वराहक्षेत्र/ प्राचीन हरिद्वार चतराधाममा शुरु भएको दोस्रो पिण्डेश्वर अर्धकुम्भमेला हप्ता दिन नलाग्दै अस्त–व्यत बन्न थालेको छ । 
मेला मूल आयोजक समिति र उपसमितिहरूले ध्यान नदिँदा कुम्भको व्यवस्थापन लथालिङ्ग हुनथालेको हो । मेलामा कतै खानेपानी छैन त कतै शौचालय अभाव छ । 
 
मेलामा होटल सञ्चालन गरिरहेका दिनेश साह समितिसँगै ३ हजार ५ सयदेखि ७ हजार ५ सयसम्म तिरेर होटल सञ्चालन गरे पनि पानी र शौचालयको सुविधा नदिइएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ रहेका करिब दश होटल व्यवसायीले पानी र शौचालयको सुविधा पाएका छैनन् ।’
 
अर्का स्थानीय व्यवसायी पुष्पा कार्र्कीले पनि स्टलको पैसा लिने समितिले तिर्खा लाग्दा पिउने पानीको समेत व्यवस्था नगरेको गुनासो गरिन् । उनले भनिन्, ‘पिसाब लाग्यो भने पनि सहेर बस्नुपर्ने अवस्था छ ।’ स्टलहरू राखिएको नजिकै रहेको रामानन्दाचार्य सेवापीठमा भएका शौचालय र धारामा चाबी लगाइएको छ । एउटा शौचालय खुल्ला भए पनि पानी छैन । 
 
मेलामा व्यवसाय गर्नेहरूलाई पानी र शौचालयको मात्र होइन, विद्युत्को पनि उस्तै समस्या छ । व्यवस्थापन समितिले व्यवसायीहरूसँग एउटा एलइडी बत्ती र फ्रिज राखेको ३ हजार ५ सयका दरले पैसा लिए पनि समितिले अझै पैसा नपुगेको भन्दै त्यति नै थप्न भनेको व्यवसायी कार्कीले बताइन् । उनले भनिन्, ‘पटकैपिच्छे समितिका मान्छे आउँदा समस्या राख्छौं तर एउटाले अर्कालाई देखाएर पन्छिन्छन् ।’
 
समितिले पैसा लिएर सुविधा नदिएको भन्दै आक्रोसित अर्का व्यवसायी पर्शुराम सिलवाल मेलाका नाममा लुट मच्चाएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘मेलामा स्टलहरूबाट मात्रै २४–२५ लाख उठाइएको छ तर सुविधा केही दिइएको छैन । यो लुट होइन र ?’
 
व्यापारीहरू बिचौलियाहरूले मनोमानी ढङ्गले स्टलको किनबेच गरिरहेको बताउँछन् । मङ्गलबार मात्र सप्तरीबाट मिठाई पसल थाप्न आइपुगेका एक व्यापारीले एउटा स्टलका लागि आफूले २५ हजार तिरेको बताए । बिचौलियालाई २० हजार बुझाइसकेको र पाँच हजार दिन बाँकी रहेको उनले बताए । उनले भने, ‘रोजीरोटीका लागि व्यापार गर्न आइयो तर यहाँ महँगोमा परियो ।’
 
मेलामा राखिएका स्टलको हिसाब गर्दा सात फिटका स्टलबाट मात्र १७ लाख ५० हजार र १५ फिटका स्टलसमेत गर्दा करिब २५ लाख रुपैयाँ उठ्छ । तर बजार समितिले ९ लाख मात्र उठाएको बताउँदै आएको छ । त्यसमध्ये २ लाख खर्च भएको बताइएको छ ।
 
यस विषयमा कुरा गर्दा बजार व्यवस्थापन उपसमिति की संयोजक सुशीला शेर्पाले मूलसमितिभित्रकै केही व्यक्तिले बदनाम गराउन खोजेको आरोप लगाइन् । 
 
कुम्भमेला मूलसमितिले बजार र यातायातलाई ठेक्का लगाउने निर्णय गरेको थियो तर, अहिलेसम्म ठेक्का भने लगाइएको छैन । शुरुमा ठेक्का लगाउने निर्णय भए पनि पछि निर्णय हटाइएको मूलसमितिका सह–संयोजक तथा वडा नं. १ का अध्यक्ष सुरेश श्रेष्ठले बताए । 
 
मेलामा यातायात ट्राफिक व्यवस्थापनको स्थिति पनि उस्तै छ । मुख्य मेलास्थल चतरा बजारदेखि कुम्भ र रामानन्दाचार्य सेवापीठसम्म यातायातका साधनलाई प्रवेश निषेध भनिए पनि निर्वाध रूपमा गाडी चलिरहेका छन् । चतरा बजार र खहरेमा ढाट लगाइएको छ तर त्यहाँ बसेका ट्राफिक प्रहरीले रोक्दैनन् । ढाटमा बसेका एक ट्राफिक प्रहरी भन्छन्, ‘हामी रोक्न खोज्छौं तर कोही मेयरको मान्छे भन्दै आउँछन्, कोही वडाध्यक्षको मान्छे भन्दै आउँछन्, के गर्ने ?’
 
कुम्भमेलाका कार्यालय सचिव चन्द्र थापा मगरले आफूनिकट व्यक्ति र टेम्पोलाई जथाभावी पास वितरण गरेको मेलाका सह–संयोजक सुरेश श्रेष्ठले आरोप लगाए । उनले भने, ‘यातायातको संयोजक त म हँु । उनले के को आधारमा पास बाँडे ? उनले अढाई सयभन्दा बढी पास छपाएका छन् भन्ने सुनेको छु ।’ सचिव मगर भने आफूले नियमभित्र रहेर पास उपलब्ध गराएको बताउँछन् ।