विराटनगर/ नेपाली प्राविधिकहरूले तयार पारेको पहिलो जेट बोट सप्तकोशी नदीमा सफल परीक्षण गरिएको छ ।
सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोशी नदीमा शनिबार सफल परीक्षण गरेको हो । काठमाडौं विश्व विद्यालयबाट मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका सुमन खत्री र लेखराज रिजालले सप्तकोशी नदीमा सञ्चालन हुने जेट बोट बनाएका हुन् । ‘माउण्ट ८८४८ मिटर’ नाम दिइएको जेटबोट सप्तकोशीमा करिब आधा घण्टा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । १ करोड ५० लाख लागतमा नेपाली इञ्जिनियरको डिजाइनमा सो जेटबोट पहिलो पटक बनाइएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिका अध्यक्षको चिरञ्जीवी रेग्मीले जानकारी दिए ।
सप्तकोशीमा हाल ३ वटा कम्पनीका ४ वटा जेटबोट सञ्चालनमा छन् । पहिलोपटक स्वदेशमै निर्माण गरिएको जेटबोट पनि थपिएको छ । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिका सञ्चालक राजेन्द्र कार्की नेपाली प्राविधिकले तयार पारेको जेट बोटको सफल परीक्षण गरिएको बताउँछन् । ‘स्वदेशी श्रम र सीपमा तयार पारिएको जेटबोट आएको छ,’ उनले भने, ‘स्वदेशी पैसा विदेश जानबाट रोक्न भूमिका खेल्नेछ । अब चाँडै स्वदेशमा बनेको जेटबोट सप्तकोशीको नदीमा गुड्नेछ ।’
कार्कीका अनुसार ३० सिटे जेटबोट निर्माणको नेतृत्व इञ्जिनियर खत्री र रिजालले गरेका हुन् । जेटबोटका नक्साङ्कन भने फाइन आर्टका कलाकार सुरेश चौधरीले गरेका थिए । सुन्दरहरैचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जिडिएस फाइबर वल्र्डसँगको सहकार्यमा जेटबोट निर्माण भएको हो । स्वदेशमा नै निर्माण गरिएको जेटबोटमा आवश्यक जेट र इञ्जिन भने नेपालमा नबन्ने भएकाले युरोपबाट ल्याइएको थियो । यसबाहेक अन्य आवश्यक संरचना भने यही तयार पारिएको प्रालिले जनाएको छ । सप्तकोशी नदीमा चतरादेखि त्रिवेणीघाटसम्म अहिले जलयात्रा सञ्चालनमा छ ।