इटहरी/ सुनसरी र मोरङको सीमामा रहेको बूढीगङ्गा नदी किनारा धार्मिक तीर्थस्थलका रूपमा विकास भइरहेको छ ।
नदीको वारि र पारि दुवै किनारामा ठूला–ठूला धार्मिक स्थलहरू निर्माण भएका छन् । जसले हिन्दूधर्मावलम्बीलाई मात्रै नभएर सम्पूर्ण नेपालीलाई लोभ्याइरहेको छ । बूढीगङ्गाका रूपमा परिचित नदी जसको वारि सुनसरीतर्फ नेपालकै सुन्दर रमणीय मन्दिर निर्माण सम्पन्न भएको छ । झण्डै १० करोडको लगानीमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भएको छ ।
मन्दिरमा ३० तोला सुनको लेपन लगाएर गजुर निर्माण गरिएको छ । निर्माण सम्पन्न यस मन्दिरमा चैत २३ गतेबाट महाधार्मिक महोत्सव सञ्चालन हुन गइरहेको छ । नेपालकै सुविधा सम्पन्न र धार्मिक महत्व बोकेको मुक्तिघाटसँगै रहेको यस प्रणामी मन्दिरले प्रणामी सम्प्रदायलाई मात्र नभएर सम्पूर्ण धार्मिक आस्थावान् मानिसलाई लोभ्याएको छ ।
यस किसिमको कलात्मक मन्दिर नेपालमा अन्त कतै नभएको दावी गरिएको छ । प्रणाम धर्म सम्प्रदायको यो पवित्र तीर्थस्थलको रूपमा स्थापित भएको छ । बर्सेनी ठूलो सङ्ख्यामा मानिसहरू पुण्य प्राप्तिका लागि यहाँ आउने विश्वास लिइएको छ । यो मन्दिर नमूना मन्दिरको रूपमा रहेको वृहत्तर मुक्तिधाम निर्माण समितिका अध्यक्ष हेम घिमिरेले बताए ।
यता नदीको पारि किनारामा नयाँ वृन्दावन गौशाला निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालकै ठूलो भनिएको श्रीकृष्ण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । प्राकृतिक रूपले मनोरम स्थलको ३ बिघा जग्गामा मन्दिरसँगै अन्य धार्मिक संरचनाहरू निर्माण भइरहेका छन् । राधेश्याम सेवा ट्रष्टले यहाँ वृन्दावनकै झल्को दिने गरी धार्मिक संरचनाहरू निर्माण गरिरेहको छ ।
निर्माणाधीन नयाँ वृन्दावनमा मानवका पुर्खाका सबै ऋषिमुनिहरूका मूर्तिहरू समेत राख्ने योजना अनुसार केही ऋषिहरूका मूर्ति निर्माण गरिसकिएको श्री राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका संरक्षक दिनवन्धु शास्त्रीले दिए । यस क्षेत्रमा विश्वकै अग्लो गाईको प्रतिमा निर्माण गरिने योजनाको पनि शुरुवात भइसकेको छ । निर्माण घोषणा गरेको ट्रष्ट र सुन्दरहैंचा नगरपालिकाले यसको काम अघि बढाइसकेका छन् ।
वृन्दावनमा कृष्ण लीला, गाईवाछा र वन विहारको झल्को दिने संरचना पनि निर्माण गरिने जनाइएको छ । हाल सेवाका लागि गौशाला भवन, गौसेवक वासस्थान, शिव मन्दिर, बुद्ध मूर्तिसँगै, राशिअनुसारको वृक्षरोपण गरी बगँैचा निर्माण गरिसकिएको छ । यो क्षेत्रको निर्माणाधीन कार्यहरू सम्पन्न भएपछि नेपालकै आकर्षक धार्मिक तीर्थका रूपमा विकास हुने देखिएको छ ।
धार्मिक ग्रन्थहरूमा पनि उल्लेख यो नदी किनार पवित्र तीर्थस्थलका रूपमा विकास भएसँगै आन्तरिक तथा बाह्य पर्यटनका रूपमा विकास हुने धर्मगुरु शास्त्री बताउँछन् । नेपालमा विगत लामो समयदेखि धार्मिक पर्यटनका कुरा उठिरहे पनि त्यसअनुसार काम भएको पाइँदैन । तर निजी तथा सार्वजनिक पहलबाट स्थापित बन्दै गएको यो क्षेत्र पूर्वी नेपालको मात्र नभएर देशकै एक पवित्र स्थलको रूपमा विकास हुने निश्चित छ । बागमती नदी किनारमा रहेको पाशुपत क्षेत्र जो सम्पूर्ण नेपालीहरूको आस्थाको धरोहर हो । यस्तै यो क्षेत्र पनि पूर्वी नेपालको आस्थाको धरोहरको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।