ताप्लेजुङ/ न इञ्जिनियरिङ पढे, न कुनै प्राविधिक शिक्षा नै लिन पाए । कक्षा–८ सम्मको मात्रै अध्ययन गरेका पूर्ण लङ्वा लिम्बूले सेन्सरको माध्यमबाट चल्ने ‘अटो सेक्युरिटी सिस्टम’ को निर्माण गरेर सबैलाई चकित पारेका छन् । 
 
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय पूर्णले दुई वर्षको प्रयासपछि यस्तो प्रविधिको विकास गरेका हुन् । गाउँमै बसेर लङ्वाले बनाएको यो प्रविधिले सेन्सरका माध्यमबाट फोटो र भिडियो एकसाथ खिच्नका साथै मोबाइलमा फोनसमेत गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्नासाथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोनसमेत डायल हुन्छ । ढोकाबाट बाहिर निस्किएपछि प्रविधि निष्क्रिय हुन्छ । मोबाइल र रेडियोका विभिन्न पार्टस्को प्रयोग यसमा गरिएको छ । ‘यो सीसीक्यामेराभन्दा आधुनिक प्रविधि हो,’ पूर्ण भन्छन्, ‘यसलाई जडान गरिएको स्थानमा प्रवेश गर्नासाथ प्रविधि आफैं चालु हुन्छ, स–साना पार्टस्हरू प्रयोग गरिएकाले अदृश्य रूपमा जडान गर्न सकिन्छ ।’
 
कुनै स्थानको सुरक्षाका लागि सीसीक्यामेराको प्रयोग गर्ने चलन छ । सीसीक्यामेरा जडान गरेको सबैले देख्न सक्छन् तर, पूर्णले बनाएको यो प्रविधि कसैले नदेख्ने गरी जडान गर्न सकिन्छ । अटो सेक्युरिटी सिस्टम कम लागतमै निर्माण गर्न सकिने सस्तो प्रविधि भएको पूर्णले बताए । उनले भने, ‘२० देखि २५ हजारमै तयार गर्न सकिन्छ, सीसीक्यामेराभन्दा यो धेरै गुणा सस्तो हो ।’ यसअघि विद्युत्को टर्वाइन स्वतः खुल्ने र बन्द गर्ने ‘अटो पावर अन अफ’ र चट्याङ पर्नुअघि नै मेसिन र विद्युत् बन्द गर्ने ‘लाइटिङ कन्ट्रोल मेसिन’ समेत बनाइसकेका छन् । ‘लाइटिङ कन्ट्रोल मेसिन’ले चट्याङ पर्दैछ भन्ने पूर्वानुमान गरी विद्युत् र मेसिनहरू आफैं बन्द गरिदिन्छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण पूर्णले ८ कक्षा भन्दामाथि पढ्न सकेनन् । रोजगारीको खोजीमा कतै नगई अनुसन्धानमा लागेका यी युवाको कार्यले परिवार र छिमेकीसमेत आश्चर्यमा परेका छन् । 
 
यस्तो प्रतिभालाई राज्यले सम्मान र संरक्षण गर्नुपर्ने पूर्णका छिमेकीको भनाइ छ । ‘जहिल्यै पुराना रेडियो, घडी, मोबाइल, टिभीका पुर्जाहरू निकालेर खेलाइबस्थ्यो,’ पूर्णका काका डम्बर लङ्वा लिम्बूले भने,‘खेलाँची नगर् भनेर गाली पनि ग¥यौं अहिले त हामी पनि छक्क परेका छौं ।’ 
 
पूर्णले यससम्बन्धी हालसम्म कुनै औपचारिक ज्ञान र तालिम लिएका छ्रैनन् । सानैदेखि रेडियो, घडीलगायत इलेक्ट्रोनिक सामग्रीका पार्टस्हरूले के–के काम गर्छन् भनेर चाख राख्थे । त्यसकै अध्ययन गर्दै गएपछि एक पछि अर्को नयाँ–नयाँ प्रविधिको सिर्जना गर्न सफल भएका हुन् । 
 
यातायातको सुविधासमेत गाउँमा पुगेको छैन । पूर्णले विकास गरेका यी प्रविधिहरू गाउँमै सिमित छन् । दुर्गम भएकाले सामग्री जुटाउन गाह्रो हुने गरेको छ । अब योे क्षेत्रमा अझै अध्ययन गर्ने उनको लक्ष्य छ । ‘अवसर  र उचित शिक्षा पाए अझै चमत्कारिक प्रविधिहरूको विकास गर्ने खुबी पूर्णमा छ,’ छिमेकी प्रेम लङ्वा लिम्बूले भने ।  गाउँपालिका प्रमुख गणेश चोङवाङ लिम्बूले पूर्णजस्ता प्रतिभा गाउँपालिकाको सम्पत्ति भएको र अब उनलाई अवश्यक सहयोग गर्ने बताए । उनी भन्छन्, ‘गाउँमै सम्भावना देखेर केही गर्छु, भनेर लागिपरेका यस्ता युवाहरूले उचित अवसर पाए राज्यकै नाम राख्ने काम गर्न सक्छन् ।’