ताप्लेजुङ/ छुट्टिको समय निस्कने बित्तिकै ताप्लेजुङ सदरमुकामबाट काबेली जानेको लर्को लाग्छ । पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेलीको स्वादिलो माछा र निर्मल काबेलीको पानीमा पौडी खेल्न जानेहरूको लस्कर हुन्छ । शुक्रबार र शनिबार काबेली खोलाको छेवैमा खोलिएका होटलहरू खचाखच भरिएका हुन्छन् । काबेलीमा पाइने विभिन्न जातका माछाको स्वाद लिन यहाँ बाक्लो गरी आइपुग्ने गर्छन् पारखी । काबेली खोलाको छेऊमा करिब एक दर्जन होटलहरूमा स्थानीय माछा पाइन्छ ।

असला, तीते, बुधुना लगायतका माछाको विभिन्न स्वादिष्ट परिकारले युवादेखि पाकाहरूको मन तानेको छ । छुट्टीका दिन पारखीलाई माछा पु¥याउनै कठिन हुने गरेको स्थानीय मिना राई बताउँछिन् । ‘दैनिकजसो १० देखि १५ केजीसम्म माछा खपत हुन्छ,’ राईले भनिन् ‘शुक्रबार र शनिबार भ्याइनभ्याई हुन्छ ।’ शुक्रबार फुङलिङ बजार बन्द रहन्छ । सातामा एक पटक यहाँका व्यवसायी काबेली नै पुग्ने गर्छन् । यस्तै शनिबार सरकारी कार्यालयहरू बिदा हुने भएकाले कर्मचारीको छुट्टि मनाउने थलो नै बन्छ काबेली । आलो र सुकाइएको माछालाई फ्राइ र ग्रेबी बनाएर बेच्छन् व्यापारी । माछाले गर्दा अन्य पेय पदार्थ पनि चलेको पाइन्छ । पहाडका सानासाना माछा निक्कै स्वादिष्ट मानिन्छन् । काबेलीको माछाको स्वाद बिर्सन नसकिने रहेको फुङलिङका निमा शेर्पा बताउँछन् । ‘तीते माछाको त कुरै नगरौँ’ उनले भने । धेरै ठाउँबाट यहाँको माछाको स्वादको चर्चा हुने गरेको उनको अनुभव छ । सडकले समेत सहज बनाएको छ ।

काबेलीको कोसेली असला
काबेली खोलाको असला माछा विदेश पठाउने गतिलो कोसेली बन्न थालेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा खरिद गरेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि काबेली खोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुबै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । मिक्वाखोला गाउँपालिका वडा नं ४ सावाका सुनिल लिम्बूले हङ्कङमा बस्ने दिदीका लागि यसपाली सोही माछा कोसेलीका रूपमा रोजे । सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उनको भनाइ छ ।

व्यवसायीले पनि विदेशमा कोसेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । ‘बढीजसो कोसेलीकै रूपमा बिक्री हुन्छ’ स्थानीय व्यवसायी मिना राईले भनिन्, ‘धरान, काठमाडौं जस्ता ठाउँमा पनि जान्छ ।’ आलो माछालाई आगोमा सेकाएर सुकुटी बनाइन्छ । १२ देखि १४ घण्टा मत्थर आगोमा माछालाई सुकाएपछि माछा सुकुटी बन्छ । त्यो सुकेको माछा भने १ वर्षसम्म राख्दा पनि नसड्ने स्थानीयको भनाइ छ । सुकेको माछालाई पेरुङ्गो (बाँसको चोयाले बुनेको एक प्रकारको भाँडो) मा लगाइन्छ । आलो माछाको मूल्य भने प्रतिकिलो ८०० देखि एक हजारसम्म छ ।

आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी प्रेमराज राईका अनुसार सुकुटी माछाको माग धेरै आए पनि पु¥याउन सकिएको छैन । दैनिक जसो काबेली खोलाबाट त्यहाँका स्थानीय माझीहरूले ३० देखि ४० केजीसम्म माछा निकाल्ने गर्छन् । विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुने गरेको राईको अनुभव छ । छुट्टिमा नेपाल आएकाले विदेश फर्कंदा माछा कोसेली लिएर जाने चलन नै बसेको छ । व्यवसायीका अनुसार धेरै लानेमा हङ्कङ, युके बस्ने छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याई छ । खोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ ।

Final Machha sukako