धरान/ तेह्रथुम, जलजलेकी सीता सिङ्गक करिब एक दशकदेखि काठमाडौंमा बसेर सङ्गीतमा सङ्घर्ष गरिरहेकी छन् । उनी पछिल्लो समय पूर्वेली गीतहरूको प्रवद्र्धनमा व्यस्त छिन् ।
एकल एल्बम् ‘फेदापहाङ्मा’ निकालेर श्रोतामाझ छाएकी सीताले सङ्गीतको माध्यमबाट लिम्बू संस्कृतिलाई अरुमाझ चिनाउने आफ्नो मुख्य ध्येय रहेको बताइन् । फिल्म र म्युजिक भिडियोमा देखिएपनि लामोसमयदेखि हङ्कङमा कार्यरत बरध्वोज ओख्राबोसँग ‘शुभचारकलम’ गरिसकेकी सीताले अचेल पूर्वेली लिम्बू संस्कृतिलाई कसरी व्यापकता दिने भनेर अर्को ड्रिम प्रोजेक्ट बनाउँदै छिन् ।
लिम्बू भाषाका आधुनिक गीतसँगै पालामको लयमा अग्रजहरूद्वारा रचिएका शब्दलाई सङ्गीत भरेपछि उनको स्वरमा तयार आधा दर्जन गीतको एक महिना लगाएर एल्बम्को छायाङ्कन सकिएपछि तीनवर्ष अघिदेखिको ड्रिम प्रोजेक्टबाट तत्काललाई फुर्सद पाएको बताइन् । उनले भनिन्, ‘लिम्बू भाषा, कला र मिथकका आधारमा रचिएका गीतलाई फेदापहाङ्मा एल्बम्मा समेटिएका छन् । तिनै गीतहरूको छायाङ्कन धरान, धनकुटा र तेह्रथुममा सम्पन्न भएपछि आनन्द महसुस गरिरहेकी छु ।’ उनले हालसम्म लिम्बू भाषामा चारदर्जन, नेपाली भाषामा तीन दर्जन र केही तामाङ भाषा गरी सय गीत गाइसकेकी छिन् ।
सिङ्गकले आफ्नो पछिल्लो एल्बम्लाई स्तरीय बनाउन मुन्धुमविद्समेत रहेका प्राज्ञ वैरागी काइँला, किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङ्बुङ, चुम्लुङ अध्यक्ष उत्तमसिं थाङ्देन, प्राज्ञसमेत रहेका लिम्बू संस्कृतिविद् अमर तुम्याहाङलगायतसँग परामर्शसमेत गरेकी थिइन् । फेदापहाङ्माको सम्पूर्ण म्युजिक भिडियो एल्बम् तयार गर्न करिब ७ लाख खर्च भएको उनले बताइन् । विशुद्ध लिम्बू संस्कार, संस्कृति र जीवनशैलीलाई रचनात्मक र रोचक ढङ्गले प्रस्तुत गरिएको म्युजिक भिडियोमा मोडलहरू रामसिं तुम्बाहाङ्फे, बरध्वोज ओख्राबो र सिर्जना निङ्लेकु, शुष्मा यक्सो, श्याम सिङ्गक, सागर यङ्हिम्बाङ, कविता माखिम, पद्मा सिङ्गक र गायिका स्वयम्ले अभिनय गरेका छन् ।

रुबुशा क्रिएसन वक्र्सले उत्पादन गरेको लिम्बू लोक तथा आधुनिक गीती भिडियो सङ्ग्रह ‘फेदापहाङ्मा’ मा गायिका सिङ्गकलाई पालाममा गायक राजु आङ्देम्बे र दिवस पयाङ्गुले साथ दिएका छन् । उक्त एल्बम्मा ‘याक्थुङ लाजे, सेप्माङ्ओ केदा, तीनजुरे थो थो, पाङ्जुम पाङ्यक, मिक्केन थक्तेल्ले लगायतका सुमधुर ६ गीतहरू सङ्ग्रहित छन् ।
अमर तुम्याहाङ, लीला सिङ्गक, बालकृष्ण माबुहाङ, प्रेम निङ्लेकु, येहाङ लावती र फुङ्सा पन्धाकका रचनामा इमाहाङ सेत्लिङ, बालकृष्ण माबुहाङ, खगेन्द्र पन्धाक र राजु आङ्देम्बेले सङ्गीत भरेका छन् । म्युजिक भिडियोको निर्देशन रवि शेर्मा र विष्णुमाया सिङ्गकले निर्देशन गरेका छन् ।
उनले सङ्गीतको औपचारिक शिक्षा गुरुदेव कामत र श्रीराम आचार्यबाट लिएकी हुन् । गायिका सिङ्गकले २०६५ सालबाटै साङ्गीतिक यात्रा शुरु गरेकी हुन् । उनले भनिन्, ‘साङ्गीतिक दुनियाँमा हाम्फालिहालियो, अब छाड्न पनि सकिन्न, त्यसैले अब सङ्गीतमै आफ्नो भविष्य देखेको छु र यसका लागि दिन–रात मेहनत गरिरहेकी छु ।’
गायक भगत सुब्बा सिङ्गकको प्रेरणाबाट गायन क्षेत्रमा प्रवेश गरेकी सीता सिङ्गकले लिम्बू संस्कृतिमा आधारित जुनसुकै गीत र म्युजिक भिडियोमा शैली, लवज र सङ्केतहरू लिम्बूपन देखाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामीले नबुझेका कतिपय भाषाका गीतहरू पनि लोकप्रिय र विश्वव्यापी भएका छन् । यसर्थ सङ्गीत चर्चित हुनलाई धेरै बोलिने अङ्ग्रेजी वा हिन्दी भाषा नै हुनुपर्छ भन्ने छैन । सीमित समुदायले बोल्ने लिम्बू भाषाका गीत–सङ्गीत पनि स्तरीय बनाएमा अरुले रुचाउनेछन् ।’