नेकपा माओवादी प्रदेश–१ समितिले वाम गठबन्धन हुनु अगावै इलामको उम्मेदवारहरूको सिफारिस गर्ने जिम्मा मलाई दिएको थियो । सोही मुताविक इलाम जिल्ला समितिको पहलमा उम्मेदवारको सिफारिस भएता पनि वाम गठबन्धनपछि देशैभर योजनाहरूको फेरबदल भएझैं इलाममा पनि भयो । २ प्रतिनिधिसभा र ४ प्रदेशसभामध्ये प्रतिनिधिसभा दुईको प्रदेश ख माओवादीको भागमा प¥यो । त्यसमा क. धिरेन शर्मा रमणको उम्मेदवारी थियो । निर्वाचन सकेलगतै पाँचथरका सबै नेतृत्वहरू आ–आफ्नोक्षेत्रबाट सम्बन्धित उम्मेदवारहरूलाई सहयोग गर्न कोही इलाम कोही झापातिर मङ्सिर २१ मा हुने चुनावका लागि झरिरहेका थिए भने, नैतिक जिम्मेवारीको हिसाबले पनि म नजाने कुरै भएन ।
पार्टीको योजनाअनुसार जनयुद्धको बेला इलामलाई कार्यक्षेत्र बनाएर एक वर्ष बिताएँ । मैले जिल्ला इञ्चार्जको भूमिकामा काम गरेको यो नै सबैभन्दा लामो कार्यकाल थियो । त्यसबेला देउराली बजारको प्रेम नाछिरिङको घरमा २–४ दिनसम्म आराम गरेर बस्ने हुन्थ्यो । युद्धविज्ञानको नियमानुसार एकैठाउँमा यसरी लामो समयसम्म बस्नु भनेको मृत्युलाई स्वीकार्नु नै हुन्थ्यो र व्यक्तिगत हिसाबले गतिशीलताको अभाव । तर आश्चर्यको कुरा म बाँचेँ । तत्कालीन शाही सेनाले आक्रमण गर्न सकेनन् ।
दूरीको हिसाबले देउरालीदेखि इलाम सदरमुकाम पैदल दुई घण्टाको फरकमा छ । कसैले चाहेको भए बेलुकी नै सदरमुकाम पुगेर रातारात सेना ल्याई मेरो लीला समाप्त पार्न सम्भव थियो । हिजोआज सम्झँदा लाग्छ, त्यसबेला एकैठाउँमा लामो समयसम्म बसेर वास्तवमा मैले मूर्खता त गरेकै रहेछु । धन्न देउराली बजार आसपासमा कोही पनि सुराकी थिएनछन् । जसले गर्दा आज मैले पुनर्जन्म पाएको हो । यसरी मलाई जीवनदान गर्नुहुने त्यसक्षेत्रका महान जनताप्रति मैले गर्ने श्रद्धा र सम्मानमा कहिल्यै कमी हुने छैन । मुख्यतयाः त्यसैले गर्दा पनि मन्त्री भएको बेला देउराली बजारमा रहेको खेल मैदानमा केही बजेट छुट्टयाइदिएको थिएँ । त्यसको अनुगमनका लागि २०७४ साल मङ्सिर १२ गत्ते त्यहाँ पुगेँ । प्रेम नाछिरिङलगायत चिनजानका सबै साथीहरूसँग चुनावी छलफलहरू भएसँगै त्यो रात देउरालीकै कुसुम राईको घरमा बास भयो । उहाँले हामीप्रति गर्नु भएको स्वागत, सम्मान र सत्कार वैदिककालमा कुनै दरवारबाट गरिने ऋषि महर्षिहरूको भन्दा कम थिएन ।
इलामको प्रमुख पर्यटकीयक्षेत्र देउरालीमा रहेको नौकुने पोखरीलाई हेरेँ । मनभरी चुमेँ अनि नियालेँ । पोखरीको वरिपरि स–साना थुम्कीहरू उठेका देखिन्छन् पोखरीको सुरक्षार्थ खटिएका तैनाथ जवानहरू जस्तै । पोखरीभित्र जानुभन्दा अगाडि ढोका सजिएको छ । आ–आफ्ना धार्मिक आस्थाका कारण ओल्लो र पल्लो थुम्काबीच विभिन्न धर्मावलम्बीहरूको तुल ब्यानर र ध्वजा पताकाहरू तोरणको रूपमा टाँगिएका छन् । हामी सानो छँदा सात दिनको पैदलयात्राबाट इलामदेखि खाद्यान्नलगायत आवश्यक सबै सामानहरू बाजे–बाबुहरूले ढाकरमा बोकेरै गर्जो टार्थे । दुर्गमता र गरिबीले गर्दा मैले पनि ढाकर बोक्ने संस्कारलाई सानो छँदादेखि पछ्याउनै प¥यो ।
त्यतिखेर यही पोखरीको दाहिने भागको छेउछेउ भएर ढाकर बोक्दै हिँडेको क्षणहरू एकपटक स्मरण गर्न विवश भएँ । यो पोखरीको नौ वटा कुनाहरू छन् भन्थे त्यतिखेर । मलाई एकिन छैन तैपनि पापीहरू हिँड्यो भने त पोखरी उम्लेर आउँछ र छेउछाउका सबै सोहोरेर डुबाइदिन्छ भनेर ठूलाहरूले तर्साउँथे । त्योबाहेक अर्को बाटो नहुँदा डराइडराइ ढाकरमा सातु चामल बोकेर हिँडिरहेका हुन्थ्यौं हामी सानाहरू । ढाकरलाई अढ्याउने नाम्लो र लाप्ताकको भरमा । पसिना पुछ्ने चोयाको कुङ्लिङ्गे र टेक्ने तक्माको भरमा । त्यतिबेला चौतारीहरू भेट्दा स्वर्गको अनुभूत हुने गथ्र्यो । जहाँ ढाकर बिसाएर एकैछिन भए पनि आनन्दको सास फेर्न पाइन्थ्यो । एक समयमा भारतीय भूपू राष्ट्रपति एवम् वैज्ञानिक डा. अब्दुल कलामको सामु मान्छेलाई कुनबेला आनन्द हुन्छ ? भनेर पत्रकारले सोधेका थिए । उहाँको जवाफ थियो, लागेको दिसा गरिसकेपछि र आएको पिसाब फेरिसकेपछि बाहेक मान्छेलाई आनन्द हुने कुनै क्षण हुँदैन । उहाँको जवाफमा बोकी राखेको भारी चौतारीमा बिसाएपछि भन्ने वाक्य पनि सँगसँगै जोडिएर आएको भए हुन्थ्यो, सायद उहाँलाई ढाकर बोकाइको अनुभव नभएर हुन सदक्छ ।
कन्दमूलको खोजीमा जङ्गलतिर विहार गरिरहेको कुनै साधुझैं माईपोखरीको ओल्लोछेउ र पल्लोछेउ हुँदै म घुमिरहेको थिएँ । विचरण गरिरहेको थिएँ र डुलिरहेको थिएँ आफ्नै सुर र तालमा । कतिखेर, कतिखेर, मैले थाहै नपाई मेरो विगत आएर मलाई गर्लम्मै अँगालो हालेछ । म र विगतबीचको पूनर्मिलनमा खुशीका आँसुहरू टप्किए । उसले पनि बितेका हरपलहरू सम्झेर भावाञ्जलीमा आफ्नो आँसुहरू झार्दै आजका यी दिनहरू देखेर परीक्षामा सफल भएको विद्यार्थीझैं मुस्कुराइ रहेका थिए, तर म नतमस्तक थिएँ । अक्क न बक्क थिएँ । विगतको न्यानो अँगालोमा हराइरहेकै बेला सम्झेँ, त्यसबेला मैले जे–जे कष्टहरू व्यहोरेँ ।
कालो पहाडभन्दा चाम्रो अभावहरूमा गुज्रेँ । त्यो बाल्यकालले कुन दुःखको अनुभव गरेन होला ? पूर्वतिर प्रचलन नभएर मात्रै हो, यदि त्यो हाम्रो भेगतिर पनि चलनचल्तीमा आएको हुँदो हो त, पश्चिमका कम्लहरीहरू भन्दा फरक जीवन थिएन मेरो पनि । तिनै भोगाइ र अनुभवहरूद्वारा प्राप्त ज्ञान चेतनाहरू आज संसारको कुनै विश्वविद्यालयबाट समेत प्राप्त गर्न नसकिने जीवनोपयोगी, परिपक्व र व्यवहारिक शिक्षाको महत्वपूर्ण दस्तावेज बनेका छन्, आफ्नै जीन्दगीको लागि । किनकि त्यतिबेला त्यो भोकोपेट र रित्तो गोजीद्वारा लिइएको शिक्षाहरू थिएछन् । सामाजिक अपमान र अपहेलनाको थुङ्गाबाट उनिएको मालाहरू थिएछन्, र न आज समयको बदलावसँगै ती क्षणहरू कुनै दुःख, कष्ट र हैरानी नभएर त्यो त आवश्यकता पो थिएछ भन्ने परिवेशमा रुपान्तरण भएको छ । यतिकैमा मेरो विगतले मलाई एक्लै छाडेर गयो । म फेरि त्यहीं एकान्तमा रमाउन थालेँ ।
सुरिल्लो गोब्रेसल्लाका रुखहरूले भरिएको हरियो वन, भित्रभित्रै त्यहीं हराइरहुँ जस्तो लाग्ने, दिनभर डुलिरहुँ जस्तो लाग्ने, आकर्षण नै अचम्मको छ । मसिना–मसिना बुच्का–बुच्कीहरू त्यस्तै छन् । प्रकृतिको हरियो घुम्टोभित्र लुकेको आभास हुन्छ कुनै बेहुलीलाई सिंगारिएको जस्तो । यिनै वनभित्र लुकेको छ देउरालीको नौकुने पोखरी । जति हे¥यो उति हेरुँ–हेरुँ लाग्दछ । सायद यसै कारणले होला त्यहाँ पुग्ने हरेक पर्यटकहरू लोभिन्छन् नौकुने पोखरीमा । तिनै पूर्वकी रारालाई मैले भावनात्मक रुपले अँगालोमा बाँधेर धिरेन शर्मा क. रमणलाई सहयोग गर्न आफ्नो गन्तव्यतिर म मोडिएँ ।