धरान/ पिण्डेश्वर विद्यापीठ (क्याम्पस) र पिण्डेश्वर मन्दिरबीचको जग्गा स्वामित्व विवाद चर्किएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट पनि निक्र्यौल निस्कन नसकेपछि विद्यापीठले फेरि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । विद्यापीठले चर्चेको १८ बिघा १३ कठ्ठा ८ धुर जग्गामध्ये २८ नम्बर कित्ता ११ (ङ) को १ बिघा १५ कठ्ठा जग्गामा गुठी संस्थान र विद्यापीठ दुवैले तिरो तिर्दै आएकाले छिनोफानोका लागि दोस्रो पटक मुद्दा दायर गर्ने तयारी गरेको हो ।
विद्यापीठका प्राचार्य डा.चन्द्रमणि नेपालकाअनुसार ०८ साल अगाडि पिण्डेश्वर मन्दिर, चतराधाम र रामधुनी मठ गरी तीनवटै मिलाएर २५–२५ हण्डी (साधुसन्तका लागि खाना) को व्यवस्था गरिएको थियो । सोही साल पिण्डेश्वर संस्कृत महाविद्यालय स्थापना भएपछि उक्त सबै हण्डी संस्कृत अध्ययन गर्न आउने विद्यार्थीका लागि व्यवस्था गरियो ।
प्राचार्य नेपालले भने, ‘०३४ सालमा विद्यापीठले उक्त जग्गा मालपोतमा आफ्नो स्वामित्वमा दर्ता गरेर तिरो तिर्न थाल्यो तर ०४४ सालमा मन्दिरको नाममा गुठीको रूपमा दर्ता गरेपछि दोहोरो स्वामित्व विवाद सुल्झाउन सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो ।
सर्वोच्च अदालतले ०६१ जेठ १२ गते फैसला गर्दै गुठी संस्थान सञ्चालक समितिको ०५७ जेठ ३० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी विद्यापीठको नाममा दर्ता कायम गर्न गराउन आदेश दिएको थियो ।’ उक्त आदेश पत्र लिएर विद्यापीठले पिण्डेश्वर मठको नाममा कायम रहेको दर्ता बदर गरिदिन सुनसरी मालपोत कार्यालयमा निवेदन दिएपछि मालपोत कार्यालयले ०६२ जेठ ५ गते गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्र लेख्दै दोहोरो दर्ता बदर सम्बन्धमा प्रतिक्रिया लिन राय सुझाव मागेको थियो ।
प्राचार्य नेपालले भने, ‘सर्वोच्च अदालतको आदेशअनुसार मालपोतले पिण्डेश्वर मठको नाममा भएको दोहोरो दर्ता सिधै खारेज गरेर विद्यापीठको नाममा कायम राखिदिनु पर्नेमा गुठी संस्थान केन्द्रीय कार्यालयको राय माग्न थालेपछि गुठी संस्थानले हालसम्म कुनै राय प्रतिक्रिया जनाउन आनाकानी गर्यो । यसको अर्थ उक्त जग्गाको स्वामित्व छाड्न नमानेको बुझिन्छ । यसैकारण विद्यापीठले फेरि मुद्दा दायर गर्न लागेको हो ।’
दोहोरो स्वामित्वमा अदालतले विद्यापीठको पक्षमा छिनोफानो गरे पनि गुठी संस्थानको केन्द्रीय कार्यालयले उक्त जग्गा अझै गुठी संस्थान मातहत पिण्डेश्वर मन्दिरको नाममा कायम गर्न चाहेपछि आन्तरिक विवाद चुलिँदै गएको विद्यापीठका प्राध्यापक डा. भरतप्रसाद भट्टराईले बताए । उक्त जग्गा पिण्डेश्वर मन्दिरको मुख्य प्रवेशद्वारदेखि पूर्वमा पर्छ । सोही जग्गामा प्रत्येक वर्ष बोलबम मेला लाग्ने गरेको छ भने पिण्डेश्वर बाबाधाम समितिले तीन तले भवनसमेत निर्माण गरेको छ ।
विद्यापीठका प्रशासन प्रमुख सुरज लामाले उक्त जग्गाबाट प्राप्त कुनै पनि आयस्रोत विद्यापीठले लिन नसकेको बताए । उनले भने, ‘पछिल्लो समयमा उक्त क्षेत्रमा प्रतिधुर पाँचलाख रुपैयाँसम्म पर्ने भएकाले २८ करोडदेखि ३० करोड रुपैयाँको भौतिक सम्पत्ति अतिक्रमणको चपेटामा पर्न सक्ने देखिएको छ ।’
पिण्डेश्वर मन्दिरका पोखरेल सहोदर पुजारी दाजुभाइमध्ये सहायक पुजारी गोकुल र नारायणले उक्त जग्गाको स्वामित्व सर्वोच्च अदालतको फैसलाअनुसार पिण्डेश्वर विद्यापीठको स्वामित्वमा गए पनि गुठी संस्थानले जान्ने बताए । उनीहरूले विद्यापीठले आफ्नो स्वामित्वमा पारेकाले उक्त जग्गा अतिक्रमण हुनबाट बचेको भए पनि आफूहरू पुजारीमात्र भएकाले जग्गा विवाद बारे गुठीसंस्थानले नै सही जवाफ दिने बताए ।
उनीहरूले भने, ‘श्रेस्तामा मन्दिरकै नाममा अन्यत्र ६ हजार बिघाबढी जग्गा भए पनि के कति अतिक्रमण भए कुनै जानकारी छैन । मन्दिर आसपासको १८ बिघा जमिन पनि अतिक्रमण भएर अहिले एक बिघाको सीमाभित्र खुम्चिएका छौं । अतिक्रमण गरेर बसेका चारसय बढी सुकुम्बासीलाई उठाउन सकिने अवस्था पनि छैन ।’ मन्दिरको नामको जग्गा प्रायः रैकरमा बदलिएको उनीहरूले बताए । मन्दिर आसपासको जग्गा ०४० सालदेखि सुकुम्बासीले अतिक्रमण गरेका हुन् ।
नारायण पोखरेलले भने, ‘श्रेस्तामा करोडौंको भौतिक जग्गा जमिन देखिन्छ । तर त्यसको सदुपयोग मन्दिरले गर्न सकेको छैन । गुठी संस्थानले खोजीनीति गरे राम्रो हुन्थ्यो ।’