धरान/ पूर्वका कलाकार÷निर्देशक प्रेम सुब्बा औपचारिक समारोहमा प्रायः ढाकाको कोट लगाएर उपस्थित हुन्छन् । तेह्रथुमे ढाका उनको प्रिय पहिरन हो । उनी भन्छन्, ‘तानमा हातले बुनेको ढाकाको पहिरन लगाउँदा बेग्लै सन्तुष्टि मिल्छ । हाम्रो संस्कृति र मौलिकता झल्किएको अनुभव हुन्छ ।’
सुब्बाजस्तै पूर्वका धेरै कलाकारको प्रिय पहिरन हो ढाका । रङ्गकर्मी सृजना सुब्बा, गायिका विष्णु चेम्जोङ, अभिनेत्री रेखा लिम्बू, गायक खगेन्द्र यक्सो, कुशल थलङ, कञ्चन थलङ, दीपक लिम्बू, मोडल हेमराज आङ्छङ्वो, निशा पोमो, गायक रुक्मान लिम्बू, निर्देशक तथा कलाकार मौसम इम्बुङ पनि ढाकाको पहिरन लगाउन रुचाउँछन् । शुरुमा पूर्वेली कलाकारहरूको प्रिय पहिरनका रूपमा रहेको ढाकाको पहिरन पछिल्लो समय अन्य कलाकारहरूको पनि प्रिय बन्न थालेको छ । कलाकार÷निर्देशक दीपाश्री निरौला, जीतु नेपाल, अनमोल केसीलगायतले पनि ढाकाको पहिरन लगाएर अभिनय गरिसकेका छन् ।
पहिला ढाका भन्ने बित्तिकै पाल्पाली ढाका भन्ने बुझिन्थ्यो । पछिल्लो समय बजारमा पूर्वेली ढाकाको आकर्षण छ । पहिला परम्पराका रूपमा मात्र घर–घरमा रहेको ढाकालाई आधुनिक रूप दिएर विभिन्न डिजाइनमा उतार्न थालिएपछि कलाकारहरू मात्र होइन, सर्वसाधारणमा समेत यसको आकर्षण बढ्दो छ । युवतीहरू विशेषगरी ढाकाको मेख्ली, गाउन, लेहेङ्गामा सजिएका हुन्छन् भने युवाहरू ढाकाको कोट, दौरा सुरुवालदेखि जुत्तासम्म ढाकाकै लगाउँछन् ।
पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङलगायतका लिम्बू बस्तीहरूका प्रत्येकजसो घरमा ढाका बुन्ने गरिन्छ । केही वर्षयता तेह्रथुमको ढाका धरान, झापा, काठमाडौं हुँदै विदेशतिर निर्यात हुन थालेपछि यसको बजार पनि अन्तर्राष्ट्रिय बन्दै छ । ढाकामा नयाँपुस्ताको पनि आकर्षण देखेपछि व्यवस्थापन पढेकी तेह्रथुम आम्बुङकी निरु आङ्बुहाङ र सङ्खुवासभाकी सङ्गीता लिङ्खाले तीन वर्षअघि ललितपुरको नखिपोट, मिलनचोकमा ‘तेह्रथुमे ढाका बुटिक’ खोले । उनीहरूले तेह्रथुमका घर–घरमा हातैले बुनिने ढाका जम्मा गरेर आकर्षक डिजाइन दिन थाले ।
अहिले उनीहरूका उत्पादन कलाकार, स्थानीय युवायुवतीसँगै हङ्कङ, बेलायत, सिङ्गापुर, ब्रुनाईलगायतका ठाउँमा रहेका नेपालीहरूसम्म पुग्छन् । तेह्रथुमे ढाकाकी प्रोप्राइटर निरु भन्छिन्, ‘गाउँबाट कलेक्सन गरिएको ढाका शुद्ध ढाका भएकाले सबैले मन पराउँछन्, नेपाली भएका सबैजसो देशमा हाम्रा पहिरन पुगेका छन् ।’