सुनसरी/ धेरै सरकारी विद्यालय विद्यार्थी नपाएर समस्यामा छन् । नाम चलेका निजी विद्यालयमा भने भर्ना पाउन प्रवेश परीक्षा दिनुपर्छ । त्यहाँको प्रवेश परीक्षामा पास हुन नसकेका विद्यार्थी कि त अन्य विद्यालयमा जानु प¥यो । त्यो पनि नभए आर्थिक अवस्था कमजोर हुनेले सरकारी विद्यालयमा भर्ना गराउनुको विकल्प हुँदैन ।

इटहरीको जनता विद्यालय सरकारी हो । तर यहाँ निश्चित कोटामा नाम ननिकाल्ने विद्यार्थीले निजी विद्यालय वा अन्य कुनै विद्यालय रोज्नुपर्ने हुन्छ । त्यसैले यहाँ विद्यार्थीलाई भर्ना पाउनै मुस्किल छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयमा २ सय ४० जनाको कोटा छ तर यसपटक कक्षा ४ देखि ९ सम्मका लागि ९ सय ६ जनाले आवेदन बुझाएका छन् । शनिबार अढाई घण्टाको प्रवेश परीक्षा दिन विद्यालयमा विद्यार्थीहरूको भीड लाग्यो । उनीहरूमध्ये उत्कृष्ट अङ्क ल्याउने २ सय ४० जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको कक्षाको लागि भर्ना लिइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराज दङ्गालले बताए ।

प्रवेश परीक्षामा सहभागी हुने अधिकांश निजी विद्यालयका विद्यार्थी छन् । इटहरीकै पुरानो सरकारी विद्यालयमा अध्यापन प्रणालीमा सुधारको प्रयास शुरु गरेसँगै विद्यार्थीको आकर्षण बढ्न थालेको हो । प्रधानाध्यापक छत्रपति ढुङ्गेलका अनुसार कक्षा १२ सम्म हाल विद्यालयमा एक हजार चार सय ७० जना विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी माध्यम र नेपाली माध्यम गरी दुवै कक्षा सञ्चालन गरिनेछ । एसईईको झल्को दिने गरी सिट प्लानिङ र प्रश्न–पत्र तयार गरी लिइएको परीक्षाको परीक्षा फल चैत्र ३० गतेसम्ममा प्रकाशन गरिने विद्यालयले जनाएको छ ।

सङ्घीय सरकारले पाँच वर्षभित्र नमूना विद्यालय बनाउने गरी एक निर्वाचन क्षेत्रमा एक विद्यालयमा कार्यक्रम ल्याएको छ । तर, जनता स्कुलले यसै वर्षदेखि आन्तरिक स्रोतको आधारमा अङ्ग्रेजी माध्यमबाट कक्षा शुरु गरेको प्रधानाध्यापक ढुङ्गेलले बताए । कक्षा ११ र १२ मा पनि अङ्गेजी माध्यमबाट पढाइ हुनेछ । नेपाली मिडियमका पनि चार विषय अङ्ग्रेजी माध्यमबाटै पढाइ हुने विद्यालयले जनाएको छ । अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालन गर्नका लागि विद्यालयले केही दिनअघि ८ जना विषयगत शिक्षक छनौट गरिसकेको प्रधानाध्यापक ढुङ्गेलले बताए ।

पाँच वर्षभित्र खर्च गर्ने गरी सङ्घीय सरकारले झण्डै ४० करोड रुपैयाँ जनता स्कुललाई छुट्याएको छ । सोमध्ये एक करोड ५० लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष दङ्गालले बताए । विद्यालयको आग्रहमा इटहरी उप–महानगरपालिकाले ८ लाख र प्रदेश सरकारले प्रविधिको लागि ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको विद्यालय सञ्चालक सदस्य विमला ढकालले बताइन् । अङ्ग्रेजी माध्यममा २ सय ४० जना विद्यार्थीको आवेदन माग भएको थियो । एउटा कक्षामा ४० जनाका दरले अध्यापन हुने पनि बताइएको छ ।

सबै कक्षाकोठाहरूमा स्क्रिनटचसहितको स्मार्टबोर्ड र प्रोजेक्टर जडान गरिने विद्यालयले जनाएको छ । ४९ वटा कम्प्युटरसहितको ल्याव तयार गरिँदै छ । यातायातका लागि बस खरिद गरिसकिएको विद्यालयले जनाएको छ । नेपाली माध्यमको स्कुलमा समेत यो वर्षदेखि अङ्ग्रेजी ल्याव स्थापना गरिने भएको छ । विद्यार्थीहरूलाई बुझ्न सजिलो होस् भन्नका लागि प्रयोगात्मक ढङ्गले अध्यापन गराउन ल्याव स्थापना गर्न लागिएको विद्यालयले जनाएको छ ।

अङ्ग्रेजी माध्यमको लागि विद्यालयले नै पुस्तक छनौट समिति तयार गरेको छ । सो समितिको सिफारिसका आधारमा केही पुस्तक विद्यार्थीले खरिद गर्नुपर्ने र केही सरकारी पुस्तक अध्ययन गर्नुपर्ने बताइएको छ । अङ्गेजी माध्यममा छनौट भएका विद्यार्थीहरूको लागि वार्षिक कति रुपैयाँ खर्च हुन्छ र कति लिइने भन्ने विषयमा छलफल गरी तय गरिने अध्यक्ष दङ्गालले बताए ।