वराहक्षेत्र/ फुटबल औधी रुचाउने उनी, गाउँमा हुने प्रत्येक फुटबल खेल हेर्न साथीहरूसँग जान्थिन् । कहिलेकाहीँ खेल हेर्न जाने साथी नभेटिए पनि एक्लै भए पनि उनी जान्छिन् । गाउँमा हुने कुनै पनि फुटबल नछुटाई नियमितजसो हेर्ने गरेकी उनलाई आफू पनि फुटबल खेल्न पाए हुन्थ्यो, गोलपोष्टमा गोल गरेपछि खेलाडीले पाउने हुटिङले उनलाई त्यो गोल आफैले गरेको जस्तो भान हुन्थ्यो ।
‘मलाई मैदानमा खेलाडीसँगै खेलुँ–खेलुँ झैं लाग्थ्यो । तर त्यतिखेर म सानै थिए, चार–पाँच वर्ष अगाडिसम्म त्यस्तै लाग्थ्यो । अहिले फुटबल खेलाडी भएकी छु’ –उनी खुशी हुँदै भन्छिन् । गाउँ नजिकै रहेको २२ बिघे जङ्गलमा रहेको सानो खेलमैदानमा उनी खेलाडी साथीहरूसँग नियमित फुटबलको अभ्यास गरिरहेको भेटिन्छिन् । लगनशील भएर बिहान ६ बजेदेखि लिएर बिहान ९ बजेसम्म कडा मेहनत गर्दै गरेकी भेटिने उनी हुन्, अन्तर्राष्ट्रिय महिला खेलाडी मनिषा विष्ट ।
झट्ट हेर्दा शारीरिक रूपमा सानै देखिए पनि ठूलो आत्मविश्वासका साथ सफल खेलाडी बन्ने सपना बोकेकी मनिषा वराहक्षेत्र नगरपालिकाकी उदीयमान खेलाडी हुन् भने अन्तर्राष्ट्रिय खेल खेल्ने गाउ“का खेलाडीहरूमा अग्रपंक्तिमा उनी आउँछिन् ।
‘म सानैदेखि फुटबल खेल्न रुचाउँथेँ । गाउँमा हुने फुटबलमा खेलाडी दाइहरूले हानेको गोल अनि दर्शकहरूले ताली बजाएको देख्दा धेरै खुशी लाग्थ्यो । सानोमा त फुटबल हेरेर नै फुटबल खेल्ने धोको पूरा गरेँ । त्यतिखेर सानै थिएँ, मौका पाइनँ, कक्षा ६ मा पढ्दा स्कुलमा हुने विद्यालय स्तरीय प्रतियोगिताहरूमा विस्तारै मौका पाउँदै गएँ । त्यहीँबाट मैले फुटबल खेल्न थालेकी हुँ’ मनिषाले भनिन्, ‘शुरु–शुरुमा त रहर लागेर खेलेँ, सफलता पनि पाउँदै गएँ । स्कुलबाट बाहिर खेल्न जाँदा कम्पिटिसन जित्दै गयौं । एक्कासि सूर्य (कोच) दाईले टिममा फुटबल खेल्छौं भन्दै अफर गर्नुभयो । मैले पनि हुन्छ, अनि व्यवसायिक भएर खेल्दैछु ।’
कहिलेदेखि हो नि औपचारिक फुटबल खेलाडी नै भएर खेल्न थालेको भन्ने जिज्ञासामा उनले हाँस्दै भनिन्, ‘खै, डेट चाहिँ थाहा भएन, तर ४ वर्षअगाडि हो जस्तो लाग्छ ।’ कतिवटा प्रतियोगिता खेलियो त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘वडा, जिल्ला र राष्ट्रिय स्तरमा हुने अण्डर फोर्टिन खेल प्रायः सबै खेलेको छु । अहिले भर्खरै धनकुटामा भएको प्रदेशस्तरीय अण्डर सिक्सटिन् खेलेँ अनि अन्तर्राष्ट्रियस्तरमा भने भुटानमा भएको प्रतियोगितामा खेलियो ।’ गत कार्तिकमा चतरामा भएको तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा दार्जिलिङसँग भएको फाइनल खेलमा लगातार ३ गोल लगाएकी मनिषाले उत्कृष्ट खेलको खुबै प्रशंसा बटुलिन् । धनकुटामा भएको प्रदेशस्तरीय खेलमा कर्नर बाट डाइरेक्ट सेकेण्ड बारमा गरेको २ गोल उनको सबैभन्दा मन पर्ने उत्कृष्ट गोल भएको बताइन् ।
वराहक्षेत्र नगरपालिका वडा नम्बर २ पुनरवास निवासी, घरकी कान्छी छोरी उनलाई घरबाट धेरै ठूलो सपोर्ट भएको उनी बताउँछिन् । ‘मम्मी ड्याडीले पढाइ र खेलकुदलाई मिलाएर लानू भन्नु हुन्छ । ४ वर्षदेखि माउण्ट एभरेष्ट सँग आबद्ध भएर खेलिरहेकी छु’–उनले थपिन् । घरपरिवार, साथीभाइ, विद्यालय र नगरपालिकाद्वारा रुचाइएकी खेलाडी हुन् मनिषा ।
भर्खरै एसईई दिएकी उनी पढ्ने आदर्श माविले पनि धेरै साथसहयोग गरेको छ । कहिले काहीँ परीक्षाको समयमा खेल्न बाहिर जानुपर्दा विद्यालयले समय व्यवस्थापन गरिदिएको आदर्श माविका सह–प्राचार्य ज्ञानबहादुर पाण्डेले बताए । ‘उनी हाम्रो विद्यालयको असल विद्यार्थी हुन्, त्योसँगै अन्तर्राष्ट्रियस्तरमा खेल्ने राम्रो खेलाडी पनि । स्थानीय गाउँ–टोल र वडाबाट उठेर अन्तर्राष्ट्रिय फुटबल खेल्ने मनिषा हाम्रो विद्यालयको मात्र होइन, नगरपालिकाकी गौरव हुन्’–सह–प्राचार्य पाण्डेले भने, ‘विद्यालयले त्यस्ता प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्न विद्यालयस्तरबाट विभिन्न नीति तथा कार्यक्रमहरू ल्याइरहेका छौं ।’
साइड मिडफिल्डर र अग्रपंक्ति फरवार्ड पोजिसनमा खेल्ने उनलाई इन्टरनेशनल प्लेयर भएर अन्तर्राष्ट्रियस्तरमा सफल र ठूलो खेलाडी बन्ने धोको छ । उनी भन्छिन्,‘सूर्य दाइले पनि धेरै मेहनत गरिरहनुहुन्छ । हामीलाई सधैँ बिहान–बेलुकी ३ घण्टा अनिवार्य अभ्यास गराउनुहुन्छ ।’ ‘हामी महिला खेलाडी भएर पनि होला हामीले खेल्ने प्रतियोगिताहरूमा बोलाइएका अतिथिहरू आइदिनुहुन्न ।
हामीलाई कहिले जर्सी, त कहिले जुत्ता–मोजा आदि फुटबलका लागि अति आवश्यक सामानको खाँचो हुन्छ, त्यसले गर्दा पनि हामीलाई अप्ठ्यारो हुन्छ । कतिसम्म भने हामीलाई ट्रेनिङको लागि एउटा राम्रो फुटबल ग्राउण्डसम्म छैन । अभ्यासका लागि जङ्गलमा आउनुपर्छ’ –आफू अभ्यास गर्दै गरेको मैदान देखाउँदै उनले गुनासो गरिन् । चक्रघट्टीको बाघ युवाक्लबले आफूसँगै तीनजनालाई नगद सहित सम्मान गरेको उनले बताइन् । तर स्थानीयस्तरमा भने त्यति सपोर्ट नभएको उनले बताइन् ।
स्थानीय ग्रामीणस्तरमा तीनाना अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन् । यसको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष तथा कोच सूर्य तुम्बाहाम्फेको अथक मेहनत, परिश्रमको देन हो यो सफलता । ‘हामीले एकजना हैन, तीनजना अन्तर्राष्ट्रिय खेलाडी पाएका छौं । यो सानो कुरा होइन’ फेरि एक पटक गर्व गर्दै सह–प्राचार्य पाण्डेले भने, ‘यसको मूल्याङ्कन त गरिनु पर्छ नि ।’ सामाजिक, सांस्कृतिक सकारात्मक रूपान्तरणको लागि खेलकुदको माध्यमबाट रचनात्मक योगदान गर्ने खेलाडीहरू देशकै गहना हुन् । खेलाडी सानो, ठूलो, गाउँ वा शहरको भन्ने हुँदैन । खेलाडी, खेलाडी हुन्छ । अहिले स्थानीय सरकारको अवधारणाको अभ्यास गरिरहँदा यस्ता खेलाडीको महŒव अझ बढेर जान्छ । गाउँले प्रतिभावान खेलाडीहरूको लागि केही गर्ने हो कि ?