इटहरी/ नयाँ शैक्षिक सत्र शुरु भएसँगै सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई आकर्षण गर्न नयाँ–नयाँ स्किम ल्याएका छन् । विद्यार्थी नै नपाएर हैरान हुने इटहरीका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय भने विद्यार्थीको चाप अत्यधिक बढेको छ ।
केही समयअघि सुनसरी इटहरीमा सामुदायिक विद्यालयमा विद्यार्थी नपाएर हैरान हुने गरेका थिए । नाम चलेका सामुदायिक विद्यालयमै विद्यार्थीको सङ्ख्या घटेपछि कसरी विद्यार्थी ल्याउने भन्ने चिन्तित हुने गरेका थिए । तर अहिले समय फेरिएको छ । इटहरीका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढेको पाइएको छ । २ वटा गाडीसहितको राष्ट्रिय मावि इटहरी १ मा विद्यार्थीको चाप थामिनसक्नु छ ।
कक्षा कोठामा विद्यार्थीहरूको चाप बढेसँगै सेक्सनसहितको कक्षा कोठामा पढाइ भइरहेको बताउँछन्, शिक्षक रोवन कार्की । उनी भन्छन्, ‘विद्यालयमा विद्यार्थीहरूको जाम थामिनसक्नु छ । दुई पटक इन्ट्रान्स लिएर अहिले भर्ना अभियान नै रोकेका छौ ।’ सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई आकर्षण गर्न अङ्ग्रेजी माध्यमको पढाइ, बस सेवा सञ्चालन, स्मार्ट अध्यापन शैली लागू गरेसँगै विद्यार्थीको आकर्षण बढेको पाइएको हो । निजी विद्यालयमा हुने सबै सेवा सुविधा सामुदायिक विद्यालयमा पाइएपछि निजी स्कुलका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा पढ्न आएका छन् ।
इटहरीमा सञ्चालित सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरेपछि इटहरीको जनतामा विद्यार्थीको चाप अत्यधिक भएको सह–प्राचार्य पशुपति सिक्देलले जानकारी दिए । विद्यालयले पूर्ण अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरिएको उनको भनाइ छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि सो विद्यालयमा करिब एक हजार विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका थिए ।
जहाँ २ सय ९० जनामात्रै विद्यार्थी लिइएको थियो । पहिले–पहिले विद्यार्थी नहुँदा आएका सबै विद्यार्थी भर्ना हुने गर्दथे । तर अहिले विद्यार्थी भर्ना हुन अनिवार्य प्रवेश परीक्षा उर्तीण हुनुपर्ने प्रावधान शुरु गरिएको छ । कविर माविकी प्रधानध्यापक मिनु न्यौपानेले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना लिने गरिएको बताइन् । यसवर्ष विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या अरु बेलाभन्दा बढेको उनको भनाइ छ । अहिले विद्यार्थीहरू भर्ना गराउन आउनेको सङ्ख्यासमेत बढेको न्यौपानेको भनाइ छ ।
सुनसरीको इटहरीमा मात्रै ३७ सामुदायिक विद्यालय रहेका छन् । प्रायः सबै विद्यालयमा विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालयहरूले शुरु गरेको अङ्ग्रेजी माध्यमको पढाइ, यातायातको बस सेवा, अडियो–भिडियोसहितको स्मार्ट पढाइ, प्रोजक्टर माध्यमको पढाइ, सिसी क्यामेराबाट विद्यार्थीको निरीक्षणलगायतका सुधारका स्किमले सामुदायिक विद्यालयहरूमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ । सामुदायिक विद्यालयहरूले विद्यार्थी त पाएका छन् तर नतिजा कस्तो निकाल्ने हुन त्यो हेर्न भने एक वर्ष पर्खनै पर्छ ।