दमक/ दमक–७ स्थित सिद्धार्थ अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरेकी सविता श्रेष्ठ कक्षा ९ का लागि भने सामुदायिक विद्यालयमा प्रवेश परीक्षा दिन गइन् ।
 
८ कक्षासम्म निजी विद्यालयमा पढेकी श्रेष्ठलाई अहिले भने पढाइ राम्रो लाग्न छोड्यो । उनी भन्छिन्, ‘निजीले आफ्नो इज्जत बचाउन कमजोर विद्यार्थीको पनि नम्बर बढाएर हालिदिन्छन् अनि सक्षम र कमजोर विद्यार्थीको अवस्था उस्तै देखिन्छ ।’ त्यसैले आफूले निजी छोडेर दमक–२ मा रहेको हिमालय माध्यमिक विद्यालयमा कक्षा  ९ का लागि प्रवेश परीक्षा दिएको बताइन् ।
 
सामुदायिक विद्यालयको गुणस्तर खस्कियो । राज्यले विद्यालयमा गरेको लगानी बालुवामा पानीसरह भयो । शिक्षकले राजनीति गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम हुँदै गएकोबारे सर्वत्र बहस भइरहेको छ । त्यति मात्रै होइन, शिक्षा नीतिमा सुधार गर्न राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बहस पनि उत्तिकै छ ।
 
हिजोआज कतिपय स्थानीय तहले त सामुदायिक विद्यालयको सुधारका लागि भन्दै सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम पनि बनाएका छन् । तर, झापा दमकको हिमालय माध्यमिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न न त स्थानीय सरकारले निर्णय गरिदिनुपरेको छ, न त कुनै शैक्षिक नीति नियम नै बनाउनु परेको छ । अभिभावकको आकर्षण यही विद्यालयमा थामिनसक्नु छ । शिक्षकको सक्रियता लोभलाग्दो छ र विद्यार्थीको शैक्षिक गुणस्तर पनि नाम चलेका निजी विद्यालयकोभन्दा कम छैन ।
 
अहिले यो विद्यालयमा निजी विद्यालय छोडेर नयाँ भर्ना आउनेको भीड थेगिनसक्नुको छ । सबिता मात्र होइन, दमककै एरोन श्रेष्ठलाई दमक–६ को गायत्री विद्यापीठमा कक्षा ३ उत्तीर्ण गरेपछि कक्षा ४ मा भर्ना गराउन उनकी आमा एलिना हिमालय मावि पुगिन् । निजीभन्दा सामुदायिक विद्यालयको पढाइको स्तर राम्रो भएको उनी बताउँछिन् ।
 
एलिना दमककै एक निजी विद्यालयकी शिक्षिका पनि हुन् तर उनको पनि ध्यान भने सरकारी विद्यालयमै तानियो । उनी भन्छिन्, ‘हामी निजीमा पढाउँछौं, हामीलाई थाहा छ कसरी पढाइ हुन्छ भनेर ।’ निजीको जस्तो पढाइले विद्यार्थीको भविष्य उज्वल नहुने उनको बुझाइ छ । निजीमा विद्यार्थीलाई  घोकाएर, रटाएर जसरी पनि किताबको पाठ पढाइन्छ । तर सामुदायिक विद्यालयमा पाठलाई विभिन्न घटना र कार्यक्रममार्फत् नै बुझाइने भएकोले पनि आफ्नो छोरालाई सामुदायिकमा ल्याएको उनले बताइन् । 
 
यो विद्यालयमा शुक्रबार २ सय १५ विद्यार्थीका लागि खुलाइएको प्रवेश परीक्षामा ८ सय १६ जना विद्यार्थी सहभागी भएबाटै सामुदायिक विद्यालयमा बढ्दो आकर्षणको झल्को दिन्छ ।
 
यसरी नयाँ भर्ना हुन आउने अधिकांश विद्यार्थी निजी विद्यालय छोडेर आएका छन् । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद आचार्यका अनुसार १४ वर्षदेखि हिमालय माध्यमिक विद्यालयमा अङ्ग्रेजीका साथमा विभिन्न प्राविधिक विषय पढाइ हुँदै आइरहेको छ । शैक्षिक पद्धतिका साथै अन्य विभिन्न भौतिक, शैक्षिक गुणस्तर भएका कारण हिमालय माध्यमिक विद्यालय जिल्लाकै नमूना बन्न सफल भएको हो ।