उदयपुर/ उदयपुरको रौतामाईको एक गाउँमा सडकको पहुँच नपुग्दा विकासको काममा काँध र थाप्लोकै भर छ ।
रौतामाई गाउँपालिका–५ का दुकुर्चुङ–क्युरेनी–खानीडाँडा विद्युत विस्तार आयोजनाको काममा बिजुलीको आवश्यक सामग्री काँध र थाप्लोमै बोक्न स्थानीय बाध्य भएका हुन् । सडकको अभावमा बिजुलीको फलामे पोल, तार र ट्रान्स्फर्मर गाउँलेहरूले काँधमै बोकेर ल्याएको आयोजनाको सचिव राईले बताए । बिजुली बत्ती आइसकेपछि क्युरेनी, दुकुर्चुङ, खानीडाँडा, जगरे, चुचेआँप, फलामेका करिब ५० घर परिवार लाभान्वित हुने सचिव राईले बताए ।
यस गाउँमा सडकको ट्रयाकसमेत पुगेको छैन । ट्रयाक्टरमा लगिएको सामान गाउँसम्म बोकेर पु¥याउन करिब ५ घण्टा लाग्ने सचिव राईले बताए । ट्रान्स्फर्मर बाँसमा डोरी र तारले बाँधेर १२ जनाले बोकेर ल्याएका थिए भने तार र पोल २÷४ जनासम्मले बोकेर ल्याएको सचिव राईले बताए ।
वडाको पहलमा प्रदेश सरकारबाट ७ लाख बजेट परेपछि गाउँमा बत्ती बाल्न लागेको सचिव राईले बताए । विद्युत विस्तारको काम २०६७ सालदेखि नै थालिएको थियो । करिब ८ किलोमिटर दूरीको विद्युत विस्तारको काममा गाउँलेहरू लागिपरेका छन् । वैशाखभित्र बत्ती बाल्ने लक्ष्य लिएको सचिव राईले बताए ।
लामो प्रयास र प्रतीक्षापछि पूरा हुन लागेको सपना साकार पार्न काँध र थाप्लोमै बिजुलीको सामग्री बोकेको स्थानीयले बताएका छन् । ‘केन्द्र सरकार हुँदादेखिको पहल हो तर टालटुले बजेटले गर्दा कामको शुरुवाती नाममात्रै रहेको थियो ।’ स्थानीयले भने ।
विकासको पूर्वाधार मध्ये एक बत्ती भएकाले सडक को पूर्वाधारविनै मुख नताकी पुरानै शैलीमा बिजुलीको सामान बोकेर गाउँमा बत्ती बाल्न गाउँले लागि परेको स्थानीय युवा नवीन राईले बताए । गाउँमा बत्ती बल्नका लागि गाउँका युवा युवती, महिला र ज्येष्ठ नगरिकसमेत सामान बोक्न लागिपरेको राईले बताए ।