२०७२ असार १० गतेदेखि राखेपका सदस्यसचिवको जिम्मेवारी सम्हालेका इटहरीका केशव विष्टले खेलकुद क्षेत्रमा इटहरीको मुहार फेरिदिएका छन् । रङ्गशालाभित्र अहिले १५ देखि १६ वटा खेलका पूर्वाधार बनाइँदै छ । करोडौं लागतमा निर्माण भएका संरचनाहरूले इटहरीको गरिमा बढाउँदै छ । विष्ट इटहरी आउँदा हरेक पल्टजस्तो खेलकुदका संरचना शिलान्यास र उद्घाटन गनु नियमित तालिका नै बनेको छ । खेलकुदप्रति सरकारले उपेक्षा गरेको गुनासो जताजतै सुन्न सकिन्छ ।
तर इटहरी त्यस्तो भाग्यमानी शहर बनेको छ । प्रदेश नम्बर १ को राजधानी दावी गरिएको इटहरी खेलकुद क्षेत्रको समेत हब बन्दै गएको छ । स्थानीय निकायको निर्वाचनमा राजनीतिक दलहरूले पनि इटहरीलाई स्पोर्टस् सिटीको अवधारणा सार्वजनिक गरे तर स्थानीय तहले सिन्को भाँचेन, काम गरेन । त्यो भन्दा पनि इटहरीको रङ्गशाला र अन्यत्र गरी खेलकुदमा करोडौं रुपैयाँको बजेट विनियोजन भएको छ । साढे ७ कट्ठा जग्गामा फैलिएको रङ्गशालामा निर्माण हुने भौतिक पूर्वाधारबाहेक इटहरी आसपासमा पनि खेलकुदमा लगानी बढेपछि खेल क्षेत्र व्यवसायिक हुने खेल सम्बद्ध संस्थाहरू आशामा छन् । लगानी बढ्दै जाँदा इटहरीलाई स्पोटर््स सिटीका रूपमा विकासका लागि पूर्वाधारहरूमा ठूलो लगानी भइरहेकाले इटहरी स्पोर्ट्स सिटीका रूपमा विकास हुने सम्भावना बढेको छ । इटहरीका युवा व्यवसायीले निजी लगानीबाट पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटसल खेल भवन निर्माण पनि भइसकेको छ ।
७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका झण्डै आधा दर्जन खेल इटहरीमा भए । इटहरीमै पटकपटक अन्तर्राष्ट्रियस्तरको फुटबल, भलिबल, तेक्वान्दो, करातेलगायतका विभिन्न प्रतियोगिता भए । इटहरीमा रहेको राष्ट्रिय जागृति क्लबले पनि निरन्तर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना गरिरहेको छ । इटहरीमा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितासमेत भएका छन् । इटहरीलाई सम्झिरहने कारण भने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हो, जसले इटहरीको खेलकुदमा नयाँ आयाम ल्यायो । सिमित भौतिक पूर्वाधारमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल आयोजना गरिएपछि विवादमा तानिए पनि पूर्वाधार निर्माणमा अहिले इटहरी लोभलाग्दो तरिकाले अघि बढेको छ । यसका कारण इटहरी अब स्पोर्ट्स सिटीका रूपमा आफ्नो नयाँ परिचय स्थापित गर्न तल्लीन छ । स्पोर्ट्स सिटीका रूपमा उदाउँदै इटहरी खेलकुदका लागि एकपछि अर्को लगानी हुँदै आएपछि तथा राष्ट्रिय खेलकुद परिषद्ले नै विशेष प्राथमिकताका साथ सहयोग गरेपछि इटहरीलाई स्पोर्ट्स सिटीका रूपमा विकास गरिँदै छ । अहिले पूर्वाधारहरूमा ठूलो लगानी भइरहेकाले इटहरी विस्तारै स्पोर्ट्स हब बन्ने पक्का छ ।
राखेप सदस्य सचिव केशवकुमार विष्टको पनि इटहरीमा विशेष लगाव रहेको देखिन्छ । त्यसैले पनि उनी इटहरीको खेलकुद विकासमा आवश्यक भौतिक संरचनाका लागि ठूलो चासो दिइरहेका छन् । त्यसो त विष्ट इटहरीवासी भएकै नाताले पनि उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अहिलेसम्म खेलकुदका लागि इटहरीको पहिचान स्थापित गर्ने प्रयास गरिरहेका छन् । सुनसरीको धरान पर्यटकीय शहर, विराटनगर औद्योगिक शहरका रूपमा चिनिने तर इटहरीको आफ्नो छुट्टै परिचय नभएकाले अब इटहरी स्पोर्ट्स सिटीको अवधारणाअनुसार अघि बढ्नु पर्छ । बाहिरबाट आउने र नियमित प्रशिक्षणमा बस्नुपर्ने खेलाडीलाई मध्यनजर गर्दै होस्टलको व्यवस्था गरिएको हो । राष्ट्रिय प्रतियोगिता निरन्तर इटहरीमा संरचना निर्माणसँगै ठूला प्रतियोगिता भइरहेकाले पनि विस्तारै इटहरीमा खेल क्रेज बढ्दै गएको छ । पछिल्लो समय इटहरीमा एकपछि अर्को ठूला प्रतियोगिताहरू भइरहेका छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका झण्डै आधा दर्जन खेल इटहरीमा भएयता अन्य विभिन्न प्रतियोगिताहरू पनि निरन्तर भइरहेका छन् ।
इटहरीमै सर्वाधिक राशिको मदन भण्डारी इटहरी गोल्डकप, प्रथम सांसद कप राष्ट्रिय रात्रिकालीन भलिबल प्रतियोगिता भए । त्यस्तै, इटहरीमै पटक–पटक अन्तर्राष्ट्रियस्तरको फुटबल, भलिबल, तेक्वान्दो, करातेलगायत विभिन्न प्रतियोगिता भइरहेका छन् । इटहरीमा एकपछि अर्को ठूलो प्रतियोगिता र निर्माण भइरहेका संरचनाले सर्वाधिक खुसी खेलकुदकर्मीहरू नै देखिन्छन् । इटहरीमै अत्याधुनिक क्रिकेटको इनडोर र आउटडोरको भवन अन्तिम चरणमा पुग्दा क्रिकेटमा नयाँ परिचय पाउने विश्वासमा इटहरीवासी रहेका छन् । इटहरीलाई नेपालकै पहिलो खेलकुद शहरका रूपमा घोषणा गर्ने अभियान ढिला हुुन हुँदैन । शहरको पहिचान स्थापित गराउन कसै न कसैले केही न केही त्याग त गर्नैपर्छ ।
प्रदेश एककै सुन्दर शहर इटहरीलाई प्रदेश एकको खेलकुद शहर घोषणा गर्ने अभियानमा ढिलासुस्ती गर्नु हुँदैन । इटहरीको खेल मैदान आफैंमा अत्यन्तै सुन्दर र धेरैवटा खेल एकै स्थानमा गर्न सकिने गरी विकास भइरहेको छ । भौतिक संरचना अत्याधिक बनिरहेको शहरमा स्थानीय तहले पनि सहयोग गर्दै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ । धेरैभन्दा धेरै खेलाडी उत्पादनमा लाग्ने हो भने आगामी दिनमा इटहरी एउटा खेलकुद नगरीका रूपमा विकास हुन सक्छ । प्रदेश एककै जक्सन इटहरीलाई खेलकुदको उर्वरभूमि बनाउन भने खेलाडी उत्पादनमै ध्यान दिनु पर्ने देखिन्छ ।