धरान । लोकगायिका अम्विका दवाडी सङ्खुवासभाका शेर्पा तामाङलगायतले गाउने लोकभाकाको गीत रेकर्डिङमा अचेल व्यस्त छिन् । उनलाई साथ दिएका छन् मोतीराज सुनुवारले । सुनुवारको सङ्कलन रहेको उक्त लोकभाकाको गीतको रेकर्डिङ भर्खरै सकिएको दवाडीले बताइन् ।

आर्थिक रूपले सक्षम भएकाले जागिरको कुनै जरुरत नभएकी रेडियो नेपालकी पूर्व कार्यक्रम प्रस्तोता दवाडी हाल विजयपुर एफएममा कार्यरत छिन् । गीत गुन्गुनाउँदै बसेको बेला भेटिएकी दवाडीले भनिन्, ‘सङ्खुवासभाली लोकभाकाकालागि मैले निकै मेहनत गरेकी छु । श्रोताहरूले मन नपराउने त कुरै छैन ।’

आठवर्षसम्म धनकुटास्थित रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्दागर्दै विवाह भएपछि धरान झरेकी अम्विका फेरि रेडियोमा फर्केर आफ्नो सौख पूरा गर्दैछिन् । १२ वर्षमा खोला फर्किन्छ भने झैं उनी फेरि रेडियोमा फर्केकी छन् । हाल धरानको विजयपुर एफएममा लोकभाका कार्यक्रम सञ्चालन गर्दै आएकी ४० वर्षीया उनी रेडियोमा श्रोतासँग बोल्न पाउँदा दङ्ग पर्छिन् । रेडियोमा बोल्नु, लोकलयका गीत सुनाउनु उनको ‘हबी’ हो । उनलाई थाहा छ, स्थानीय एफएमहरूले कार्यक्रम प्रस्तोतालाई धेरै तलब–भत्ता सुविधा दिन सक्दैनन् ।

हाल धरान–८ वरगाछीमा बस्दै आएकी उनले भनिन्, ‘तर रेडियोकर्मी हुनु भनेको पैसा मात्र हेर्नु होइन रहेछ । कार्यक्रम मार्फत् श्रोताको मन बहलाएर आनन्द दिनु पनि कर्तव्य हो । मैले जे सिकेँ जानेँ त्यही कुरा श्रोतालाई दिन पाउँदा खुशी लाग्छ । नयाँ पुस्ताले पहिले आफूलाई दक्ष र सक्षम बनाएर रेडियोमा प्रवेश गर्नु उचित हुन्छ ।’

कुनै बेला रेडियो नेपालबाट दशैंको बेला मालश्री धुनपछि प्रसारण हुने ‘शुम्भ निशुम्भ बध’ नामक रेडियो नाटकमा देवीको भूमिका खेल्दा शुम्भ निशुम्भलाई मार्नुअगाडि हाँसेको खित्का सायद धेरैलाई याद होला । हो, मदनदाश श्रेष्ठले निर्देशन गरेको उक्त रेडियो नाटकमा राक्षसको अट्टहास विरुद्धको देवीको बेजोड खित्काले उनलाई मुलुकभर चर्चित बनायो ।

लोकगायिका, कार्यक्रम प्रस्तोता, रेडियो नाटककी कलाकार र गीत तथा लय सङ्कलकको रूपमा चिनिएकी अम्विका दवाडीले २०५० सालमा रेडियो नेपालको लोकदोहोरी प्रतियोगितामा विजेता भएपछि २०५२ सालदेखि रेडियो नेपालमा जागिरे भइन् ।

उनले भनिन्, ‘विवाह भएपछि रेडियो, गीतसङ्गीत क्षेत्रबाट करिब १२ वर्ष अलग हुँदा समय कटाउन मलाई कम्ती गाह्रो भएन । यद्यपि मैले सङ्कलन गरेका र गाएका लोक लयका करिब चारदर्जन गीतहरू विभिन्न एफएम र रेडियो नेपालबाट बज्दा भने सन्तोष मानेर बसेको थिएँ ।’

आफ्नो गीतहरू रेडियोमा बजेरमात्र मनमा सन्तोष नलागेपछि उनले स्थानीय विजयपुर एफएमकी कार्यकारी निर्देशक हिमाल राईस“ग लोकलयका गीत बजाउनका लागि रेडियो कार्यक्रम सञ्चालन गर्ने कुरा राखेपछि विगत तीन वर्षदेखि फेरि रेडियोमा फर्केको बताइन् ।

एक छोराकी आमा अम्विकाले नेपाली भाषाको लोकलयका गीतमात्र नगाएर लिम्बू, राई, मगर, मैथिली, भोजपुरी, तामाङ, थारुलगायत भाषाका लोकलयका गीतहरू गाएकी छन् । यिनै लोकलयका गीतबाट परिचय बनाएकाले उनका साथीसङ्गीहरू पनि लिम्बू, राई समुदायका बढी छन् ।

उनले सङ्कलन र स्वर दिएको वासुदेव मुनालसँग गाएको लिम्बूलयको ‘धानै नाचिन्छ कान्छा कति बाँचिन्छ’, आफ्नै बहिनी जापान दुवाडीसँग गाएको असारे गीत ‘हो हो रे हो हो हो’ असारे मैना पानी है पर्यो, अनुजा पराजुली, लेखु विवस र रमेश राईसँग गाएको पूर्वेली लोकभाकाको ‘आऊ बैनी उकालीका चौतारीमा बसौं, एकल स्वर भएको पश्चिमे भाकाको ‘सललल त्यो खेला बगेको छैन मेरो योमन हाँसेको, रत्नकुमार विश्वकर्मासँग गाएको पूर्वेली भाकाको ‘उड्यो मन भेडीको ऊनजस्तो धनकुटे बसैमालगायत चर्चित गीत छन् ।

पूर्वका विभिन्न ठाउँमा आयोजना हुने साङ्गीतिक कार्यक्रममा उनलाई गीत गाउन बोलाउने गरिएकाले प्रायः व्यस्त हुन्छिन् । उनका पुराना फ्यानहरूले बोलाएर सम्मान गर्ने गरेका छन् । अरु गीतका भन्दा धेरै नेपाली लोकलयका गीतका श्रोताहरू भएकाले उनी आफ्ना सङ्कलन र स्वरका गीत समेटेर एल्बम् निकाल्ने र वास्तविक लोकसंस्कृति झल्काउने गरी म्युजिक भिडियो बनाउने तयारीमा पनि जुटेकी छन् ।