रङ्गमञ्च र फिल्म क्षेत्रमा दुईदशकभन्दा लामो समयदेखि काम गरिरहेका प्रेम सुब्बा पूर्वका परिचित कलाकार हुन् । ‘देउमाईको किनारमा’, ‘नुमाफुङ’,‘बलिदान’,‘निशानी’, ‘तारेभिर’लगायतका ५० भन्दा बढी फिल्ममा आफ्नो कला प्रस्तुत गरिसकेका प्रेमले अभिनयका क्रममा विभिन्न चरित्र निर्वाह गरेका छन् ।

फिल्म वा नाटकमा गरिने चरित्र नै कलाकारको पर्दा वा मञ्चको परिचय हो । तर यस्ता चरित्रले दर्शकहरूमा कहिले सकारात्मक छाप छोड्छन् त कहिले नकारात्मक । प्रेमले पनि फिल्महरूमा कहिले सकारात्मक चरित्र निर्वाह गरे अनि कहिले नकारात्मक । ती चरित्र निर्वाह गर्दा दर्शकको प्रतिक्रिया पनि फरक–फरक पाए ।

रत्नकुमार बन्दा
पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा मारिएका शहीद रत्नकुमार बान्तवाको कथामा आधारित भएर २०५० सालमा भिडियो फिल्म ‘देउमाईको किनारमा’ बन्यो । त्यसमा प्रेम रत्नकुमारको रोलमा थिए । प्रदीप नेपालले लेखेको रत्नकुमारको जीवनीमा आधारित कथामा प्रेम शेर्मा माङजाबुङेको निर्देशन थियो । मिहिनेत गरेअनुसार प्रदर्शनपछि प्रतिक्रिया पनि राम्रो पाए । रत्नका साथीहरू खुसी भए फिल्म हेरेर । इलामतिर अहिले पनि प्रेमलाई पुराना मान्छेले रत्न भनेर नै बोलाउँछन् ।

बलिदानका क्रान्तिकारी
फिल्म ‘बलिदान’मा क्रान्तिकारी चरित्र थियो उनको । चरित्रको नाम प्रेम नै थियो । फिल्ममा उनले सुराकीको भूमिका गरेका थिए । २०४६ को आन्दोलनमा सहभागी भएको र देउमाईको किनारमा गरेको आन्दोलन, सङ्घर्षको अध्ययनले उनलाई बलिदानमा क्रान्तिकारी बन्न सहयोग गर्याे । २०५२ सालमा सुटिङ भएर ०५४ सालमा प्रदर्शन भएपछि साथीहरूले उनलाई क्रान्तिकारी भनेर जिस्क्याउँथे ।

नुमाफुङ्का गिरिहाङ
धेरै अवार्ड जितेको फिल्म ‘नुमाफुङ’मा प्रेम गिरिहाङको चरित्रमा थिए । गाउँको हुनेखाने लिम्बू समुदायको पुल्पुलिएको भङ्जा छोरो गिरिहाङको रोल गर्दा उनी घोडा चढ्दा तीन पटक कान्लामुनि पछारिए । २०५८ मा बनेको नुमाफुङलेले उनलाई देश विदेशमा चिनायो ।

एक दिन प्रेम हलमा आफैं पनि फिल्म हेर्दै थिए । दर्शकहरूले उनको भङ्जा चरित्र हेरेपछि आवेशमा आएर ‘यसलाई मार्नुपर्छ’ भनेर गाली गर्न थाले । प्रेम सम्झिन्छन्, ‘मन पराउने केटी साथीहरू पनि थिए उनिहरू गिरिहाङको व्यवहार हेरेर बोल्नै छाडे । मैले यो सब नाटक हो भनेर सम्झाउँदा पनि बुझेनन् । उनीहरू टाढिए ।’

गिरिहाङको चरित्रका लागि निर्देशकले उनलाई अलि मोटो हुनु पर्छ भनेका थिए । त्यसपछि तौल बढाउन दिनभरि तोङ्वा र सुँगुरको खुट्टाको सुप खुब खाए उनले । एक महिना त्यसो गरेपछि तौल त बढ्यो । तर त्यसले पछि रोग निम्त्यायो ।

चेसुङका आगे सुब्बा
२०२१ साल अगाडि पूर्वमा लिम्बूहरूको किपट थियो । त्यहाँका जनताको आर्थिक, कानूनीलगायतका सम्पूर्ण कुरा हेर्ने अधिकारीलाई आगे सुब्बा भनिन्थ्यो । २०६२ सालतिर बनेको फिल्म ‘चेसुङ’मा उनले आगे सुब्बाको भूमिका गरे । यो चरित्र गर्नका लागि त्यसबेलाका बाजेहरूको ठाँट, लवाइ, खुवाइ बुझ्न पुराना पुस्तक, फोटोहरूको अध्ययन गरे । ‘पुराना मान्छेहरूसँग बुझेँ । त्यसबेला जनताबाट तिरो–भरो उठाउने आगे सुब्बाहरू पछि किपट खोसिएपछि कस्तो अवस्थामा आइपुगे भन्ने विषय भएकाले धेरै पोपर्टी प्रयोग गरें ।’ उनले सुनाए, ‘आगे सुब्बा चरित्रले पनि दर्शकको मन जित्यो । मलाई पनि राम्रै गरें जस्तो लाग्यो ।’

एउटा कथाका तान्छोहाङ
२०६१ सालमा बनेको फिल्म ‘एउटा कथा’मा गरिब किसान तान्छोहाङ्को भूमिका गरेका थिए उनले । माओवादीको सशस्त्र द्वन्द्वका बेला पीडित निर्दोष, भारी बोक्ने सोझो निमुखो तान्छोहाङ् दोहोरो भिडन्तमा परेर मर्छ । त्यस समयको सत्य घटनामा आधारित भएकाले पनि यो चरित्र प्रेमलाई मन पर्छ । यसले दर्शकको पनि मन छोयो ।

निशानीका उस्ताद विनय
कार्गिलको युद्धमा लडेका गोर्खाली सेनाको कथामा आधारित फिल्म ‘निशानी’मा आर्मीको उस्ताद (प्लाटुन कमान्डर) विनयको चरित्र गरेका थिए उनले । सुनाउँछन्, ‘मेरो बुवा आर्मी हुँदा म पनि भारतको मिजोरममा जन्मिएँ, सानैदेखि आर्मी क्याम्पमा बसेकाले त्यहाँको वातावरण र आर्मीका गतिविधि थाहा थियो । त्यसैले सजिलो पनि भयो ।’

निशानीका लागि उनले ८० केजीबाट तौल घटाएर ६५ केजीमा झारे । २०७२ सालमा आफैंले निर्माण गरेको निशानीले आर्थिक रुपमा घाटा भए पनि चरित्रको हिसाबले दर्शकले मन पराएको उनी बताउँछन् ।

डिएसपीदेखि भूपू लाहुरेसम्म
आफैंले निर्देशन गरेको फिल्म तारेभिरमा चाहिँ उनी अन्यायविरुद्ध लड्ने डिएसपी विजय लामाको रूपमा देखिए । पहिला आर्मीको चरित्र गरिसकेकाले उनलाई सजिलो भयो । लिम्बू संस्कृतिमा आधारित फिल्म ‘थथाम्मा’ मा उनी मनाहाङको रोलमा थिए । उनी सुटिङ गर्न सिक्किम पुगेका थिए । तर उनलाई लिम्बू भाषा नआउने । कोसिस गर्दा पनि नसकेपछि उनी हरेस खाएर फर्किन लागेका थिए ।

तर स्थानीयले सिक्दै गर्न सकिन्छ भनेर आँट दिए । त्यसपछि टिचर राखेर स्पोटमै पढे । त्यहीँ भाषा सिक्दै गरेपछि पछि राम्रो भयो । दर्शकले पनि मन पराए । उनले फिल्म भूपू लाहुरेमा भूपू लाहुरेकै चरित्र निर्वाह गरेका छन् । हरेक फिल्ममा उनले गरेका चरित्रले दर्शकमाझ बेग्लै छाप छाडेका छन् । उनलाई पनि आफ्नो फिल्मी चरित्र अविष्मरणीय लाग्छ । उनी भन्छन्, ‘अहिले ती आफैंले निर्वाह गरेका चरित्र सम्झँदा रमाइलो लाग्छ ।’