मधुमल्ला/ मोरङको मिक्लाजुङ–७ डाँगीका नगेन्द्र भट्टराईले घरमा पानी तान्ने ट्युबेल गाडेका छन् । पहिलेका वर्ष त्यही ट्युबेलबाट पानी तानेर घर वरिपरिको खेतमा लगाउँथे ।
यसपालि भने ट्युबेलबाट पानी आउन छाड्यो । घर वरिपरिको खेतबारीमा सुख्खा लागेको छ । मिक्लाजुङ–७ मावा खोलाको नजिकै बसोबास गर्ने सन्तकुमार खड्गीको ट्युबेलबाट पनि पानी आउन छाड्यो । उनी भन्छन्, ‘पानी सुकेपछि सिंचाइमा समस्या भयो । मेरो मात्र होइन छिमेकीहरूका पनि मकै र अरु खेती सुक्न थालेका छन् ।’
यसपालि सुख्खा मौसम शुरु भएसँगै मावाखोला किनारका रुखपात, बोटबिरुवा मरे । त्यसपछि पहिला राम्रोसँग पानी आउने ट्युबेलहरू धमाधम सुक्न थाले । मावाखोलानजिकै खेतीपाती गर्ने स्थानीयहरू रुखपात र पानी सुकेपछि चिन्तामा परेका छन् । गाउँमा देखापरेको पानीको समस्या लिएर उनीहरू स्थानीय सरकारलाई अनुरोध गर्न पनि पुगे । तर गाउँलेका कुरा सुनुवाइ नभएको स्थानीय मनोज सुवेदी बताउँछन् । उनी भन्छन्, ‘खोलाको किनारमा पहिला हरियाली हुने खेती र वन यस वर्षदेखि मर्न थालेका छन् । खोलाबाट जथाभावी ढुङ्गा, गिट्टी निकालिएपछि यस्तो समस्या आएको हो ।’
मावाखोलामा गत आर्थिक वर्षमा झापा, मोरङ र इलाम जिल्लाले भिन्दाभिन्दै ठेक्का लगाए । त्यसपछि खोलामा जथाभावी दोहन शुरु भयो । ठेकेदारहरूले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) को ख्याल नगरी भेटेसम्म उत्खनन् गरे । त्यसपछि नै हो खोलानजिकका क्षेत्रमा सुख्खा लाग्न थालेको । आसपास क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् । मावाखोलामा झापा र मोरङ जिल्लाले संयुक्तरूपमा ठेक्का लगाएपछि अत्यधिक खोला दोहन भयो । त्यसपछि पानीको सतह गहिरिएर खोलाको दायाँ–बायाँको जमिन सुक्न थालेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका र झापाको दमक नगरपालिकाको सिमानामा रहेको मावाखोला मापदण्डविपरीत उत्खनन् भएको भन्दै स्थानीयले गत मङ्गलबार खोलामै पुगेर काम रोकिदिए । खोलामा जथाभावी उत्खनन् भएपछि बस्तीमा पानीको मुहान सुकेको, सिंचाइमा समस्या भएको र धानको व्याड राख्नेबेला हुन लाग्दा खोलाबाट खेतीमा पानि पु¥याउन समस्या भएकाले उत्खनन् रोकिएको स्थानीय चन्द्र दाहालले बताए ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ९ का स्थानीयवासीले उत्खनन् गर्दै गरेका एस्काभेटर र टिपर फर्काइदिएका थिए । स्थानीय मिक्लाजुङ गाउँपालिकामा डेलिगेशन गएर जथाभावी उत्खनन् बारे कुरा गर्दा उपभोक्ताको मागअनुसार स्थानीय सरकारले सम्बोधन नगरेको दाहाल बताउँछन् । स्थानीयले फर्काए पनि भोलिपल्टबाटै खोलाको पूर्वतर्फबाट पुनः उत्खनन् भइरहेको छ ।
चालू आर्थिक वर्षमा पनि आईईई रिपोर्ट विपरीत दमक नगरपालिकाले ठेक्का लगाउँदा ठेकेदारले जेसिभी र एस्काभेटर लगाएर नदीजन्य वस्तु उत्खनन् गरेका छन् । मावाखोलामा कुल एक मिटरभन्दा गहिरो खन्न नपाइने आईईईले रिपोर्ट दिए पनि खोलामा तीन मिटरभन्दा गहिरोसम्म खनिएको छ । यसरी उत्खनन् हुँदा खोला साविक पानी बग्ने स्थानभन्दा करिब २ देखि ३ मिटरसम्म गहिरो भएको छ ।
खोलामा गतवर्ष अत्यधिक उत्खनन् गरिएका कारण यो वर्ष पानी धेरै गहिरिएर बगेको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष सुशीलराज चौहान बताउँछन् । यस आर्थिक वर्षमा दमक नगरपालिकाले ९ करोड २९ लाख ९९ हजारमा ठेकेदार केन्द्र प्रसाईको शिवालिक निर्माण सेवालाई ठेक्का लगाएको छ । जसमा ४० हजार घनमिटर मिक्लाजुङ गाउँपालिका पर्छ । यसरी ठेक्का लगाइएका खोलाको बीचदेखि एकदेखि डेढ मिटरभन्दा गहिरो बनाउन पाइने छैन भने चौडाइ ३० मिटरदेखि ४५ मिटर भित्रमात्र उत्खनन् गर्न पाइने नियम छ । तर नियम विपरीत जथाभावी उत्खनन् भइरहँदा पनि सरोकारवालाले चासो देखाएका छैनन् ।