नेपालको राष्ट्रिय महिला क्रिकेट टिममा कप्तानसहित मुख्य ४ जना खेलाडी झापा जिल्लाका छन् । कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, मुस्कान बेगम र रोमा थापा नेपालको राष्ट्रिय टिममा छन् । उनीहरूले नेपाली राष्ट्रिय टिमको तर्फबाट विभिन्न देशसँग प्रतिस्पर्धा गरिरहेका छन् । यो पटक राष्ट्रिय टिममा नियमित स्थान बनाउँदै आएका सवनम राई, सङ्गीता राई अटाउन सकेका छैनन् । तर, राष्ट्रिय टिममा सहभागी हुने ४ जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने झापामा क्रिकेटका प्रशिक्षकसमेत छैनन् ।

झापाबाट मनोज कट्वाल र लाक्पा लामाले राष्ट्रिय टिममा सहभागी भएर क्रिकेट खेलेका थिए । उनीहरूको टिमले थुप्रै अन्तराष्ट्रियस्तरको उपाधिसमेत जितेको थियो । उनीहरू अहिले प्रशिक्षकका रूपमा सक्रिय छन् । मनोज नेपाल प्रहरी क्लबको क्रिकेट टिमका प्रशिक्षक छन् भने लाक्पा क्रिकेट एकेडेमी बनाउन लागेका छन् । जमिनको व्यवस्थापन हुने हो भने एकेडेमी सञ्चालन गर्न सकिने अनुभव उनको छ ।

फुटबलको त हब नै हो झापा । खासगरी सन १९८० देखि १९९० को दशकयता झापाले राष्ट्रिय टोलीमा निरन्तर उपस्थिति राख्न सफल भएको छ । फुटबल खेलमा नेपालकै उद्गमस्थल झापालाई मान्न सकिन्छ । झापामा हरेक वर्ष २ वटा गोल्डकप हुँदै आएका छन् । झापा गोल्डकप र मेचीनगर गोल्डकप । गोल्डकपको नाममा प्रायः सबै स्थानीय तहले फुटबल प्रतियोगिता आयोजना गर्छन् ।

झापाबाट देशकै सबैभन्दा धेरै राष्ट्रिय टिममा सहभागी भएका खेलाडी छन् । नेपालको अन्तराष्ट्रिय फुटबलमा झापाका खेलाडी रामदर्शन गुरुङको उपस्थिति सम्भवतः पहिलो हो । उनले नै नेपालको टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेको रेकर्ड छ । गुरुङपछि दिपेन्द्र ढकालले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यो बेलादेखि झापाका खेलाडीले राष्ट्रिय टिममा निरन्तर उपस्थिति देखाइरहेका छन् । उमेर समूहमा सहभागिता जनाउने खेलाडीको यकिन रेकर्ड छैन । तर, ४० वर्षदेखि झापाका खेलाडीको निरन्तर उपस्थिति रहेको पाइएको छ ।

झापाका रामदर्शन गुरुङ, दिपेन्द्र ढकाल, भूपेन्द्र सिलवाल, पूर्व कप्तानसमेत रहेका हरि खड्कादेखि, युगलकिशोर राई, प्रवेश कट्वाल, कर्ण लिम्बू, विशाल राई ‘बी’, देवेन्द्र तामाङ, अनन्त तामाङ, योगेश गुरुङ, पुजन उपरकोटी, रेजिन सुब्बा, सञ्जोग राईलगायतले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा खेल कौशल देखाइसकेका छन् । विशाल राई, अनन्त तामाङ, देवेन्द्र तामाङ त अहिले पनि राष्ट्रिय टिममा छन् । झापाका खेलाडीले अन्य क्लबमा आवद्ध हुँदै फुटबल खेलेको इतिहास लामो छ । तर, झापाका मात्र खेलाडीको सहभागितामा चार वर्षअघि भएको एन्फा कपको उपाधि हात पारेपछि जिल्ला फुटबलको चर्चा चुलिएको हो ।

त्यसपछि झापाले देशमा भएका अन्य धेरै प्रतियोगिताका उपाधि हात पारिसकेको छ । मोफसलको फुटबललाई कमजोर आँकलन गर्ने विगतको इतिहास झापाको उपस्थितिपछि चुनौतीका रूपमा आएको हो । फुटबलमा उल्लेख्य दर्शक बटुल्न सफल जिल्ला हो झापा । यहाँ हुने प्रतियोगितामा नेपालमै सबैभन्दा बढी दर्शक उपस्थित भएको रेकर्ड छ । भर्खरै बिर्तामोडमा भएको झापा गोल्डकपको चौथो संस्करणको फाइनलमा ८ हजारबढी टिकट बिक्री भएबाट झापामा फुटबलको क्रेज अन्दाज गर्न सकिन्छ । चौथो संस्करणसम्म आइपुग्दा झापा गोल्डकपको हरेक प्रतियोगितामा ४० लाख रुपैयाँ बढीको गेटमनी सङ्ण्कलन भइरहेको छ ।

मोफसलमा फुटबललाई व्यवसायिक रूप दिने प्रयासको थालनी पनि झापाबाट भएको हो । झापाले स्थानीय तह, व्यापारिक प्रतिष्ठानसँगको सहकार्यमा खेलाडी अनुबन्ध गरेको छ । व्यवसायिकताको दृष्टिकोणले अनुबन्ध गर्नु चुनौतीपूर्ण हुने भए पनि झापाले त्यो चुनौती सामना गरेको हो । हालसम्म झापा–११ क्लबले ९ जना खेलाडीलाई अनुबन्धन गरिसकेको छ ।

राष्ट्रिय फुटबलमा यति धेरै योगदान गर्ने फुटबलको उर्वरभूमि झापामा अहिले एकजना पनि सरकारी प्रशिक्षक छैनन् भन्दा धेरैले पत्याउँदैनन् । तर, यो वास्तविकता हो । ५ वर्ष अघिसम्म झापामा भगिरथ आले ‘मामा’ फुटबलका एकमात्र प्रशिक्षक थिए । उनको उमेर हदका कारण अनिवार्य अवकाश भएपछि हाल झापा फुटबलमा समेत प्रशिक्षकविहीन हुनुपरेको छ । निजी क्षेत्रको योगदान नहुने हो भने झापाको फुटबल शून्यको अवस्थामा पुग्ने देखिन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले २०५२ र २०६१ सालमा प्रशिक्षकहरू नियुक्त गरेको थियो । हाल तिनै प्रशिक्षकले विभिन्न खेलको प्रशिक्षण दिइरहेका छन् । उनीहरूमध्ये पछिल्लो पटक तीनजनाले अवकाश लिइसकेका छन् । फुटबलका आले ‘मामा’, एथलेटिक्सका लोकप्रसाद ओली र कबड्डीका रतिया राजवंशीले उमेर हदका कारण अवकाश लिएका छन् । अरु खेलका प्रशिक्षकहरू पनि अवकाशको लाइनमा छन् । अबको ७ वर्षमा झापाका सम्पूर्ण प्रशिक्षकहरूले अनिवार्य अवकाश लिनुपर्ने अवस्था आउँछ । अहिले २०५२ र २०६१ सालमा नियुक्त प्रशिक्षकहरू छन् । नयाँ प्रशिक्षकहरू नियुक्त नभएका कारण धेरै खेलहरू प्रशिक्षकविहीन भएका छन् । जिल्लामा अहिले ३१ जना प्रशिक्षक छन् । ती मध्ये पनि धेरै चै सितोरियो कराँते र तेक्वान्दोका छन् । कतिपय खेलले हालसम्म प्रशिक्षकको अनुहारसमेत देख्न नपाएको उनले बताए ।

नियमित प्रशिक्षणको अभावमा नेपाली खेलक्षेत्र कमजोर बन्ने गरेको छ । खेल सामग्रीको अभाव त झन हरेक खेलले भोग्नुपरेको छ । प्रतियोगिता हुने समयमा मात्र प्रशिक्षण हुने हुनाले पदक हासिल हुन नसक्ने हुन्छ । नियमित प्रशिक्षण दिने हो भने नेपाली खेलाडीले पनि ओलम्पिक जस्ता ठूला प्रतियोगिताको उपाधि हासिल गर्न सक्छन् । सरोकारवाला निकायको बेवास्ताका कारण खेलक्षेत्र कमजोर हुने गरेको हो । स्थानीय तह अधिकार सम्पन्न भइसकेपछि पनि खेलक्षेत्र उपेक्षाको सिकार हुनु दुखद हो ।

नेपाल तथा विदेशका विभिन्न स्थानमा हुने प्रतियोगितामा खेलाडी सहभागी गराउन सधैजसो आर्थिक समस्या हुने गरेको पाइएको छ । बजेटकै अभावमा अन्य देशबाट खेलाडीलाई यातायात तथा आवासका लागि सधै आर्थिक समस्या हुने गरेको छ । कुनै स्थानमा प्रतियोगिता हुनुपर्ने अवस्थामा शुभेच्छुक, शुभचिन्तक तथा साथीभाइसँग चन्दाको भर पर्नुपर्ने अवस्था छ । विशेष गरी स्थानीय दाताका कारण खेलक्षेत्र टिकिरहेको छ भन्दा उपयुक्त हुन्छ ।

देशभरमा सम्पूर्ण खेलकुदमा १ हजार २ सय ७३ जना प्रशिक्षक आवश्यक परेको छ । प्रतियोगिता हुने समयमा करारमा प्रशिक्षक नियुक्त गरेर खेलकुद आयोजना हुँदै आएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले पनि अर्थ मन्त्रालयको सहमति बिना नयाँ नियुक्ति गर्न सक्ने अवस्था ऐनमा छैन । मन्त्रालयले अस्थायी रूपमा भए पनि नियुक्त गर्न सहमति दिएपछि प्रशिक्षक सङ्कट टर्ने छ ।
महत्वपूर्ण खेलहरू फुटबल, क्रिकेट, जुडो, ब्याडमिण्टनलगायतमा प्रशिक्षक नभएपछि मेचीनगर खेलकुद विकास समितिले निजी स्रोतमा ८ जना प्रशिक्षक नियुक्त गरेर खेलकुद महोत्सव आयोजना गर्न लागेको छ । तत्कालका लागि प्रशिक्षकको अभाव टार्न नगरपालिकाले अस्थायी रूपमा नियुक्ति दिएको हो ।

खेलकुद प्रतियोगिता आयोजना गर्न रङ्गशालाको अभाव छ । मेचीनगर गोल्डकप काँकडभिटा माविको खेलमैदानमा हुँदै आएको छ भने झापा गोल्डकप बिर्ताबजारस्थित विवादित डोमालाल रङ्गशालामा हुँदै आएको छ । एक मात्र रङ्गशाला मेची रङ्गशालामा पनि सेमिप्याराफिट छ । राज्यले त्यसलाई पनि पूर्ण बनाउन सकेको छैन । संरक्षणको अभावमा त्यो रङ्गशाला पनि जीर्ण प्राय छ । मेची रङ्गशालाबाहेक झापामा सरकारीस्तरको कुनै रङ्गशाला छैन । कतिपय खेलकुदका कार्यक्रम विद्यालयका खेलमैदान, खाली जमिन तथा सामुदायिक वनको जमिनमा हुँदै आएका छन् । लखनपुरमा रहेको खेल मैदानलाई व्यवस्थित गर्नका लागि पहल भएको भए पनि विवादका कारण त्यो पूरा हुन सकेको छैन ।

पहिले आदिवासी रङ्गशाला बनाउने भनेर अधिग्रहण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा मदन भण्डारी रङ्गशाला नामाकरण गरिएपछि विवाद उत्पन्न भएको थियो । विवादका कारण लामो समयसम्म रङ्गशाला निर्माण हुन सकेको छैन । पछिल्लो समयमा सहमति जुट्न लागेको चर्चासँगै रङ्गशाला बन्ने सङ्केत देखा परेको छ । केही समय अघिसम्म शोखका रूपमा रहेको खेलकुद जीविकोपार्जनमुखी हुन थालेपछि यसप्रति युवा आकर्षित हुन थालेका छन् । खेलक्षेत्रमा दक्ष प्राविधिकको व्यवस्था, आवश्यकता अनुसार रङ्गशाला निर्माण, सहज रूपमा खेलकुद सामग्रीको उपलब्धतामात्र हुन सके पनि यसप्रति आकर्षण बढाउन सक्ने देखिन्छ । अरु सवालमा विभक्त हुने नेपालीलाई जोड्ने एकमात्र माध्यम भनेको खेलक्षेत्र हो । त्यसकारण यसको दीगो व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।