्यो । रामचन्द्र, सीता र लक्ष्मण वनबास गए । उनीहरू दक्षिणतर्फ लागे । यता रामले सङ्कल्प गरेको हवन (यज्ञ) पूर्णाहुती हुन सकेन । जो आजसम्म निरन्तर प्रज्वलित छ । यसैलाई रामधुनी भनेर हाल पनि भनिन्छ ।
रामधुनी भएको ठाउँमा मन्दिर र जङ्गल छ । कोशी नदी पहिले यही धुनी छेउसम्म बग्दथ्यो । कालान्तरमा कोशी पश्चिमपट्टि सर्दै गयो । कोशीले छोडेको ठाउँ उब्जाउ भूमि बन्दै गयो र बस्ती बस्दै गयो । रामले शुरु गरेको सो यज्ञस्थल हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका पर्दछ । यसरी यो स्थान संसारको पहिलो शैक्षिक पर्यटकीय गन्तव्य भएको मान्न सकिन्छ ।