एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनी बुद्धिचाल खेलमा यति निपुण थिए कि उनको गाउँ र वरिपरिका गाउँलगायत शहर बजारसम्म उनको प्रसिद्धि फैलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई सो खेलमा परास्त गर्न सक्दैनथे र यसै कारण उनमा घमण्ड पनि पलाएको थियो । आफूलाई सो खेलको पारङ्गत ठानेर र घमण्डले चुर भएर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ भनेर लेखेर राखेछन् ।
एक दिन सो गाउँमा एकजना अर्को गाउँका कुनै अपरिचित बटुवा एउटा लङ्गडो गधा डो¥याउँदै त्यहाँ आइपुगे । अध्याँरो हुनै लाग्दा ती बटुवा सो ‘बुद्धिचाल बादशाह’ को घरमा पुगेछन् र तीनले ती बुद्धिचालका महारथीसँग एक पटक बुद्धिचाल खेल्ने प्रस्ताव राखेछन् । ती बुद्धिचालका महारथीले आफू जो पायो त्यहीसँग नखेल्ने र कुनै बाजी राखेमा मात्रै खेल्ने बताएछन् । ती बटुवाले आफूसँग सो बिरामी गधाबाहेक केही नभएको तर उनीसँग बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले सोही गधा बाजी राखेर खेल्ने बताएछन् ।
खेलाडी तयार भएछन् र खेल शुरु भएछ । नभन्दै ५–७ चालमै ती बटुवा हारेछन् र आफ्नो गधा ती महारथीलाई सुम्पेर आफ्नो बाटो लागेछन् । यता ती बुद्धिचालका महारथीले बिरामी गधाको उपचार गरेर ठीक पारी त्यसलाई आफ्नो काममा पनि लगाउन थालेछन् ।
केही दिन पछि ती बटुवा फेरी सो गाउँमा फर्केछन् र तीनले फेरी ‘बुद्धिचाल बादशाह’ सँग फेरि एक पटक खेल्ने इच्छा बताएछन् । आफूले हारेमा एक सय वटा चाँदीका सिक्का दिने र जितेमा आफ्नो गधा फिर्ता लिने शर्तमा दुबैजना खेल्न राजी भएछन् ।
यस पटक भने ४–५ चाल चल्ने बित्तिकै बुद्धिचालका बादशाहको नराम्रो हार भएछ । ती बटुवा कुनै साधारण खेलाडी नभई अत्यन्तै निपुण र प्रतिभाशाली खेलाडी भएको कुरा सबैले थाहा पाएपछि उनलाई सबैले ‘अघिल्लो पटक किन हारेको त ?’ भन्ने प्रश्न गरेछन् । ती बटुवा एकैछिन चुप लागे र बोल्न थालेछन् । ‘पहाडभन्दा ठूलो अर्को पहाड र आकाश भन्दा बाहिर अर्को आकाश हुन्छ, त्यसैले घमण्ड कसैले गर्नु हुँदैन ।.... अघिल्लो पटक म यो गाउँबाट हिँड्ने क्रममा मेरो गधा बिरामी भयो, त्यसैले मैले त केवल यसको निःशुल्क उपचार र हेरचाह गराउनको लागि मात्रै यो चाल चलेको थिएँ ।’