धरान । युमा साम्यो महासभा, नेपालले याक्थुङ मुन्धुम मिथक र इतिहासमा आधारित धार्मिक, सांस्कृतिक पुरातात्विक सम्पदाहरुको संरक्षण सम्वद्र्धन र विकासकालागि प्रदेश सरकारसंग बजेट माग गरेको छ । प्रदेश १ को सरकारसंग महासभावले आफ्नो गुरुयोजनासहितको परियोजनाबारे विहिबार धरानमा पत्रकार सम्मेलन गर्दै ३ अर्व ५४ करोड ४० लाख रुपैया माग गरेको जनाएको छ ।
युमासाम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेमले भने, ‘प्रकृतिक पुजक याक्थुङ लिम्बुहरु आदिम मौलिक युमा साम्योलाई मान्दै आएका छन् । हामीले मुन्धुम अनुसार भन्दैआएको इम्विरि याङधाङ्वा तमोर सभ्यतामा युमाको व्याख्या, वर्णन भएका छन् । अरुण पुर्वका क्षेत्रमा मुन्धुम अनुसार नै नामहरु राखिएका थिए । तर ती मध्ये अधिकांसको नाम परिवर्तन भए, अतिक्रमणमा परे । तिनको संरक्षण सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गर्दै ऐतिहासिक पुरातात्विक क्षेत्रको ख्याल गर्न परियोजना सहितको प्रस्तावपत्र प्रदेश सरकारलाई पठाएका छौं ।’
लिम्बुहरु युमासाम्योवादी हुने भएकाले आफुलाई सदियौंदेखि मुन्धुम अनुसार माङजिरी माङयाक्थुङ्वा खाम्बोङ्सा लुङ्बोङ्सा याक्थुङ भन्नमा गर्व गर्ने पनि उनले बताए । उनले लिम्बुको आफ्नै भाषा, लिपि, भुगोल लिम्बुवान, भेषभुषा तागावा मेख्ली, संस्कृति हाक्पारे, पालाम, यालाङ, केलाङ भएकाले ती सवैको संरक्षण गर्ने पहिलो दायित्व सरकारको रहेकाले गुरु योजना सहितको परियोजना प्रस्ताव पठाएको वनेमले बताए । परियोजना प्रस्तावको उदेश्य पुर्वमा धार्मिक, ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्नु र पर्यटन प्रवद्र्धन गर्नु रहेको वनेमले बताए ।
उनले भने, ‘आउदो ०७८ सालको जनगणनामा हामी युमासाम्यो धर्म स्थापित गर्ने छौं । विस १९८८ सालमा फाल्गुनन्दले सुधारको नाममा ल्याएको किरात धर्मले मौलिक युमा साम्योलाई विकृत बनाएकाले यहीको धरातलमा उत्पन्न भउको मौलिक युमा साम्यो स्थापित गर्ने अभियान अन्तर्गत सरकारको ध्यानाकर्षण गरिएको हो ।’
हाल उपेक्षित र संकटग्रस्त रहेका प्राचीन ऐतिहासिक पुरातात्विक स्थलहरुको सौन्दर्य जस्ताको तस्तै कायम राख्न माग गर्दै महासभाले मुन्धुममा बर्णित स्थलहरु हाल पुर्वका ताप्लेजुङ, पाचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, झापा, मोरङ र सुनसरीलगायतमा पर्ने मेन्छ्यायेम, असाङ्लुङ, लुङ्थुङ, खारिङ्ला, मुरिङ्ला, पारुङ मारुङलुङ, सावन पाङ्भे, थाप्लाङ, थोक्पुन तेम्बे, पित्थोसा वरक, सिवेवा, ओमुलुङजङ, लुङधुङ, सोधुङ लेप्मुहाङ फुक्कु, खाउनलुङजङ, साम्लो लुङ, माङयुक्ना, पेम्बेन फक्ताङलुङ, सोदो वरक, ताप्के वरक, मित्लुङ, येमासेन, मुयालुङ, मुराहङ, फाक्सालुङ, किङकिङ लुङ, नियारा यक्चेयक, थाक्सिबोमा, ताङगेलुङ, यासक, थाक्केलुङ, थाक्थाक्मा, थाक्चोके, युमायुक्ना, हाङसेङमलुङ, युमा वरक, निगुरादेन, सिरिजंगा फुक्कु, पयङलुङ, सिन्दोलुङ वसाङलुङ, सेवाङदेम्बे सेवाफुक्कुलगायत पाचसय स्थानहरु पहिचान भउको महासभाका सदस्य आइत खजुमले बताए ।
उनले भने, ‘युमा साम्यो अरु कतैको आयातित धर्म सस्कृति नभएकाले यसको संरक्षण गर्नु पर्छ भनेर अभियान चलाएका हौं । सरकारलाई प्रस्ताव पेश गर्नुको कारण पनि यो अभियानकै एउटा पाटो हो ।’