विराटनगर । मोरङको जहदा गाउँपालिकामा १८ जना बालबालिकाहरूमा कुपोषणसँगै क्षयरोग भएको भेटिएको छ ।
शरीरलाई आवश्यक सन्तुलित आहार अभावका कारण जहदा गापामा बालबालिकालाई कुपोषणसँगै क्षयरोग भएको पत्ता लागेको हो । गाउँपालिकाले बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत आयोजना गरेको कुपोषण परीक्षण शिविरमा पाँचवर्ष मुनीका १८ जना बालबालिकामा कुपोषणसँगै क्षयरोग भएको भेटिएको जहदा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले जानकारी दिए । शिविरमा परीक्षण गराउन आएका ५ वर्षमुनीका १८ बालबालिकामा क्षयरोगका कीटाणु भेटिएपछि अहिले उनीहरूको उपचारका लागि गाउँपालिकाले छुट्टै डट्स (स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी) मा राखेर औषधि सेवन गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख दासले बताए ।

‘७ वटा वडा रहेको यस गापामा दश दिनसम्म शिविर चलाएका थियौं’ उनले भने, ‘एक हजार ९३ जना बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १८ जना क्षयरोगी र ७५ जना कुपोषणको शिकार भएको पाइयो ।’ कुपोषण भएको बालबालिका पनि भेटिएपछि उपचारसँगै सन्तुलित आहारको विशेष व्यवस्थापन जहदा गापाले मिलाएको गाउँपालिकाले जनाएको छ । क्षयरोग देखिएकामध्ये अधिकांश बालबालिका कुपोषणको शिकारमा परेका छन् । गाउँपालिकाले कुपोषण भएका बालबालिकालाई पोषणयुक्त आहार उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको थियो ।

पोखरिया र सिसवनी स्वास्थ्य चौकीमा डट्स राखेको गाउँपालिकाले त्यहाँसम्म अभिभावकलाई आउने र जाने खर्च उपलब्ध गराएको छ । खर्च अभावले बालबालिकालाई दैनिक स्वास्थ्य चौकीसम्म लिएर आउन नसक्ने अवस्था भएका अभिभावकलाई प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च उपलब्ध गराएर बालबालिकालाई औषधि सेवन गराउने गरिएको हो । क्षयरोगको निःशुल्क परीक्षण र औषधि उपलब्ध हुने शिविरमा उपचारका लागि जाने बाटो खर्च गाउँपालिकाले उपलब्ध गराएको बताइएको छ ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डल नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभुताका लागि सचेत रहँदै देखिएका समस्या समाधानमा सक्रिय रहेको बताए । ‘सबै बालबालिकाको खान पाउने, स्वस्थ हुन पाउने र शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्ने कार्यक्रम अगाडि सारेको छ’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि अझै प्राथमिकतामा राख्नेछौं । स्वास्थ्य, शिक्षा र खाद्य अधिकारलाई गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेको छ ।’

जहदामा मात्रै पाँचवर्ष मुनीका ६ हजार पाँचसय बालबालिका रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था बुझ्न सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । चालू आर्थिक वर्षका लागि स्वास्थ्य शाखामार्फत् ६७ लाख ५० हजार रुपैयाँ निकासा गरिएको थियो । जसमध्ये गाउँपालिकाले ७ वटा वडामा बालस्वास्थ्य कार्यक्रममार्फत् पाँचवर्ष मुनीका बालबालिका स्वास्थ्य परीक्षणमा दुईलाख रुपैयाँ खर्चेको थियो ।

बालबालिकामा क्षयरोग देखिनुको मुख्य कारण कुपोषण रहेको विराटनगरस्थित नेपाल क्षयरोग निवारण केन्द्रका वरिष्ठ फिजिसियन तथा छाती रोग विशेषज्ञ डा. अस्मितानन्द ठाकुरले बताए । ‘रोगप्रतिरोधात्मक क्षमता कमजोर भएपछि क्षयरोगका कीटाणु सक्रिय हुन्छन्’ उनले भने, ‘यो सँगै रोग देखिन्छ । बालबालिकाको शारीरिक विकास सुस्त देखिए तत्काल परीक्षण गर्नुपर्ने हुन्छ ।’ क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुने चिकित्सकहरू बताउँछन् ।

नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरू निःशुल्क वितरण गराउँदै आएको छ ।
विराटनगरको हस्पिटल चौकमा रहेको नेपाल क्षयरोग निवारण केन्द्रमा मासिक रूपमा २० देखि ३० जना क्षयरोग भएका बालबालिकाले नियमित स्वास्थ्य जाँच गरी औषधि सेवन गर्दै आएको डाक्टर ठाकुरले जानकारी दिए । ‘अहिले नियमितरूपमा क्षयरोगी बालबालिकाहरू मासिक रूपमा स्वास्थ्य परीक्षण गराई औषधि लिएर जाने गरेका छन् ।’

दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकीपख ज्वरो आउनु, छाती दुख्नु, खाना अरुचि हुनु, खकारमा रगत देखिनु आदि क्षयरोगको लक्षण रहेको डा. ठाकुरले बताए ।