श्रीअन्तु (इलाम)/ एघार वर्ष अघि ४–५ घरले शुरु गरेको इलाम जिल्लाको सूर्योदय नगरपालिका–४ र ५ अन्तुडाँडामा सञ्चालित होमस्टे (घरबास) व्यवसाय अहिले व्यवसायिक बनेको छ । हाल ४२ घरमा होमस्टे सञ्चालनमा छ । 
 
जतिखेर तात्कालीन सरकारले होमस्टेको अवधारणा ल्यायो त्यही बेलादेखि इलामको श्रीअन्तुमा होमस्टे शुरु भएको थियो । पहिलो पटक २०६५ सालमा अन्तुडाँडामा होमस्टे शुरु गर्दा नै समावेशी ढङ्गले शुरु गरिएको अन्तुडाँडा सामुदायिक होमस्टेका सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताए । होमस्टेलाई समावेशी ढङ्गले सञ्चालन गर्नुपर्छ भन्ने मूल्यमान्यता अनुरूप आले मगर, श्रेष्ठ, घिमिरे, राना मगर र तामाङ मिलेर ५ घरले होमस्टे सञ्चालन गरेको अध्यक्ष आलेले बताए । उनले होमस्टे स्थापना गर्दा सूर्योदय नगरपालिका–४ र ५ का धनकुमार आले मगर, एकराज घिमिरे, टेकबहादुर आले मगर, देव प्रधान, राम घिमिरे र अनु तामाङ रहेको बताए ।
 
विशेष गरेर कात्तिक, मङ्सिर र पौष महिनामा श्रीअन्तु डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको अर्का होमस्टे सञ्चालक टेकबहादुर आले मगर बताउँछन् । शुरुवाती क्षणमा पाहुनालाई खानाको परिकार भने जस्तो बनाउन नजान्दा पाहुनालाई खाना पस्केर दिने बेलामा आफैंलाई अफ्ठ्यारो लागेको अन्तुडाँडा आले टोलकी सुरेश आले होमस्टेका सञ्चालक अनु तामाङले बताइन् । उनले होमस्टे भन्ने बित्तिकै हरेक घर परिवारमा जे पाक्छ पूर्व तयारीबिना नै ग्राहकलाई सेवा प्रदान गर्ने भएर पनि होला होमस्टेमा आउने पाहुनाले अफ्ठ्यारो नमानी खाने गरेको बताइन् ।
 
शुरु–शुरुमा जस्तो पाक्यो, त्यस्तै दिने र खानेले पनि जस्तो दिए पनि खाने खाने गरेको भए पनि पछिल्लो समयमा भने ग्राहकको रोजाइअनुसारको मौलिक अग्र्यानिक परिकारहरू बनाएर दिने गरेको अनुले बताइन् । अनुले शुरुमा खासै कमाइ नभए पनि ५ वर्ष यता हरेक महिनामा खर्च कटाएर सरदर ७० हजारदेखि १ लाखसम्म आम्दानी हुने गरेको बताइन् । सिजनको बेलामा हरेक होमस्टेले मासिक लाख रुपैयाँ सहजै कमाउने गरेको अनु तामाङको अनुभव छ । 
 
सामान्यतया होमस्टेमा कोदोको रोटी, ढेँडो, फापरको रोटी, जडबुटी मिसाएको (स्याल) को तीनपाने, सिस्नुको तरकारी, मकैको भात, गुन्द्रुक, सिन्की, सिजनअनुसारको लेकमा पाइने तरकारीका परिकारहरू, लोकल भाले, लेखको कालो बङ्गुर खाना पाइने अर्का दिनेश होमस्टेका सञ्चालक एवम् प्रोपाइटर कसुम आलेले बताइन् । २०७० सालदेखि तीनभाइ दाजुभाइ सुरेश आले, कुमार आले र दिनेश आले मिलेर छुट्टाछुट्टै रूपमा आलेटोलमा सञ्चालन गरेको होमस्टे आजसम्म आइपुग्दा राम्रैसँग चलेको कसुमले बताइन् । अर्का कृषा होमस्टेका सञ्चालक कुमार आलेले ग्राहकको रोजाइअनुसारको सेवा सुविधा दिन थालेपछि त्यही अनुसारको सेवा शुल्क पनि लिने गरेको बताए ।
 
होमस्टेमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूका लागि मनोरञ्जन र त्यस क्षेत्रको पर्यटकीय स्थलहरूको जानकारीको लागि सूचना केन्द्रसमेत अन्तु भन्ज्याङ्गमा स्थापना गरिएको अन्तुडाँडा सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताए । पर्यटकहरूको मनोरञ्जनको लागि सम्भव भएसम्म हरेक साँझ नभए हरेक शुक्रबार र शनिबार साँझ सूचना केन्द्र रहेको स्थान अन्तुको भन्ज्याङ्गमा सांस्कृतिक कार्यक्रम हुने गरेको छ । पर्यटकहरूको लागि भनेर आयोजना गर्ने गरिएको सांस्कृतिक कार्यक्रमहरूमा तामाङ जातिको डम्फु सेलो, मगर जातिको हुर्रा नाच र राई जातिको साकेला नाच प्रदर्शन गर्ने गरिएको छ । अधिकांस समयमा होमस्टे खाली नहुने होमस्टे सञ्चालक एकराज घिमिरेले बताए । सूर्यादय हेर्न भारतको विभिन्न स्थानहरूबाट, नेपालको विभिन्न स्थानहरूबाट आउने गरेका छन् । सिजनका बेला विदेशी पर्यटकहरूको घुँइचो लाग्ने गरेको घिमिरेले बताए । 
 
हरेक होमस्टेमा हरेक महिना सरदर २ सयभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको सूचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ । वार्षिक रूपमा सामान्यतः अन्तुडाँडा होमस्टेमा १ लाख, ५० हजारभन्दा बढी पर्यटक आउने गरेको सञ्चालक दिनेश आले बताए । श्रीअन्तु डाँडामा जस्तै अन्यत्र पनि यसरी नै होमस्टेलाई व्यवस्थित गर्ने हो भने आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर आर्थिक उपार्जन गर्न सकिने थियो ।